काठमाडौं। भारत सरकारले त्यहाँको गुणस्तर नवीकरण नगरिदिँदा अर्घाखाँची सिमेन्टको निर्यात ठप्प बनेको छ। एक वर्षका लागि लिएको भारतीय गुणस्तर चिन्ह्रको अवधि सकिएको र नवीकरण नभएकाले विगत २५ दिन देखि भारत निकासी रोकिएको अर्घाखाँची सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालले बताए।
बिआईएस नवीकरण नहुँदा सेप्टेम्बर २५ बाट सिमेन्ट निकासी रोकिएको छ। कम्पनीले एक वर्ष लगाएर बनाएको बजार पनि जोखिममा परेको उद्योगी अग्रवालको भनाइ छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिआईएस नवीकरणमा कुनै पहल नगरिदिँदा निर्यात प्रभावित भएको हो। नेपाल सरकार र भारत सरकारबीच आपसी समझदारीबाट टुंगिनुपर्ने विषय नटुङ्गिएका कारण निर्यात रोकिएको उद्योगी अग्रवालको भनाइ छ।
हरेक सिमेन्ट उद्योगले भारतीय गुणस्तर (बिआईएस) अनिवार्य रुपमा लिनुपर्छ। बिआइएसको अवधि एक वर्षको हुन्छ। अहिले अर्घाखाँचीको नवीकरण नभएकाले निर्यात रोकिएको छ भने निकट भविष्यमा अन्य उद्योगको पनि नवीकरण सकिने र निर्यात प्रभावित हुने अवस्था आउँछ।
सरकारले बेलैमा भारत सरकारसँग कुरा गरेर विआईएस नवीकरण गर्न पहल नगरे नेपालको निर्यात सम्भावना भएको सिमेन्ट रोकिने अवस्था आउने उनको भनाइ छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले यसका लागि सरकारले माथिल्लो निकायबाटै पहल गरिरहेको बताए। ‘म आफैले पनि भारतीय समकक्षीसँग कुराकानी गरिरहेको र केही समयपछि यसको निकास निस्किन्छ’ मन्त्री भण्डारीले क्यापिटल नेपालसँग भने, ‘यस विषयलाई सरकारले गम्भीरताका साथ लिएको छ।’
नेपालको प्रमुख निकासीको रुपमा परिचय बनाउँदै गएको सिमेन्टलाई भारतीय बजारमा पठाउनका लागि नेपाल सरकारले कुटनीतिक तवरमार्फत पहल गरिरहेको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सिमेन्ट र क्लिंकरको निर्यात बढेको थियो। मूल्यका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३९४.३९ प्रतिशत र परिमाणका आधारमा १८२.७८ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात बढेको तथ्यांकबाट देखिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो। जबकि आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात ३ अर्ब ७ करोड ३५ लाख रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्ष ३५ करोड ८९ लाख रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोड ३ लाख रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्ष १ अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ५ लाख ६ हजार ८४१ टन क्लिंकर निर्यात भएको छ । विभागका अनुसार १ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७६ टन तयारी सिमेन्ट निर्यात पनि भएको छ । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै हो ।
तर, यो बीचमा बिआईएस नवीकरण नभएकाले अर्घाखाँचीको निर्यात रोकिइसकेको छ भने बाँकी उद्योगको पनि बिआईएसको समय सकिने बेला भइसकेको छ। यदि सरकारले बेलैमा कुटनीतिक पहल नगरे मिहिनेत गरेर बनाएको भारतीय बजार गुम्ने खतरा छ।