काठमाडौं। नेपालमा अकबरे खुर्सानीलाई विशेषरुपमा लिइन्छ। अकबरे खुर्सानी खेती थोरै पुँजी, थोरै जनशक्ति र सामान्य ज्ञान र तालिमको आधारमा गर्न सकिन्छ। यसबाट स्वरोजगार भई चाँडै प्रतिफल प्राप्त गर्न सकिने सम्भावना पनि बढी हुन्छ।
पूर्वी नेपालमा ख्याति कमाएको अकबरे खुर्सानी बीउ राख्ने, वेर्ना सार्ने बाली लिने समय मिलाएर तराईदेखि उच्च पहाडसम्म व्यवसायिक खेती गरी राम्रो आम्दानी गर्न सकिन्छ।
अझ, नेपालमै कृषि पेसा गरेर बस्न चाहने व्यक्तिका लागि अकबरे खुर्सानी खेति निकै उत्तम विकल्प हो। पूर्वी नेपालमा अकबरे खुर्सानीलाई राँगे खुर्सानी भनिन्छ भने पश्चिम नेपालमा डल्ले, ज्यानमारा खुर्सानी भनिन्छ। धेरै किसानकाले धेरथोर गरेपनि व्यवसायीकरुपमा खेती गर्नेको संख्या भने एकदमै कम छ। अकबरे खुर्सानीलाई मसला र औद्योगिक कच्चा पदार्थको रूपमा पनि प्रयोग गरिने भएकाले यो खेतीको बजार पनि राम्रो छ।
यस खुर्सानीमा पाइने एक प्रकारको क्यापसिसिन भन्ने रसायनको कारण पिरोपन हुन्छ। अकबरे खुर्सानीमा यो रसायन तुलनात्मकरूपमा बढी हुने हुनाले पीरो बढी हुन्छ र औषधीय गुणयुक्त पनि मानिन्छ। अकबरे खुर्सानीमा भिटामिन सि र ए प्रशस्त मात्रामा पाइन्छ। रक्तचाप, अल्सर, मोटोपन, रगतमा चिनीको मात्रा घटाउन अकबरे खुर्सानी सहयोगी मानिन्छ।
थकाई मेटाउन र दुःखाइ कम गर्न पनि अकबरे खुर्सानी सहयोगी मानिन्छ। स्वदेशमा मात्र नभएर विदेशमा पनि अकबरे खुर्सानीको माग बढ्दो छ। २०७२ को एक आँकडाअनुसार पूर्वी नेपालको धरान कृषि बजारबाट मात्र साढे पाँच करोडको अकबरे खुर्सानी भारत निर्यात भएको थियो। अकबरे खुर्सानीको खेती गर्मी, न्यानो तथा आद्र हावापानीमा सफल हुन्छ।
तुषारो नपर्ने तथा १०–३५ डिग्रिसेल्सियस तापक्रमसम्म अकबरे खुर्सानी खेती गर्न सकिन्छ। दिनको तापक्रम २०–२५ डिग्रिसेल्सियसर रातको तापक्रम १५–२० डिग्रिसेल्सियसमा अकबरे खेती उचित मानिन्छ। पानी नजम्ने, चिम्टाइलो दुमट माटो यसको खेतीको लागि उत्तम हुन्छ। मध्य र उच्च पहाडमा यो बालीलाई बहुवर्षिय रूपमा पनि खेती गर्न सकिन्छ। अकबरे खुर्सानीको बोट २ मीटरसम्म अग्लो हुने हुनाले यसको खेती गर्दा सो कुरामा ध्यान दिनुपर्छ।
राम्रो उत्पादनको लागि गुणस्तरिय बीउ पहिलो आवश्यकता हो। नर्सरी व्याडको लागि घामलाग्ने, हानीकारक रोग कीरारहित स्थान आवश्यक हुन्छ। जमिनको राम्रो तयारी गरी एक भाग पाकेको गोवरमल, एकभाग बालुवा, सकेसम्म एकभाग जंगलको माटो मिसाएर फुर्फुराउँदो माटो बनाइ नर्सरी तयार गर्नु पर्दछ। एक रोपनी जमिनको लागि १० वर्गमिटर व्याडमा १०–१५ ग्राम वीउ आवश्यक हुन्छ।
तयारी जमिनमा १० सेन्टीमिटरको फरकमा २ सेन्टीमिटर गहिरो कुलेसो बनाइ बीउ खसाली मलिलो माटोले पुरी सफा पराल वा खरले छापो हाली दिनु पर्दछ। बीउ रोपेको ४–६ हप्ता पछि मात्र विरूवा उम्रन थाल्दछ। बिरूवा उम्रन लागेपछि छापो हटाइ दिनुपर्छ। नर्सरीमा माटोको चिस्यान हेरी पानी दिदै गर्नु पर्दछ, झारपात हटाउने र रोग कीरा लागे तत्काल नियन्त्रणका उपाय अपनाउनु पर्दछ। डेढदेखि दुई महिनामा विरुवा सार्न तयार हुन्छ।
तयारी जमिनमा प्रति रोपनी १५००–२००० किलो पाकेको गोवरमल, ८ किलो युरिया, १६ किलो डिएपि, १० किलो पोटास, १० किलो कृषि चुन तथा २ किलो शुक्ष्म खाद्य तत्व (मल्टिप्लेक्स) आवश्यक पर्दछ।
सबै गोठेमल र आधा आधा डिएपि, पोटास मल र कृषि चुनलाई जमिन तयारीमा राख्नु पर्दछ। तयारी जमिनमा लाइनदेखि लाइनको दुरी १०० सेन्टीमिटर र बोटदेखि बोटको दुरी ५० से.मि. कायम गरी २५–३० सेन्टीमिटरको चौढाई तथा त्यतिकै गहिराइमा खाडल बनाइ उल्लेखित मलखाद राखी ६, ७ पात भएको स्वस्थ बिरूवा सार्नु पर्दछ।
एक रोपनि (डेढ कठ्ठा) जमिनमा अकबरे खुर्सानी रोप्दा लाग्ने अनुमानित लगानी खर्च तथा ६ महिनाभित्र हुने आम्दानी विवरण
सिफारीस अनुसारको ८ किलो युरिया र बाँकी अरू मललाई साथै मिसाइ बिरूवा रोपेको १५, ३०, ४५ र ६० दिनमा दिनु पर्दछ। थपमल प्रयोग गर्दा हरेक पटक अलग अलग मिसाउनु पर्दछ। माटोको चिस्यान हेरेर पानी दिने र निकास गर्ने व्यवस्था मिलाउनु पर्दछ। झारपात हटाउने, माटोको कडापन हुन नदिन गोडमेल गर्ने, उकेरा दिने तथा आवश्यकता अनुसार थाँक्रा दिने रोग कीरा लागे प्राविधिकको सरसल्लाहमा विषादी छर्ने काम गर्नु पर्दछ।
फल टिपी सकेपछि हल्का काँटछाँट गर्ने, सुकेका मरेका हाँगाहरू हटाउनु पर्दछ। अकबरे फल तयार भए पछि लगातार २–४ महिनासम्म टिप्न सकिन्छ। बालीको स्याहार हेरिकन प्रति रोपनी ३००–५०० किलो उत्पादन गर्न सकिन्छ। अकबरे खुर्सानी खेतीको लागि अनुमानित आवश्यक पूँजी र व्यवसायिक योजना अनुसार एक रोपनी (डेढ कठ्ठा) जग्गामा अकवरे खुर्सानी खेती गर्दा न्यूनतम ४०० किलो अकबरे खुर्सानी उत्पादन गर्न सकिएमा मनग्य आम्दानी गर्न सकिन्छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले गरेको एक अध्ययनअनुसार स्थानीय बजारमा खुद्रा मुल्य ६०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म पुगेको पाइएतापनि गत ३ वर्षको थोक बजारको औषत मुल्य ३५०–४५० रुपैयाँसम्म प्रतिकिलो बिक्री गर्न सकिने हुँदा ६ महिनाभित्र प्रति रोपनी ९० हजार नाफा हुने हुँदा ग्राहक सदस्यहरूलाई संस्थाले प्रदान गर्ने सीप÷उद्यमशीलता विकास तालिम लिई बजार व्यवस्था राम्रो भएकोले व्यवसायिकरूपमा अकबरे खुर्सानी खेती गरी आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न सहयोग पुग्दछ।