काठमाडौं। असोज १०–१२ सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध भएका चार दर्जन बढी सडक खण्डमध्ये पाँच वटा अझै पूर्ण अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
बुधबार ९ बजेसम्म अन्य आठ वटा सडक खण्ड एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीलाई उद्धृत गर्दै प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो।
अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार असोज ११ देखि बन्द रहेको काभ्रेकको रोशीस्थित बिपी राजमार्गको चारसयबेंसी खण्ड पूर्ण रुपमा अवरुद्ध छ।
सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोसीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोसीको बाह्रबिसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
रोशीस्थित बिपी राजमार्गको कालढुंगा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन भएको प्रहरीले बताएको छ।
यस्तै, गोदावरीको लेले–टीकाभैरव, तेह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँचथर फिदिमस्थित मेची राजमार्गको रमिते, भीमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ।
बाढीपहिरोमा परेर अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ अझै १८ जना बेपत्ता छन्।