विगत केही वर्षयता चाडपर्वको समयमा चर्चामा रहने विषयमध्ये ‘डिजिटल दक्षिणा’ पनि प्रमुख हुने गरेको छ। बैंकिङ क्षेत्र तथा विद्युतीय भुक्तानीसँग सरोकार राख्ने निकाय र व्यक्तिहरुबीच डिजिटल भुक्तानीालाई प्रोेत्साहन गर्ने भन्दै डिजिटल दक्षिणाको समेत चर्चा हुन्छ। विषेश गरी नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनमा विभिन्न कामहरु गरिरहेको छ। सर्वसाधारणलाई बैंकिङ क्षेत्र सम्बद्ध व्यक्ति र राष्ट्र बैंकका कर्मचारी उच्च पदस्थका व्यक्तिहरुले दशैं कसरी मनाउँछन्, डिजिटल दक्षिणाको प्रयोग के–कति गर्छन् र डिडिजल भुक्तानीमा आउँने चुानौती व्यवस्थापनमा के गरिरहेको छ? भन्ने चासो रहन्छ। यी नै विषयलाई समेटेर क्यापिटल नेपालका दिलु कार्कीले राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग सोधेको ५ प्रश्नको सम्पादित अंशः
यसपालिको दशै कसरी मनाउने योजना बनाउनु भएको छ ? विगतमा कसरी मनाउनु हुन्थ्यो ?
दशै मनाउन झापा जान्छौं । घरमा सवैजना भेला भएर रमाइलो गर्ने, टिका जमरा लगाउने । बुबा र अन्य मान्यजनहरुसँग टिका थाप्ने, श्रीमती, छोराछोरी, बहिनी–ज्वाई, भतिज–भतिजी, भाञ्जा–भाञ्जीहरुलाई टिका लगाइदिने, ससुरालीमा टिका थाप्न जाने आदि यसपालीको दशैंका सामान्य कार्यक्रमहरु हुन्। गाउँघरका साथीहरुसँग, आफन्तहरुसँग भेटघाट गर्ने योजना छ।
विगतमा खासगरी सानो छँदाको दशैं अहिलेको भन्दा भिन्न हुन्थ्यो । उत्साह, उमंग र रमाइलो अलिक बढी नै हुन्थ्यो। त्यसबेलाको चिन्ता भनेको पढाईको मात्र हुन्थ्यो। अरु सबै रमाइलो नै रमाइलो। पिङ खेल्ने, खानेकुरा (माछामासु) प्रशस्त खाने गरिन्थ्यो । गाउँघरमा फुटबलको प्रतियोगिता हुन्थ्यो। फुटवल खेल्न, हेर्न असाध्यै रमाइलो हुन्थ्यो। त्यतिबेला सप्तमीमा सात पटक, अष्ठमीमा आठ पटक खाने भन्ने जस्ता कुरा हुन्थे। हामीहरु दशैंमा केरा, दही र चिउरा पनि प्रशस्त खान्थ्यौं। मामाघरमा गएर टिका लगाउनुको छुट्टै मजा, दक्षिणा पनि पाइन्थ्यो अनि त के चाहियो ?
परिवारमा को–को हुनुहुन्छ ? तपाई आफैले कति जनालाई टिका लगाइ दिनु हुन्छ र तपाईले कति जनाबाट टिका थाप्नु हुन्छ ?
घरमा हामी चार दाजुभाई र चार दिदी बहिनी हौं । सवैजना नजिक नजिक नै बस्छौं। अनि सबैको सन्तान दरसन्तान गर्दा टन्नै छौं। बुबा हुनुहुन्छ, आमा रहनु भएन। निधन भएको डेढ वर्ष भयो। बुबाबाट टिका थाप्ने हो। श्रीमती, छोराछोरी, बहिनी–ज्वाई, भतिज–भतिजी, भाञ्जा–भाञ्जीहरुलाई टिका लगाइदिन्छौं। टिका त खासगरी बुबाले नै लगाईदिनु हुन्छ। ससुरालीमा पनि टिका थाप्न गइन्छ।
डिजिटल कारोबार र डिजिटल दक्षिणालाई व्यक्तिगत रुपमा कसरी प्रोत्साहन गरिरहनु भएको छ ?
व्यक्तिगत रुपमा डिजिटल दक्षिणालई हालसम्म प्रयोग गरेको छैन मैल । पोहोर टिका भएन। त्यस भन्दा अघिल्लो साल तिर डिजिटल दक्षिणाको प्रयोग गरिएन। डिजिटल दक्षिणाको प्रयोग गाउँघर तिर अलिक कम नै हुन्छ, खासगरी हाम्रो परिवारमा अब डजिटल कारोवार सम्बन्धमा समग्रमा भन्ने हो भने हामीहरु फाइानान्सियल लिट्रेसी तथा डिजिटल लिट्रेली प्रवद्र्धन गर्ने क्रममा डिजिटल कारोबारका बारेमा पनि जानकारी गराउने काम गर्न सुरु गरेका छौं।
राष्ट्र बैंकको तर्फबाट यो विषयमा के कस्ता पहल भएका छन् ?
नेपाल राष्ट्र बैंकबाट वार्षिक रुपमा कार्यक्रमहरु तय गरेर डिजिटल साक्षरता सम्बन्धमा विभिन्न स्थानमा गएर जानकारी बाँड्ने कार्य भएको छ। विभिन्न छोटा/छोटा क्लिपहरु बनाएर डिजिटल भुक्तानी को प्रचार प्रसार गरिएको छ, सुरक्षा सम्बन्धी जानकारी बाँडिएको छ। नेपाल राष्ट्र बैंकको फेसबुक पेज र ट्विटर (एक्स) बाट यस सम्बन्धी सामाग्रीहरु प्रकाशन र प्रसारण गर्ने काम भएका छन्।
डिजिटल भुक्तानीमा आउने सुरक्षाा संयन्त्रबारे चाडपर्वमा अझ बढाउन कतिको आवश्यक होला, बैंकहरुलाई यस विषयमा राष्ट्र बैंकले के कस्तो सुझाव तथा निर्देशन दिने गरेको छ ?
डिजिटल भुक्तानीलाई सुरक्षित बनाई यसको प्रभावकारीतामा वृद्धि गर्ने सन्दर्भमा चाडपर्व मात्र नभएर सँधै नै अत्यन्त जरुरी विषय हो। यस सम्बन्धमा राष्ट्र बैंकले विशेष महत्व दिएर नै आफ्ना कार्यहरु सम्पादन गर्दै आइरहेको छ। सुरक्षित डिजिटल कारोबारको निमित्त भुक्तानी प्रणाली विभाग मार्फत विभिन्न नीतिहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएका छन्, विभिन्न निर्देशनहरु जारी भएका छन् र सो सम्बन्धमा समय समयमा संस्थाहरुमा गई स्थलगत निरीक्षण समेत भइरहेका छन्।
बैंकहरुलाई राष्ट्र बैंकले दिने सुझाव समेत निरीक्षण प्रतिवेदनका आधारमा देखिएका कैफियतहरु दोहोरिन नदिने र सुचना प्रविधि पूर्वाधारलाई सुरक्षित राख्ने विषयसँग सम्बन्धित नै रहेका छन्। अन्त्यमा, यहाँ मार्फत म देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा २०८१ सालको बडादशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत लगायतका विभिन्न चाडपर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।