काठमाडौं। नेपालले दुग्ध जन्य पदार्थको आयात नखोलेसम्म भारतले नेपाली सिमेन्ट निकासीमा अवरोध गरिरहने भएको छ।
सरकारले दुग्धजन्य पदार्थमा निषेधको व्यापार चलाएपछि भारतीय पक्षले नेपाली सिमेन्ट निकासीमा अवरोध गरेको हो। दुग्ध जन्य पदार्थको आयात खुलाउने वित्तिकै भारतले रोकिराखेको बिआइएस दिने सर्त भारतले तेर्स्याएको छ।
नेपालमा अमुलका उत्पादनको ठूलो बजार छ। अमुलका उत्पादन तारे होटलदेखि घरभित्रसम्म खपत हुन्छ। तर, सरकारले स्वदेशी डेरी प्रडक्टहरु बिक्री नभएको भन्दै आयात प्रतिबन्ध लगाएपछि भारतीय पक्षले सिमेन्ट निकासीका लागि आवश्यक पर्ने बिआइएस नदिएको बुझिएको छ।
एक मन्त्रीका अनुसार, सरकारले बारम्बार सिमेन्ट निकासी नरोक्न भारतीय पक्षलाई आग्रह गर्दा उनीहरुले नेपालले पहिले दुग्धजन्य पदार्थको आयात खोल्नुपर्ने सर्त राखेकाले केही समस्या उत्पन्न भएको हो।
सरकारले त्यो बेला किसानको पक्षलाई ध्यानमा राखेर डेरीजन्य प्रडक्टको आयात रोक्यो। अहिले त्यही निर्णयले सरकारलाई अप्ठ्यारो पारिरहेको ती मन्त्रीको भनाइ छ।
विस्तारै भारतीय बजारमा स्वदेशी सिमेन्टले बजार बनाउँदै गएको थियो। गत आर्थिक वर्षको निकासी तथ्यांकले नै सिमेन्टको बजार बढ्दै गएको देखिएको थियो। तर, अहिले भारतले बिआइएस दिन आनाकानी गरेपछि बन्दै गएको बजार विस्तारै गुम्ने खतरा बढेको छ।
नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय समकक्षीसँग सिमेन्ट निकासीका लागि आवश्यक पर्ने बिआईएस नरोक्न आग्रह गरेको थियो। जवाफमा भारतीयतर्फबाट दुग्धजन्य वस्तुको आयात खोल्न आग्रह भएको थियो। सरकारले गत फागुन १६ गते कृषि विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर आयात रोकेको थियो।
दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध तथा दुग्ध पदार्थ आयात स्थगन गर्ने निर्णय थियो। मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको थियो। त्यसयता दुग्धजन्य पदार्थको आयात पूर्ण रुपमा रोकिएको छ।
सरकारले मन्त्रीस्तरीय निर्णयबाट रोकेको आयातलाई नखुलाएसम्म भारतले सिमेन्ट जान नदिने प्रष्ट संकेत गरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सिमेन्ट र क्लिंकरको निर्यात बढेको थियो।
मूल्यका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३९४.३९ प्रतिशत र परिमाणका आधारमा १८२.७८ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात बढेको तथ्यांकबाट देखिएको छ।
गत आर्थिक वर्ष २०८०÷८१ मा नेपालले ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो। जबकि आर्थिक वर्ष २०७९÷८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्ष ३५ करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोड ३ लाख रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्ष १ अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको छ ।
विभागका अनुसार १ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७६ टन तयारी सिमेन्ट निर्यात पनि भएको छ । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै हो।
निकासीकर्ताका अनुसार सरकारले निषेधको व्यापार गर्नु उचित नहुने र दुग्धजन्य पदार्थको आयात खुलिदिएर भए पनि भारतमा सिमेन्ट निकासीको वातावरण बनाउनुपर्छ।
‘नेपाली सिमेन्टका लागि भारतीय बजार बरदान सावित हुन सक्छ,’ सिमेन्ट निकासी गर्दै आएका एक उद्योगीले भने, ‘अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको सिमेन्ट निकासीको तथ्यांकले प्रमाणित गर्छ।’