काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ओभर द काउन्टर (ओटिसि)कारोबारलाई अनलाइन बनाउने चर्चा गरेको लामो समय भए पनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन।
नेप्सेले तीन वर्ष अगाडि नै अनलाइनबाटै ओटिसी कारोबार गर्न मिल्ने गरी सफ्टवेयर बनाउने काम सुरु गरेको थियो। तर, ओटिसी मार्केटतर्फको कारोबार निरन्तर बढ्दै जाँदा पनि नेप्सेले यसको कारोबार अनलाइन बनाउन सकेको छैन।
हाल ओटिसिमा हुने सम्पूर्ण कारोबार म्यानुअल ढंगमा हुन गरेको छ। कुनै पनि लगानीकर्ताले सेयर खरिदबिक्री गर्नु परे नेप्से कार्यालयमा नै उपस्थित हुनुपर्ने बाध्यता छ। यसले गर्दा एकातर्फ कारोबार गर्नेहरुलाई असहज भएको छ भने अर्कोतर्फ जुनरुपमा यसको कारोबार बढ्नुपर्ने हो त्यसअनुरुप बढ्न सकेको छैन। ओटिसी कारोबारलाई अनलाइन बनाएमा हाल भइरहेको कारोबार बढेर जाने सम्भावना पनि त्यतिकै छ।
तथ्यांक मात्रै हेर्ने हो भने, गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै ओटिसी बजारमा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर किनबेच भएको देखिन्छ। वार्षिक ५ अर्ब बढी कारोबार हुने ओटिसी मार्केटलाई अनलाइन बनाउने योजनामा भने नेप्सेले ढिलासुस्ती गर्दैै आएको छ। तर, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णबहादुर कार्की अब छिट्टै ओटिसीको कारोबार अनलाइन हुने बताउँछन्।
‘ओटीसी अनलाइन कारोबार पनि हाम्रो अहिलेको दोस्रो बजार जस्तै हो। यसमा करिब २०० बढी कम्पनी दर्ता भइसकेका छन्। हामीले यसको कार्यान्वयनका लागि विगतका वर्षमा प्रणाली तयार गरेर परीक्षण पनि सकिसकेको छ,’ सिईओ कार्की भन्छन्, ‘अहिले हामी कार्यान्वयनका चरणमा छौं। परीक्षणमा गइसकेकोले अब छिट्टै कार्यान्वयनमा आउँछ।’ उनले ओटीसी मार्केट भनेको दोस्रो सेयर बजारमा नगएका तथा दोस्रो बजारमा गएर डिलिस्टेड भएका कम्पनीहरुका लागि सञ्चालन हुने बजार भएकाले यसलाई छुट्टै बजार सञ्चालन हुन्छ भन्ने ढंगमा बुझ्न नहुने पनि बताए।
पछिल्लो वर्षहरुमा ओटिसीको कारोबार लगातार बढेकाले पनि नेप्सेले यसलाई अनलाइन बनाउन ढिला गर्नु नहुने देखिन्छ। नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा २४ करोड रुपैयाँको कारोबार भएको स्थितिबाट बढेर गत आर्थिक वर्षमा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार हुन पुगेको छ। कारोबार बढे पनि पूर्वाधार र कारोबार प्रणाली पुरानै हुँदा लगानीकर्ताले भने यसमा गुनासो गर्दै आएका छन्।
के हो ओटिसी मार्केट?
नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ। यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेकमा कारोबार हुन्छ। यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको थियो।
उक्त विनियामवलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुटै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबर हुने गर्छ। धितोपत्र बोर्डले ०७३ भदौदेखि यसको कारोबार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरेपछि किनबेचसमेत बढ्दै गएको छ।
धितोपत्र बोर्डले कम्पनी रजिस्ट्रारको कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरेर नेप्सेलाई पनि कारोबार सञ्चालन गर्न निर्देशन दिएपछि १८ माघ ०७२ बाट यसको विधिवत् कारोबार सुरुवात गराएको थियो। नेप्सेका अनुसार हालसम्म दुई सय ४४ कम्पनीहरू यस्तो बजारमा दर्ता भई कारोबार गरिरहेका छन्।