काठमाडौं। दसैंमा डिजिटल दक्षिणाको चर्चा धेरै हुने गरे पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न भने असम्भव जस्तै देखिएको छ।
खासगरी दसैं टिकाको दिन मान्यजनले आफ्ना आफन्तहरुलाई टिका जमरा लगाई दक्षिणा दिने प्रचलन छ। यस्तो बेला टिका जमरा लगाइ सकेपछि दक्षिणा दिन डिजिटलमार्फत क्युआर देखाउनुस् वा खाता नम्बर दिनुस् भन्ने अवस्था रहँदैन र दक्षिणा लिनेले पनि सहजै त्यस्ता डिजिटल उपकरण प्रयोगमा ल्याउँदैनन्।
पछिल्लो समय धेरै बुजु्रकहरुले डिजिटल दक्षिणाका विषयमा लामो व्याखा गर्छन्। तर, कार्यान्वयन तिनै बुजु्रकहरुले गर्दैनन् किनभने धार्मिक र सांस्कृतिक हिसाबले दक्षिणा आफूले मनखाएको अवस्थामा सहर्ष दिने र लिनेले लिन नचाहँदा–नचाहँदै धार्मिक अनुष्ठान पूरा गर्न आफन्तले दिएको दक्षिणा (सानोतिनो रकम) लिने प्रचलन छ। डिजिटल दक्षिणा प्रयोगमा ल्याउनु पर्छ भने पनि व्यवहारिक पक्ष त्यति सजिलो छैन।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष दसैंतिहारलाई लक्षित गरेर सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा खुला गर्छ । तर यो वर्ष सुकिला नोटमात्रै सटही गर्यो। दसैं भन्ने वित्तिकै नयाँ नोट प्रमुख विषेशतामा रहने यो पटक सर्वसाधारणले नयाँ नोट साट्न पाएनन्।
राष्ट्र बैंकले डिजिटल कारोबार/डिजिटल दक्षिणाको प्रयोगलाई बढावा दिन र नोट छपाइ खर्च घटाउने भन्दै यस पटक सुकिला नोटमात्रै सटही गरेको हो। तर, अहिले पनि बैंकहरु र राष्ट्र बैंकमा नोट सटही गर्नेहरुको भिड लागेको थियो। डिजिटल दक्षिणा भनेर जति नै कुरा गरे पनि सबैलाई दसैंमा नयाँ नोट नै चाहिएको छ। नोट बिना दसैं नै हुँदैन भन्ने मानिसहरु अझै पनि धेरै भएको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बताउँछन्।
‘चाडपर्वमा डिजिटल दक्षिणा त्यक्ति धेरै युज टु होला जस्तो लाग्दैन, अझै केही समय बानी पर्न समय लाग्छ नै, तलाई मै यति दिए है भनेर क्यूआर स्क्यान गरेर मोबाइलमा ट्रान्सफर गरिदिने कुरा व्यवहारिक छैन’ बैंकका सिइओ पोखरेल भन्छन्, ‘बैंकर भए पनि मैले पनि दक्षिणा दिनु पर्दा खाममा राखेर नगद नै दिन्छु। यसो गर्दा आपसी आत्मियता पनि बढ्छ। दक्षिणा हातमा दिन÷लिनुको रमाइलो पनि बेग्लै हुन्छ।’
डिजिटल कारोबार धेरै भए पनि परम्पारा निभाउने विषयमा भने प्रचलनलाई परिवर्तन गर्न सहज नभएको र अन्य समयमा डिजिटल कारोबारमा अभ्यस्त भइसकेकाहरुले पनि दसैंको समयमा नयाँ नोट वा सुकिला नोटको माग गर्ने उनको भनाइ छ।
यता, डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र पनि दक्षिणा नगदमै लिने÷दिने बताउँछन्। डिजिटल कारोबार र डिजिटल दक्षिणालाई व्यक्तिगत रुपमा कसरी प्रोत्साहन गरिरहनु भएको छ भन्ने प्रश्नमा मिश्र भन्छन् ‘व्यक्तिगत रुपमा डिजिटल दक्षिणालाई हालसम्म प्रयोगमा ल्याएको छैन्। पोहोर टिका भएन। त्यस भन्दा अघिल्लो साल तिर डिजिटल दक्षिणाको प्रयोग गरिएन।’ डिजिटल दक्षिणाको प्रयोग गाउँघर तिर अलिक कम नै हुने उनको भनाइ छ।
यद्यपि राष्ट्र बैंकले भने डिजिटल कारोवार सम्बन्धमा समग्रमा साक्षरता कार्यक्रम गरिरहेको उनले जानकारी दिए। ‘नेपाल राष्ट्र बैंकबाट वार्षिक रुपमा कार्यक्रमहरु तय गरेर डिजिटल साक्षरता सम्बन्धमा विभिन्न स्थानमा गएर जानकारी बाँड्ने कार्य भएको छ’ उनले भने, ‘विभिन्न छोटा÷छोटा क्लिपहरु बनाएर डिजिटल भुक्तानीसम्बन्धी प्रचार प्रसार गरिएको छ, सुरक्षा सम्बन्धी जानकारी बाँडिएको छ।’
राष्ट्र बैंकको फेसबुक पेज र ट्विटर (एक्स) बाट यस सम्बन्धी सामग्रीहरु प्रकाशन र प्रसारण गर्ने काम भएको उनले जानकारी दिए।
टिका लगाएपछि पैसा मेरो वालेट वा खातामा हाल्दिनु भनेर नेपाली समाजमा प्रचलनमा आउन अझै केही वर्ष कुर्नै पर्ने एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ बताउँछन्।
‘व्यवहारिकरुपमा डिजिटल भुक्तानी वा व्यक्तिगत कारोबारका डिजिटल भुक्तानी बढे पनि चाडपर्वमा दिइने दक्षिणामा भने डिजिटलमाध्यमबाट भुक्तानी गर्न समस्या छ,’ सिइओ खालिङले भने, ‘दसैंमा परम्परागत रुपमा पहिलेदेखि नै नयाँ पैसा दक्षिणा दिने÷लिने भन्ने प्रचलन छ। त्यसैले डिजिटल भुक्तानी धेरै सहज भइसकेको अवस्थामा पनि दसैंका लागि भनेर सानादरका नोट सटही गर्ने आज पनि सर्वसाधारणहरु घण्टौं लाइनमा बस्छन्।’
अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष पैसा सहटी गर्नेहरुको भिड बैंकहरुमा कम छ। भिड कम हुनुमा राष्ट्र बैंकले नयाँ नोट नछापेर पुरानै सुकिला नोट सटही दिएको थियो। तर पनि अहिलेको समयमा अझै पनि दसैंमा खुजुरा पैसा साट्नलाई लाइन लाग्नेहरु धेरै भएको उनको भनाइ छ।
नगद कारोबारलाई निरुत्साहित गरी डिजिटल भुक्तानीलाई प्रोत्साहनको गर्ने भन्दै विगत केही वर्षदेखि नेपालमा डिजिटल दक्षिणाको चर्चा भए पनि त्यसको प्रायोग बैंकरहरुबाटै नभएको प्रष्ट हुन्छ। दक्षिणा आदानप्रदान गर्ने दसैं तथा तिहार लगायतका चाडपर्वमा डिजिटल दक्षिणाको चर्चा उत्कर्षमा पुग्ने गर्दछ। तर, कार्यान्वयनमा भने व्यवहारिक र सर्वसाधारणको वित्तीय पहुँच तथा चेतना हेर्दा कठिन देखिन्छ।