काठमाडौं । बैंकहरुले जलविद्युत् आयोजनालाई ऋण पत्याउन छाडेका छन् । समयमै आयोजना नबनेमा ऋण र सोको ब्याज नउठ्ने सन्त्रासले बैंकहरुले जलविद्युत् आयोजनामा लगानी गर्न हिच्किच्याइरहेका छन् । दोलखा र रामेछापमा निर्माण शुरु हुन लागेको ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत् आयोजनाले यस्तै मार खेप्नु परेको छ ।
लगानीकर्ता पिपुल्स हाइड्रोपावर लिमिटेडले खिम्ती-२ बनाउन इन्जिनिरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा चाइनाको चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्लूटीडब्लू) कम्पनीसँग २ वर्षअघि ८ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सो अनुसार आयोजना बनाउन कम्पनीले स्रोत, उपकरण, जनशक्ति लगानी आफैं लगाउनुपर्छ । त्यसका लागि निर्माण अघि नै पेश्कीबापत कम्पनीलाइ आयोजनाले १० प्रतिशत रकम भुक्तानी दिनुपर्छ । उक्त पेश्की रकम भुक्तानी दिन नसक्दा आयोजना निर्माण सुरु हुन सकेको छैन् ।
सम्झौता रकमको १० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ जुटाउन आयोजना पक्ष विभिन्न बैंकमा धाइरहेका छन् । तर, बैंकहरुले ऋण नपत्याउँदा आयोजना निर्माण सुरु हुन सकेको छैन ।
कम्पनीसँग पछिल्लो सम्झौताअनुसार, २०७६ कात्तिकमा आयोजना सुरु हुनुपर्ने हो । तर, ‘फाइनासिङ क्राइसिस’ का कारण आयोजना समयमै सुरु हुन नसकेको कम्पनीका इन्जिनियर रामहरी शर्माले बताए ।
‘खिम्ती-२ मा ‘फाइनान्सिङ क्राइसिस’ को समस्याले आयोजना सुरु गर्न ढिलाइ भएको हो’ उनले भने, ‘पेश्की रकम भुक्तानीका लागि बैंकसँग ऋण लिने प्रक्रिया अघि बढाइयो । तर, बैंकहरु ऋण प्रवाहमा अनिच्छुक छन् । यसले पनि आयोजनालाई अप्ठ्यारो पारेको हो ।’
पेश्कीबापत दिने एकमुष्ठ रकम नजुटेपछि आयोजनाले किस्ताबन्दीमा भुक्तानी पठाइरहेको उनले जानकारी दिए । दुइखण्डमा दिने गरी पहिलो चरणमा ४५/५० करोड पेश्की रकम प्रबद्र्धक कम्पनीले पठाएको छ ।
एकमुष्ठ पेश्की नपाएपछि ठेकेदार कम्पनीले पनि आयोजनाको सबै क्षेत्रको काम अघि बढाएको छैन् । ‘५/५ प्रतिशतमा पहिलो चरणमा ४०/४५ रुपैयाँ पठाउनुपर्ने मध्ये हामीसँग पैसा नहुँदा पूरै पैसा पठाइएको छैन् । पहिलो ५ प्रतिशत पनि दुइचरणमा दिनुपर्ने अवस्था छ ।’
आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ बैंकले वित्तीय व्यवस्थापन गर्नुपर्छ । तर, ऋण उपलव्ध गराउन ‘प्रोसेस’ गरेपनि बैंकले चासो दिन नसकेको आयोजना पक्षको जिकिर छ ।
यता, नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीइओ) भुवन दाहालले लगानी गर्ने प्रतिवद्धता जनाएका क्षेत्रमा कुनै समस्या नरहेको बताए । खिम्ती-२ जलविद्युत्मा आफ्नो बैंकको समस्या नभएको उनको जिकिर छ ।
‘हामी जुन कुरामा प्रतिवद्ध थियौं । त्यसमा अहिले पनि प्रतिवद्ध छौं । कुनै समस्या छैन्, हामी अरु बैंक तथा ग्राहकसँगपनि सहकार्य गरिरहेका छौं’ उनले क्यापिटल नेपालसंग भने ।
ठेकेदारले क्याम्प समेत बनाएन्
चिनियाँ कम्पनीले आयोजना निर्माण सुरु गर्नु त परको कुरा हो, अहिलेसम्म ‘क्याम्प’ समेत बनाएको छैन् । ठेकेदार कम्पनी सीडब्लूटीब्लूले ४ ओटा क्याम्प बनाउनु पर्छ । तर, क्याम्प निर्माण बल्ल सुरु गर्ने तरखरमा छ ।
यता, आयोजना प्रवद्र्धनक कम्पनीले भने आफ्ना १५ ओटा क्याम्प खडा गरिसकेको छ । क्याम्प खडा हुने जग्गा व्यवस्थापन भएको छ । ठेकेदारले क्याम्प बनाउन उपकरण तथा मेसिन ल्याउने तयारी गरेको आयोजनाले जनाएको छ ।
आयोजना लम्बिने संकेत
आयोजनाले वि.सं २०७३ मा निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । चिनियाँ ठेकेदारसँग यसअघि २०७५ बैशाख मै आयोजना सुरु गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको डेढ बर्ष बित्दा पनि आयोजनाको मुख्य काम चिनियाँ कम्पनीले सुरु गरेको छैन् । पटक पटक म्याद थप गरी आयोजना लम्ब्याइएको छ ।
पछिल्लो पटक कात्तिकमा आयोजना सुरु गर्ने म्याद पनि गुजिसक्यो । तर, काम अहिले सम्म पनि अघि बढेन् । यता, आयोजना आगामी २०७७ चैत मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता छ ।
के काम भयो ?
अहिले आयोजनाको ‘प्रि कन्ट्रक्सन’ का सबैजसो काम सम्पन्न हुने चरणमा छन् । हालसम्म आयोजनाको साइटसम्म बाटो पुग्ने १०/१० किलोमिटर बाटो र ट्रान्समिस लाइन बनेको छ । ३ ओटा पुल पनि यसअघि नै बनिसके । १५ ओटा क्याम्प, खानेपानी आपूर्ति व्यवस्था, स्थानीय सडक स्तरोन्नती तथा विस्तार लगायतका कामहरु पूरा भएका छन् ।