काठमाडौं। बाढीपहिरो तथा डुबानपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको लहर चलेको छ। यहि असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोले ठुलो क्षति पुराएपछि विभिन्न संघसंस्था, निजी क्षेत्र, राजनीतिक दल तथा व्यक्तिगतरुपमा सहयोग गर्ने लहर चलेको हो। असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिकरुपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेसँगै विभिन्न संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ।
बाढी पहिरोपछि बैंकको स्टेटमेन्टअनुसार असोज २२ गतेसम्म प्रधानमन्त्री उद्धार कोषमा १६ करोड ४३ लाख ८० हजार ६०२ रुपैयाँ जम्मा भएको छ। उक्त कोषमा २०८१ असार मसान्तसम्म १ अर्ब ५२ करोड ८३ लाख ५१ हजार ६०७.३२ रुपैयाँ मज्दात थियो। सो कोषमा बाढी पहिरोको थप हुँदा असोज २२ गतेसम्म कुल १ अर्ब ६९ करोड २७ लाख ३२ हजार २०९.७७ रुपैयाँ पुगेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले उल्लेख गरेको छ। यद्यपि, घोषणा गरेका सबै रकम बैंक खातामा भने पुगिसकेको छैन।
कतिपय राजनीतिक दलहरुले सांसदको तलबबाट पनि केही हिस्सा बाढी पहिरो पिडितको उद्धार तथा राहतका लागि दिने घोषणा भइसकेको छ। प्रतिनिधिसभाका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलले निर्णय गरेर लिखितरुपमा रकम कोषमा पठाउन भनेमा संसदले सिधै सो रकम राहत कोषमा हाल्ने गर्दछ। ‘कुनै पनि संसदीय दलले सांसदको तलबाट यति प्रतिशत रकम राहत कोषमा पठाउनु भनेर निर्णय गरी लिखितरुपमा पठाएमा हामी सो भनेअनुसार राहत कोषमा तलबाट कटाएर पठाउँछौं,’ गिरीले भने। हाल पनि उद्धार कोषमा सहयोग घोषणा गर्ने कार्य जारी छ।
नेपाली कांग्रेसका ५० लाख
बाढीपहिरो पीडितका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कांग्रेसले सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढीपहिरो र डुबान पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गरेको हो। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने गरी ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
एमालेको ५० लाख
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरेका थिए। एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो।
प्रभु समूहको १ करोड ७५ लाख
प्रभु समूहअन्तर्गतका चार कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँको सहयोग रकम उपलब्ध गराएका छन्। प्रभु समूहअन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
मिनबहादुर गुरुङको १ करोड ११ लाख
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
आईएमई ग्रुपको ५ करोड सहयोग
आईएमई ग्रुपअन्तर्गतका ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्स र आईएमई लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसहयोग स्वरूप उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। कोषमा ग्लोबल आईएमई बैंकले ४ करोड ५० लाख, आईएमई लिमिटेडले २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सले १५ लाख र आईएमई लाइफले १५ लाख गरी कुल ५ करोड रुपैयाँ सहयोग गरेको ग्रुपले उल्लेख गरेको छ।
कृषि विकास बैँक– १ करोड ५० लाख
नागरिक लगानी कोष– ५१ लाख
एसबिआइ बैँक– २५ लाख
लाइफ इन्स्योरेन्स कर्पोरेशन– ३१ लाख
नेपाल पूर्वाधार विकास बैँक– २५ लाख,
ओरियन्टल इन्स्योरेन्स–१५ लाख
साइमेक्स ईंक प्रालि (बिवाइडी)–५१ लाख
च्यारिटी फाउन्डेसन (सिबिसिएफ)– ५१ लाख
एनएमबि बैंक– ५१ लाख
प्राइम बैंक– ३१ लाख
स्ट्यान्डर्ड चार्टड बैंक– २० लाख
दिनेश पौडेल– ५० हजार
राष्ट्रिय प्रकृति स्रोत– १ लाख ९८ हजार
सिटिजन्स बैंक– २५ लाख
युनिलिभर– २० लाख
राष्ट्रिय वाणिज्य बैंक– २ करोड
मेटलाइफ इन्स्योरेन्स– २५ लाख
नेपाल बैंक– २ करोड
निर्माण व्यवसायी विकास परिषद– १ करोड
भारतको राष्ट्रिय हाइड्रोपावर कर्पोरेशन लिमिटेड– १ करोड
अरुण तेस्रो जलविद्युत आयोजना– १ करोड
प्रभु बैंक– १ करोड
एभरेस्ट बैंक– ५० लाख
प्राइम कमर्सियल बैंक– ३१ लाख
प्रभु इन्स्योरेन्सले– २५ लाख
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले– २५ लाख
प्रभु क्यापिटल– २५ लाख
उर्जा विकास तथा लगानी कम्पनी– १० लाख
इनर्जी ट्री– ८ लाख १ हजार
नवीन कोइराला, विदुर–नुवाकोट (हाल अमेरिका)– ५ लाख ९ हजार ३९०
अख्तियार दूरपयोग अनुसन्धान आयोग– ९ लाख २६ हजार ३३३
विद्यादेवी भण्डारी– १ लाख ५० हजार