काठमाडौं। असोज १०–१२ सम्मको अविरल वर्षापछिको बाढीपहिरोले सडक पुल बगाएपछि सरकारले भारतबाट वैकल्पिक व्यवस्था गर्न २० वटा बेलीब्रिज ल्याउने भएको छ।
मंगलबार सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधार निरीक्षणमा गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो बताएका हुन्। तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
बाढीपहिरोले ३४ राजमार्गका १६ पुल बगाएको छ भने ८ पुलमा क्षति पुगेको सरकारी तथ्यांक छ।
‘सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी गरेको छ। बाढीपहिरोले बगाएका पक्की पुलको विकल्पमा हालका लागि बेलीब्रिज राख्ने हो’, उनले भने।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालसहितको टोली मन्थलीलगायत स्थान घुमेर चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल गरेको गृहमन्त्री लेखकको निजी सचिवालयले जनाएको छ।
मन्त्रीत्रयले सुनकोसी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपछि सिन्धुपाल्चोकको भोटेकोसी क्षेत्रको अवलोकन गरेका थिए।
बाढीपहिरोबाट भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयसँग तीन जना मन्त्री छलफल गरेका थिए। मन्त्रीत्रयले सिन्धुपाल्चोकको चौतारापछि ललितपुरको गोटीखेल पुगेर बाढी प्रभावित स्थानको अवलोकनसमेत गरेका छन्।