काठमाडौं । प्रस्तावित ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजना निर्माणका लागि लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) बीच समझदारीपत्र (एमओयू) भएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले एमओयूमा हस्ताक्षर गरेका हुन । अब तत्काल आयोजनाको संभाव्यता अध्ययन सुरु गर्ने र २ वर्षभित्र निर्माणको चरणमा पुर्याउने सहमति भएको छ ।
पावर चाइना र नेपाली साझेदार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) बीच एमओयू भइसकेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू भइसकेकाे छ ।
साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएका छन । एमओयूपछि आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु हुनेछ ।
२ वर्षभित्र डीपीआर काम र लगानी जुटाएर तमोर आयोजनाको निर्माण सुरु हुने छ । डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ ।
तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ ।तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ । नेपालीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन ।
पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने छ । सार्वजनिक – निजी साझेदारी (पीपीपी) खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।
गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जामा सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।
हाल उक्त प्रस्तावमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित समितिले मूल्याङन गरेको थियो । समितिको मूल्याँकनअनुसार नै एमओयू भएको हो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लामा पर्छ ।
याे पनि पढ्नुहाेस्
तमोर जलासय आयोजना: लगानी बोर्ड र पावर चाइनाबीच एमओयू हुँदै
७५६ मेगावाटको तमोर जलासय प्रतिस्पर्धाबाट बनाउने, पावर चाइना र फुजी कम्पनीसंग लगानीको प्रस्ताव माग्ने
तमोर जलासय आयोजना बनाउन लगानीकर्ता र लगानी बोर्डबीच मोडालिटीमा छलफल, एमओयूको तयारी