मानिसको जीवन कल्पना गरेको जस्तो सधैं सरल र सहज नहुन सक्छ। न त भविष्यको कुनै योजनाले मात्रै अघि बढेको हुन्छ। जस्तो परिस्थिति आउँछ त्यसमा रमाउँदै आफ्नो भविष्यको रुपरेखा कोर्ने व्यक्तिहरु हुन्छन्। त्यस्तै व्यत्ति भित्र पर्छन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जिवी नेपाल। पाल्पाको रिदिकोट गाउँपालिका वडा नम्बर २ मा २०२४ जेठ ४ मा बोधराज र हरिकला नेपालका कान्छो सन्तानका रुपमा जन्मिएका उनले आफ्नो जीवन यहि काम गरेर बिताउँछु भन्ने कहिले सोचेनन्। जस्तो परिस्थिती आउँछ त्यसैलाई सामना गर्दै बढिरहेका छन्।
गाउँकै सरकारी विद्यालयबाट २०४० मा माध्यमिक शिक्षा परीक्षा (एसएलसी) सेकेन्ड डिभिजनमा पास गरेका उनले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट आइकम (प्सटू) गरेका थिए। विज्ञान, मानविकी र व्यवस्थापन संकाय पढाइ हुने त्यो बेलामा उनले आफ्नै रोजाइमा व्यवस्थापन संकायबाट प्लस टू पुरा गरेका हुन्। तर, पढाइमा मध्यम अर्थात् एसएलसी सेकेन्ड डिभिजन भएकाले विज्ञान पढ्न सकिदैन भन्ने गलत बुझाइ कारण उनले व्यवस्थापन संकाय पढे।
आफ्नै घरमा आउने भिनाजु काठमाडौंमा बसेर जागिर खाएको देखेका उनलाई २०४३ मा चिरञ्जिवीले प्लस टू पढाइ पुरा गरेपछि काठमाडौं जाने रहर भयो। जागिर खाँदै छोरो पढाएर बसेका भिनाजुलाई पनि सालो आउँदा साथी हुने भएर होला उनले चिरञ्जिवीलाई काठमाडौं बोलाए। परिवारको जिम्मेवारी काँधमा लिने दाइहरु नभएका होइनन् तर, बुबा सानैमा बितेकाले घरमा बसेर मात्रै हुँदैन भन्ने सोचेरै उनी काठमाडौं आएका थिए। तर, पढ्ने कि जागिर सुरु गर्ने उनलाई थाहा थिएन। उनका भिनाजु सरकारी सेवामै थिए अर्थात् अधिकृत थिए।
तत्कालिन काठमाडौं नगरपालिका (हाल महानगर) मा जागिर गरिरहेका भिनाजुले उनलाई पनि २०४४ साल मा नगरपालिकामै बैदार पद (अस्थायी) मा जागिर गर्न लगाए। भिनाजुको सरुका भएपनि नेपालले म्याद थप गर्दै २ वर्ष बैदार भएर काम गरे। त्यतिन्जेल उनले मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा ब्याचलर पढिसकेका थिए।
काठमाडौं नगरले स्थायीमा कर्मचारी राख्न विज्ञापन खुलाएको थियो। तर, उनले नाम निकाल्न सकेनन्। ब्याचलर पढेको मान्छे बैदार पदमा अल्झिनु हुँदैन भनेर भिनाजु नारायण ज्ञवालीले खाइरहेको जागिर छोडेर लोकसेवा तयारी गर्न लगाए। उनले २०४६ मा जागिर छोडेर लोकसेवाको तयारी गरे। २०४७ साल वैशाख २१ मा पहिलो प्रयासमै खरदार पदमा चिरञ्जिवीको नाम निस्कियो। उनले जल तथा मौसम विज्ञान विभाग (तत्कालिन जलवायु विज्ञान विभाग) मा स्थायी जागिर सुरु भयो।
भिनाजु र साथीको प्रेरणले निजामती प्रवेश
चिरञ्जिवी निजामती सेवा प्रवेश गर्न भिनाजु नारायाणको प्रेरणा र भुमिका सबैभन्दा बढी महत्वपूर्ण छ। त्यसो त कर्मस क्याम्पस मिनभवनमा पढ्ने साथीको संगतले पनि आफु निजामती सेवामा आएको चिरञ्जिवीलाई लाग्छ। ‘पाल्पामै भको भए मेरो संगत अर्कै हुन्थ्यो काठमाडौंमा फरक माहोल भयो, भिनाजु त घर भित्रको खम्बा नै हुनुहुथ्यो’ उनि भन्छन्, ‘ कर्मस क्याम्पस जाँदा साथीहरु खरदार सुब्बा भेटिन्थ्ये अनि ओहो यस्तो पो जागिर ठिक रहेछ, लोकसेवा तयारी गर्नै पर्ने रहेछ भन्ने लाग्थ्यो।’
हुन त पाल्पा जिल्लालाई निजामति क्षेत्रमा बढी मानिस सहभागी हुने जिल्लाका रुपमा चिनिन्छ। तर, चिरञ्जिवीले लोकसेवा तयारी गर्दा अहिलेको जस्तो माहोल थिए। उनका आफन्तमा भिनाजु मात्रै लोकसेवामा थिए भने गाउँ तिर पनि लोकसेवा तयारी गर्नेहरु थिएनन्। २०४७ को वैशाखमा खरदार भएपछि त्यहि माघमा उनको मागि विवाह भयो। ‘त्यो समयमा अहिलेको जस्तो लभ पर्ने हुँदैन थियो तर, मागि विवाह पनि पहिलो पटक जसलाई हेरेको एक नजरमै उनी न परेर बिहे भयो, दोस्रो पटक केटी हेर्न जानु परेन’ उनी विगत सम्झिन्छन्।
विवाह गरेपछि घरको जिम्मेवारी थपियो, आर्थिककोपार्जनको दायित्व बढ्यो। पढाइमा राम्रो विद्यार्थी भएकाले आफुले पढेकै कमर्स क्याम्पसमा उनले पार्ट टाइम पढाउन थाले। उनले कमर्स क्यम्पनस मिन भवनमा मात्रै होइन कोटेश्वर बहुमुखी क्याम्पस, ब्रिलियन्ट कलेज, एम्बिसन क्याम्पसमा समेत पार्ट टाइम पढाएका थिए। खरदार भएको ७ वर्ष पछि २०५४ मा खुल्ला प्रतिस्पर्धाबाट नायब सुब्बा भएका चिरञ्जिवी २०६७ मा फाइल बढुवा (जेष्ठताको आधार) मा अधिकृत भए। चिरञ्जिवीलाई पारिवारिक दायित्व बढी हुँदा पढेर अधिकृत हुनुभन्दा बढी कलेजमा पढाउन केन्द्रित भए। जसले गर्दा नायब सुब्बापछि उनी खुल्ला प्रतिस्पर्धाम सफल हुन सकेनन्।
सहायक सिडिओ हुँदा..
अधिकृत भएलगत्तै उनलाई गृह मन्त्रालयले सल्यान जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दियो। ‘अधिकृत नयाँ भएपनि कर्मचारी पुरानो र अनुभवी लागेर होला गृह मन्त्रालयले सहायक सिडिओको जिम्मेवरीसहित सल्यान पठायो, त्यहाँ २ वर्ष काम गरेँ’ उनले भने। जनतासँग प्रत्यक्ष जोडिएर उनले काम गर्न पाए। सहाय सिडिओ हुँदाको क्षमता जागिरे जीवनको अविस्मरणिय भएको उनी सुनाउँछन्। सिडिओको अनुपस्थितिमा उनले निमित्त सिडिओ भएरसमेत सल्यान जिल्लामा काम गर्न पाए।
उनले सल्यान जिल्लामा बस्दा एसएलसी परीक्षा सुधार्ने, लोकसेवाको कक्षा सञ्चालनको सुरुवात गरेका थिए। अहिलेपनि सिंहदरबार पुग्ने धेरै सल्यानीहरुले चिरञ्जिवीलाई नसम्झि बस्न सक्दैनन्। उनले त्यहाँ लोकसेवा कक्षा सञ्चालन गरेको भनेर खुसीसहित आभार प्रकट गरिहन्छन्। जसको प्रभावले सल्यानबाट लोकसेवा तयारी गर्ने र निजामती सेवामा प्रवेश गर्नेहरु बढेको महसुश चिरञ्जिवी गर्छन्।
साथै सल्यान जिल्ला भौगोलिक रुपमा दुर्गम र रोजगारीको अवसर नहुँदा भारतमा जाने गर्छन्। दसैं मनाउन घर आउँदा सरकारी कागजात बनाउनेहरुको चाप बढि हुने भएकाले शनिबारसमेत कार्यालय खोलेर, अन्य दिनपनि बिहान बेलुका सिफ्टमा काम गरेर सेवा प्रवाह गरेका थिए। सरकार वा सरकारी कर्मचारी गर्ने सानो सानो व्यवहारले जनतामा देखिने खुसीको प्रत्यक्ष अनुभव उनले सहायक सिडिओ हुँदा गर्न पाए।
जीवनको कुनै लक्ष्य थिएन
चिरञ्जिवीलाई आफ्नो जीवन यस्तै हुुनुपर्छ वा यहि काम गर्छु भन्ने थिए। तर, पारिवारिक आर्थिक अवस्थाले जसरी हुन्छ काम गरेर पैसा कमाउनु पर्छ भन्ने मात्रै लग्थ्यो। सरकारी जागिर खाने वा निजी कम्पनीमा काम गर्ने निश्चित थिए। न त उनले अधिकृत भएलगत्तै सहयाक सिडिओ हुन्छु भन्नेसम्म सोचेका थिएनन्। समयक्रमले कता डोहोर्याउँछ त्यतै दौडिएका नेपालल अबको जीवन पनि यसरी नै चलाउने बताउँछन्।
उनी २०८१ वैशाख ३ मा बढुवाबाट उपसचिव भएका हुन्। उनी २०७५ देखि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कार्यरत छन्। अरुले सामान्य प्रशासन मन्त्रालयमा बसेर किन काम गरेको भनिरहदा पनि उनलाई जहाँ बसेपनि जनताको सेवा गर्नु त हो भन्ने लागिरन्छ। अहिले कै अवस्था रहेमा चिरञ्जिवीको उमेरहदका कारण सामान्य प्रशासन मन्त्रालयाबाटै अर्को वर्ष अनिवार्य अवकास हुनेछ। देश संघीयतामा गएको र नयाँ अभ्यास भइरेकाले संघीय मामिला मन्त्रालयबाटै स्थानीय सरकारको काममा सहजिकरण गर्न सकिने र गर्नुपर्ने धेरै काम भएको उनको बुझाइ छ।
पुरस्कार स्वरुप २ पटक ग्रेड थप
अहिले धेरै कार्यालयहरुले आफ्ना कर्मचारीलाई आन्तरिक रुपमा प्रोत्साहन गर्न पुरस्कारहरु दिइरहन्छ। तर, चिरञ्जिवी नेपालले पुरस्कारै भनेर छुट्टै सम्मान पाएका छैनन्। यद्यपि उनी राम्रो कर्मचारी रहेको पुष्टि विगतदेखि हुँदै आएको छ। किनकि उनले खरिदार हुँदा र नासु हुँदा एकएक पटक ग्रेड थपिएको थियो। अहिले त्यो प्रावधान छैन। तर, तत्कालिन समयमा लागि त्यो नै पुरस्कार मानिन्थ्यो।
राम्रो कर्मचारी भएको महसुस सधैं हुन्छ
३४ वर्ष लामो जागिरको यात्रामा उनलाई आफु राम्रो कर्मचारी भएको महसुस भइरहन्छ। यद्यपि कुन पुस्कारका लागि उपयुक्त छु वा सिफरिस हुन्छु भन्ने थाहा थिएन। ३० जनाले पाउने निजामती सेवा पुरस्कार नभइ १० जनालाई मात्रै वितरण गरिने उत्कृष्ट निजामती पुरस्कार पाउनु उनका लागि अकल्पनिय थियो। ‘अहिलेसम्म मैले जानेर÷चाहेर व्यक्तिगत स्वार्थ राखेर कम गरिनँ त्यसैले राम्रो कर्मचारी हुँ भन्ने लागिरहन्थ्यो तर, कुन पुरस्कारका लागि सिफासिर हुन्छु भन्ने थाहा थिएन, मैले अनुरोध गरेर हुनेपनि होइन’ उनी भन्छन्।
संघीय मामिला मन्त्रालयको प्रशासन सुधार महाशाखा भित्रको कर्मचारी कल्याण शाखाले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेर प्रधानमन्त्री कार्यालय पठाउँछ। उनले साउन अन्तिम तिर आफुले काम गरेको अनुभव र कुनैपनि कारबाहि नभोगेको पत्र लेखेर अर्थात् स्वघोषणा गररे पत्र बुझाए। तर, उनो नाम सिफरिस भयो कि भएन भन्ने थाहा थिए। सामान्यतया त्यस्ता सूचना कार्यालयहरुले गोप्य नै राख्छन्। तर, उनलाई आफुले उत्कृष्ट कर्मचारीका लागि फारम भरेपछि सरकारले अयोग्य भन्नु पर्ने काम नगरेकाले पुरस्कार पाइन्छ कि भन्ने आस थियो तर, निश्चित थिएन।
परीक्षापछि नजिता पर्खिए जस्तै भदौ २२
सामान्य दिनमा बिहानै हतारिएर पत्रिका पढ्ने बानी उनको थिएन। तर, प्रत्येक वर्ष आउनेभन्दा २०८१ को भदौ २२ उनका लागि बढी विशेष थियो। हुन त एउटा निजामती कर्मचारीका लागि निजामती सेवा दिवस अर्थात् भदौ २२ हरेक वर्ष विशेष नै हुन्छ। तरपनि आफुले उत्कृष्ट कर्मचारीको पगरी पाउाछु कि भन्ने अपेक्षाले चिरञ्जिवीका लागि यो वर्षको भदौ २२ अझ विशेष थियो।
आफ्नो नाम नपरेपनि अरु क–कसले पुरस्कार पाए होलान् भन्ने कौतुहलता थियो। सोही कारण बिहान आँखा मिच्दै गोरखापत्रमा हेरे। उनका लागि परीक्षा दिएपछि नजिताको अपेक्षा गरेको जस्तै भएको थियो भदौ २२। बेडमै बसेर हेरेको गोरखापत्रले नेपाल परिवारमा छुट्टै खुसीको माहोल सिर्जना गर्यो। उनले पहिलो खुसी श्रिमतीलाई सुनाउन भ्याए। यद्यपि त्यो दिन घरमा बुहारी पनि थिइन्। तर, छोरा आफ्नै डिउटीमा घर बाहिर र छोरीको विवाह भइसकेकाले फोनमा मात्रै कुरा हुन सक्यो।
परिवारलाई सरप्राइज
चिरञ्जिवीले परिवारमा आफुले उत्कृष्ट निजामती कर्मचारीका लागि फारम भरेको कुरा करिब एक महिनासम्म गोप्य राखेका थिए। शान्त स्वभावका देखिने चिरञ्जिवीलाई जीवनको बीचबीचमा भइरहेन घटनाक्रम परिवारलाई सुनाउन हतार थिएन।
तर, एक्कै पटक भदौ २२ गतेको गोरखापत्र हेरेपछि मात्रै चिरञ्जिवीले आफु उत्कृष्ट कर्मचारी बनेको सुनाए। जुन समाचार खुसीको मात्रै थिएन नेपाल परिवारका लागि नै सरप्राज थियो। ‘कसैलाई सुनाएको थिएन, एकैपट नाम सार्वजनिक भएपछि भनेको हो। घरमा खुसीको माहोल भयो पहिला किन नभनेको भन्ने गुनासो भएन’ उनले भने।
परिवारै सरकारी सेवामा
चिरञ्जिवी आफुले मात्रै सरकारी जागिर खाएनन् परिवारलाई पनि सरकारी सेवामा डोहोर्याएका छन्। उनका एक छोरा र एक छोरी छन्। छोरा सशस्त्र प्रहरी बलको इन्स्पेक्टर, श्रीमती नासुमा हाल रक्षा मन्त्रालयमा छन् भने छोरीले इन्जिनियरिङमा मास्टर्स गर्दैछिन्।
चिरञ्जिवीलाई आफ्नो जागिरबाट सन्तुष्टि मिल्छ। सोही कारण श्रीमती र छोरालाई सरकारकै सेवा गर्न प्रेरित गरे भने छोरीले पनि पढाइ पुरा गरेपछि लोकसेवा तयारी गराउने योजना उनको छ। छोराको रहर अष्ट्रेलिया जाने थियो तर, आफ्नो देश र परिवारको साथबाट टाढा बनाउन नेपाल परिवारले खोजेनन्। साथै अभिभावकको सुझाव सुनेर छोराले पनि नेपालमै आफ्नो भविष्य सुरु गरेका छन्।
भनिन्छ कस्तो मान्छेसँग विवाह हुन्छ त्यहिअनुसार छोरी मान्छेको जीवन अघि बढ्छ। चिरञ्जिवी असल श्रिमान थिए जसले आफ्नी जीवन सहयात्रीलाई पनि विवाह पछि लोकसेवामा ल्याउन प्रेरित गर्दै सफल बनाए। २०५५ सालमा मुखिया पदबाट निजामती सेवा सुरु गरेकाी उनकी श्रिमती हाल रक्षा मन्त्रालयमा नासु पदमा कार्यरत छिन्। श्रीमान÷श्रीमति नै निजामती सेवामा हुँदा, आर्थिक रुपमा श्रीमतीले सहयोग गर्दा समाजले हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन हुने उनी बताउँछन्। साथै परिवार चलाउन धेरै सहज हुने चिरञ्जिवीको बुझाइ छ।
के भयो परिवर्तन
सरकारको नुनपानी खाएदेखि सरकार र जतनाको सेवामा आफ्नो तर्फबाट पूर्ण क्षमता प्रयोग गर्दै आएका कर्मचारी हुन् चिरञ्जिवी नेपाल। तर, सरकारले उत्कृष्ट घोषणा गरेपछि थप जिम्मेवारी बढेको बोध उनलाई भएको छ। काम गर्ने जाँगरमा पनि बढोत्तरी भइरहेको महसुस उनलाई हुन्छ। अब उनको एउटै रहर भनेको ३४ वर्षको जागिर यात्रामा कतै दाग नलागेको उनको निजामती सेवालाई अवकासको दिनसम्म यस्तै बनाएर जाने मात्रै छ।
उनी जागिरको शिलशिलामा तालिम तथा भ्रमणका लागि चीन, थाइल्याण्ड, कोष्टारिका, अमेरीका र भारतसम्म पुगेका छन्। अन्य देश घुमिरहदा नेपालको सरकारी सेवा प्रवाह कमजोर रहेको महसुस उनलाई पनि हुन्छ। तर, नेपालको आर्थिक अवस्था, पूर्वाधार, प्रविधिको विकास नहुँदा नागरिकलाई चुस्त सेवा प्रवाह गर्न नसकेकामा उनी दुखि देखिन्छन्।
साथै नियम उल्लघंन गर्नुलाई अन्य देशमा अपराध मान्ने गरेपनि नेपालमा जसरी हुन्छ नियमविपरित तरिकाले काम गर्न खोज्ने परम्परा रहेकाले त्यसमा परिवर्तन गर्न आवश्यक रहेको छ।
सर्वोत्कृष्ट कर्मचारी छनोटमा मापदण्डको अभाव
सरकारले निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै पुरस्कार नदिएको १० वर्ष भयो। तर, चिरञ्जिवी भने कर्मचारी छनोट गर्न उचित मादण्ड नहुँदा समस्या भएको बताउँछन्। ‘निजामती सेवा पुरस्कार ३० जना र उत्कृष्ट १० जनालाई दिने भएर सजिलो भयो होला तर, एक जनालाई दिने सर्वोत्कृष्ट छनोट गर्न सहज हुँदैन’ उनी भन्छन्, ‘सबैको नजर एक जनामै केन्द्रित हुन्छ त्यसका लागि मापदण्ड, कार्यविधी बनाउनु पर्छ। कर्मचारी भेटिएन भनेर मात्रै हुँदैन।’