तपाईंले कहिले बाल्यकालदेखि वयस्क हुँदासम्म देखेको सपना छोडी नयाँ योजना बनाएर अघि बढ्नु पर्दाको क्षण भोग्नु वा कल्पना गर्नु भएको छ ? तन, मन, बचनले देखेको सपना बीचमै मोडेर नयाँ जीवन गोरेटो कोरेका व्यत्ति हुन् उपसचिव सागर मिश्र। भद्रपुर नगरपालिका चन्द्रगढी झापामा २०२९ फागुन ११ मा जन्मिएका सागर मिश्र हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत छन्। २०४५ सालमा तत्कालिन एसएलसी र आई (१२) पढेर काठमाडौं पसेका थिए। बुबा शिक्षक भएकाले उनले विद्यार्थी जिवनमा आर्थिक एवं अन्य संकटको सामना गर्नु परेन। तर, एउटा सरकारी शिक्षकले घरपरिवार चलाएर ४ वटा छोराछोरीका लागि पढाइ खर्च जुटाउन पक्कै सहज थिएन। मिश्रका १ दाइ, १ भाइ र १ बहिनी छन्।
यसरी मोडियो शिक्षक बन्ने सपना
२०५५ सालमा प्रथम श्रेणिमा एमबिए गरेपछि मिश्रले नयाँ बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसमा ३ वर्ष शिक्षण गराए। त्यसो त प्लस टू पढ्दा पनि उनी आफुभन्दा साना भाइबहिनीलाई जम्मा गरेर ट्यूसन पढाउँथ्ये। उनलाई २०५७ सम्म आफ्नो जिवन शिक्षण पेसामै समर्पण हुन्छ भन्ने लाग्थ्यो। ‘एसएलसी दिँदादेखि नै गाउँका बच्चा जम्मा गरेर ट्यूसन पढाउने गथ्र्येँ’ उनी भन्छन्, ‘मेरो रुचि शिक्षणमै थियो २÷४ वटा विषय पढाउने हिँड्ने जस्तो लग्थ्यो तर, पार्ट टाइम शिक्षण गरेर जिवन चलाउन गाह्रो हुँदै गयो।’ कर्मस क्याम्पसमा पार्ट टाइम शिक्षण गर्दा आर्थिक असहजताा कारण उनलाई जसरी हुन्छ स्थायी जागिर खानुपर्छ भन्ने लाग्यो। उनले घरमा त्यहि कुरा सुनाए। दाइ तथा काकाहरुले लोकसेवा तयारी गर्न सुझाव दिएपछि उनी त्यतै लागे।
अर्थात् परिवर्तनशिल समयले भविष्यको सोचाइ परिवर्तन गरी मिश्रलाई शिक्षणबाट अलग गराएर निजामती सेवा तिर डोहोर्यायो। त्यही बेला उनको गृह जिल्ला २०५८ मा जिल्ला विकास समिति झापाले लेखापरीक्षण अधिकारी माग गरेको थियो। मिश्रले परीक्षा दिए। उनी सफल भए अर्थात् दोस्रो लक्ष्य स्थायी जागिरको यात्रा सुरु भयो।
अधिकृत बन्न हाकिमको साथ
झापाको लेखापरीक्षण अधिकारीको जागिर स्थायी भएपनि जिल्ला भित्र मात्रै सिमित थियो। झापाका तत्कालिन स्थानीय विकास अधिकारी खगप्रसाद अधिकारीले जिल्ला भित्र मात्रै सिमित हुनु हुँदैन भनेर मिश्रलाई शाखा अधिकृतको तयारी गर्न घचघच्याइ रहे। यतिसम्म कि शाखा अधिकृतको परीक्षा दिने समयमा उनका हाकिम खगप्रसादले एक महिनाका लागि धनकुटाको गेष्टहाउसमा बस्ने व्यवस्थासमेत मिलाइ दिएका थिए।
उनले शिक्षण छोडेपनि शिक्षणले उनलाई छोडेको थिए। शाखा अधिकृतको परीक्षामा कमर्स क्याम्पस पढाउँदाको अनुभवले धेरै सहयोग पुर्यायो। पहिलो प्रयासमै २०५९ फागुन ६ मा शाखा अधिकृतमा नाम निकाले। मिश्र भन्छन्, ‘लक्ष्य फेरिएको थियो तर, शिक्षण गर्दाको अनुभवले नै म अधिकृत बन्न धेरै सहयोग पुगेको हो।’ पूर्वको झापामा जन्मिएका मिश्रको पहिलो पोस्टिङ कर्णालीको जिल्ला प्रशासन कार्यालय कालिकोट भयो।
माओवादी द्धन्द्धले बिगारेको मथिङ्गल
मिश्रको अधिकृत यात्रा सुरु हुँदा नेपालमा माओवादीको सशस्त्र द्धन्द्ध चर्किएको थियो। आन्दोलन यस्तो थियो कि जो कोही मानिसलाई प्रत्येक मिनेट बाच्नु नै सबैभन्दा ठूलो कुरा लाथ्यो। जिल्ला प्रशासन कालिकोटमा करिब डेढ वर्ष काम गर्दा उनीहरुले अधिकांश रात आदा मात्रै सुत्ने गथ्र्ये। विगत सम्झिदै मिश्र भन्छन्, ‘राती १२÷१ बजेसम्म तास खेलेर बस्थ्यौं, त्यति बेलासम्म आक्रमण भएन भने त्यो दिनलाई बाचियो भन्ने लग्थ्यो।’
उमेरले भर्खरै ३० पुगेका मिश्रलाई द्धन्द्धको प्रत्यक्ष असर पर्यो। जसले गर्दा उनलाई जागिरमा माथिल्लो पदमा नपुग्दा पछुतो थियो न त पुरस्कार नपाउँदा कुनै वेखुसी। कालिकोटमा आन्दोलनले चरम रुप लिएपछि त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले जागिर नै छोडेर हिँडे। त्यसपछि मिश्रको काँधमा कालिकोटका अधिकृत मात्रै नभइ कायम मुकायम (कामु) सिडिओको जिम्मेवारी थपियो।
डेढ वर्ष कालिकोटमा बस्दा उनी डिप्रेसनमा पुगे। घर पुग्दा उनलाई आफ्नै बुबा आमा पनि माओवादी जस्तो लाग्न थाल्यो। ‘श्रीमतीलाई त त्यस्तो सोचिनँ तर, बुबा आमा देख्दा पनि माओवादी नै आएको जस्तो लागेर अब यिनीहरुले मार्छन् भन्ने डर पैदा हुन्थ्योे’ मिश्र भन्छन्, ‘डिप्रेसनबाट बाहिर आउन औषधी खाएँ त्यसपछि घरबाट ड्यूटी गर्ने गरी झापाको भुटानी शरणार्थी शिविरमा सरुवा भयो।’ शिविरमा २ वर्ष काम गर्दा यूएनको गाडीमा सुरक्षित भएर मात्रै उनी हिँडथ्ये। जसले गर्दा कालिकोटमा भएको द्धन्द्धको त्रासबाट मुक्त हुँदै गए।
द्धन्द्धको सामना र देश बिहीन हुन नपरोस्
सागर मिश्रले देश भित्रकै आन्तरिक द्धन्द्ध र देश बिहीन हुनु एउटा नागरिकका लागि कति दुखदायी क्षण हो त्यो प्रत्यक्ष भोगेका र देखेका छन्। यी दुवै उनको जागिरे यात्राको भोगाइ हो। भुटानी शरणार्थीहरुलाई प्रत्यक्ष नियाल्ने अवसर पाएका मिश्रले आफु देश बिहिन नागरिक त बन्नु परेन तर त्यस्ता मानिसको दुःख, भोगाइ, रोदनलाई नजिकबाट चिनेका छन्। त्यसैले नेपालमा केही छैन भन्नु गलत भएको उनको बुझाइ छ।
‘नेताले केही गरेनन्, देश बनेन भन्ने धेरै सुनिन्छ त्यो गुनासो स्वभाविक पनि होला तर, भुटानी शरणार्थी शिविरमा काम गरेकाले देश बिहिन नभइ जन्मभूमिलाई आफ्नो भन्न पाउनु महत्वपूर्ण हो’ मिश्र आसावादी देखन्छन्।
अवकास हुने सोच्दा उत्कृष्ट घोषणा
उपसचिव मिश्र अहिले ५२ वर्षका भए। नियमअनुसार अब उनले करिब ६ वर्ष सरकारी सेवा गरेर अनिवार्य अवकासमा जानुपर्ने छ। जीवनको महत्वपूर्ण समय जागिरे जिवन बिताएपछि घरमा बस्नका लागि मानसिक रुपमा पूर्वतयारी आवश्यक हुन्छ। कार्यालय गइरहने बानीलाई घरमा बस्ने बानी बनाउन पनि मानसिक रुपमा केही वर्ष पहिलादेखि नै कर्मचारीहरु तयार हुन्छन्। मिश्रले पनि त्यही सोच्दै थिए। यद्यपि ६ वर्षको अवधिमा सहसचिव हुनेसम्म उनको लक्ष्य थियो। तर, पुरस्कार पाउने कुरा भने न उनले जागिर सुरु गर्दा सोचे न त अहिले सोचेका थिए।
सरकारले दिएको कामलाई आफ्नो जिम्मेवारी स्वीकार्दै आएका मिश्रलाई उत्कृष्ट कर्मचारी २०८१ का लागि आफुले कुनै दण्ड सजाय नपाएको विषयमा स्वघोषणाको फारम भर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट फोन गयो। सुरुमा जिसक्याएका होलान् भन्ने सोचेका उनलाई साच्चै उत्कृष्ट कर्मचारीका लागि फारम भर्न भनिएको रहेछ। तर, त्यो फारम भर्दैमा सिफारिस भइन्छ भन्ने निश्चित हुँदैन।
उनले १२ वर्ष गृह मन्त्रालयमा तथा केही समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरेका छन्। उनले सन् २००९ र १० मा २ वर्ष जापान गएर विपद्व्यवस्थापन सम्बन्धी तालिमसमेत लिएर आएका छन्। उक्त तालिम पछि उनी नेपालका विभिन्न जिल्लामा विपद्सम्बन्धी तालिम दिनलाई गएका थिए। २०७१ मा उनी उपसचिवमा बढुवा भए।
मृत्य नजिकैबाट बचेको जीवन
२०७२ को वैशाखमा आमादब्लम हिमालमा विपद् अधिकृतका रुपमा उनी जानुपर्ने थियो। ५ जना साथीहरु २०७२ वैशाख ११ मा हिमाल क्षेत्र गए तर, २०७१ चैतमा मिश्रको छोरा जन्मिएकाल उनी केही दिन पछि मात्रै जाने तयारीमा थिए। तर, ५ जना साथीहरुको हिमपहिरोमा परेर मृत्यु भयो। त्यसपछि फेरि उनलाई आफुले नयाँ जीवन पाएको जस्तो लाग्यो। ‘पहिला माओवदी द्धन्द्धबाट बाँचेको म फेरि हिउँ पहिरो जाने दिन केही दिन रोकिदा बाँचे, त्यसैले बाँच्नु नै ठूलो कुरा रहेछ’ मिश्र निराश सुनिन्छन्।
उपसचिव भएपछि कर्णालीको डोल्पा जिल्लामा स्थानीय विकास अधिकारीका रुपमा उनले २०७२ देखि २०७४ सम्म २ वर्ष काम गरे। अधिकृत हुँदाको डेढ वर्ष र उपसचिव भएपछि २ वर्ष गरी साढे ३ वर्ष डोल्पामा बिताएका मिश्रलाई कर्णालीको छुट्टै माया छ। उनी डोल्पा हुँदा स्थानीयतह पुनरसंरचना भयो। उनले सय जना मानिस भएको तत्कालिन भिजेर गाउँविकास समितिलाई हालको सेफोक्सुण्डो गाउँपालिकाको एउटा वटा बनाउन प्रस्ताव गरे। तर, पुनरसंरचना आयोगले १०० जना मात्रै भएको गाउँलाई कसरी एउटा वडा बनाउन सकिन्छ ? भनेर बयान लियो। त्यो गाउँ २०५६ सालमा स्थानीय शिक्षकले पत्तालगाएका थिए। उक्त गाउँबाट अर्को गाउँमा पुग्न बिहान हिँड्दा साँझमा मात्रै अर्को गाउँ पुग्न सकिन्थ्यो। मिश्रले त्यहि कुरा पुनरसंरचना आयोगलाई भने। हाल त्यो गाउँ छुट्टै वड बनेको छ।
सडक र बिजुली नेपालको आवश्यकता
पूर्वि नेपालको तराईमा जन्मिएका उपसचिव मिश्र साढे ३ वर्ष नेपालको दुर्गम मानिने कर्णालीका भूभागमा बिताए। उनलाई कर्णालीको विकास अवस्था देखेर नेपालमा विकासको अवस्था धेरै पछि रहेको महसुस हुन्छ। उनलाई विकास भनेकै सडक र बिजुलीको पहुँच हुनु जस्तो लाग्छ। ति दुई कुरा हुने हो भने बाँकी कुरा विस्तारै पहुँच हुने मिश्रको बुझाइ छ। बजारिकरणदेखि स्वास्थ्य सुविधा पनि सडक र बिजुलीकै कारण पुग्ने उनले बताए। कर्णालीमा यातायात र बिजुलीको पहुँच बढाउन सके स्थानीय उत्पादनले बजार पाएर स्थानीयको आर्थिक अवस्था थप सुधार्न सकिने मिश्र बताउँछन्।
गोरखापत्रमा आफ्नो नाम पढ्दा
भदौ २२ मा निजामती कर्मचारीहरुलाई दिने पुरस्कार र नाम सार्वजनिक हुन्छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका मिश्रको घरमा दैनिक गोरखापत्र पुग्छ। उनले सधैंजसो पत्रिका हेरे। तर, त्यो दिन भने उनको पहिलो खोजि नै निजामती सेवा दिवसमा पुरस्कारका लागि घोषणा हुने कर्मचारीको नामतर्फ भयो। उनले आफ्नो नाम उत्कृष्ट १० कर्मचारीको लिस्ट भित्र देखे। सामान्य प्रशासन मन्त्रलयले आफ्नो नाम सिफारिस गरे÷नगरेको विषयमा एकिन जानकारी नपाएका मिश्रले एकैपटक मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि पत्रिकामा छापिएर आएको नामसहितको खुसीले सीमा नाध्यो।
नेपालमा राख्न सकेनन् छोरीलाई
सागर मिश्रका १ छोरी र १ छोरा छन्। छोरा कक्षा ४ मा पढ्छन् भने १२ कक्षाको पढाइ पुरा गरेर उच्च शिक्षा अध्ययनका लागि छोरी गत साउनमा अष्ट्रेलिया गइन्। तर, मिश्रलाई छोरीले नेपालमै सरकारी जागिर गरेको हेर्ने रहर थियो। सरकारी जागिरमा पनि नेपाल प्रहरीबाट इन्सपेक्टर बनेको देख्न चाहेका थिए। उनको चाहानाभन्दा ठूलो छोरीको रहर भएपछि उनले साउनमा छोरीलाई अष्ट्रेलिया पठाएका हुन्।
‘मलाई मेरी छोरीलाई कसैले हेप्न नसकोस् भन्ने लाग्छ त्यसका लागि पुलिस अफिसर राम्रो हो’ उनी भन्छन्, ‘मैले १२ वर्ष गृह मन्त्रालयमा काम गर्दा प्रहरीको शान छुट्टै देख्थ्ये तर, आफुले चाहेर मात्रै नहुने रहेछ, छोरीले विदेशै रोजिन्।’