काठमाडौं। २०८१ असार २६ गते १०९१ रुपैयाँ प्रतिकित्ता रहेको सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)को सेयर मूल्य त्यसबाट लगातार बढेर भदौ २६ मा २२४० रुपैयाँ प्रतिकित्तासम्म पुग्यो।
कम्पनीको सेयर मूल्य लगातार उकालो लागेर २२४० रुपैयाँ प्रतिकित्ता पुगेपछिको पहिलो कारोबार दिन अर्थात् भदौ ३० गते कम्पनीले आफ्नो सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद सेयर दिने घोषणा गर्यो।
लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य उच्च अंकले घट्दै प्रतिकित्ता २०३५ रुपैयाँ कायम भयो। लाभांश वितरण अघि लगातार बढेको सिइडिबीको सेयर मूल्य लाभांश घोषणापछि भने लगातार घट्दै असोज ९ गते १६५९ रुपैयाँमा खुम्चिएको छ। खासगरी लाभांश घोषणा पछि कम्पनीको सेयर मूल्य २२४० रुपैयाँ प्रतिकित्ताबाट करिब ५८१ रुपैयाँले घट्दै १६५९ प्रतिकित्तामा सीमित भएको थियो।
लाभांश घोषणापछि मूल्य घट्ने यस्तै अवस्था प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि देखियो। केही समयदेखि उकालो लागेर भदौ ८ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६९२ रुपैयाँ कायम भएको थियो।
तर, भदौ ९ गते इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा ग¥यो। लाभांश घोषणा गरेकै दिन अर्थात् भदौ ९ गते कम्पनीको सेयर मूल्य घटेर ६६१ रुपैयाँ प्रतिकित्ता कायम भयो। लाभांश घोषणापछि लगातार घटेको कम्पनीको सेयर मूल्य असोज ९ गते ५६७ रुपैयाँमा सीमित भएको छ।
लाभांश घोषणा गरेको माण्डु हाइड्रोपावरको अवस्था पनि त्यस्तै छ। २०८१ जेठ ३१ गते ८६० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको माण्डु हाइड्रोपावरको सेयर मूल्य त्यसबाट लगातार बढेर असार ३१ मा १४९३ बिन्दुसम्म पुग्यो।
त्यसबाट केही संकुचन आउँदै भदौ १८ गते कम्पनीको सेयर मूल्य १०८५ रुपैयाँ प्रतिकित्ता कायम भएको थियो। तर, भदौ १९ गते कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो, जुन दिन माण्डु हाइड्रोको सेयर मूल्यमा पनि गिरावट आएर १०३५ रुपैयाँमा रोकियो। लाभांश घोषणापछि लगातार घटिरहेको कम्पनीको सेयर मूल्य असोज ९ गते ९०० रुपैयाँमा सीमित भएको छ।
यस्तै, भदौ २० गते एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँ थियो। तर, बैंकको भदौ २१ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो। लाभांश घोषणापछिको पहिलो कारोबार दिन अर्थात् भदौ २३ गते बैंकको सेयर मूल्य घटेर ६९१ रुपैयाँ खुम्चियो।लाभांश घोषणापछि लगातार घटेको बैंकको सेयर मूल्य असोज ९ गते ६०० रुपैयाँमा सीमित भएको छ।
उल्लिखित कम्पनीको मात्रै नभएर लाभांश घोषणा गरेका प्रायः सबैजसो कम्पनीको सेयर मूल्य लाभांश घोषणापछि घट्ने गरेको छ। साथै, लाभांश घोषणा गरेका कम्पनीको मात्रै नभएर लाभांश सिजनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गिरावट आउने गरेको देखिन्छ।
घट्दो बजारमा मात्रै नभएर बढ्दो बजारमा पनि लाभांश सिजन सुरु भएसँगै बजार सुस्ताउँदै संकुचनमा जाने गरेको छ। लाभांश सिजनमा बजार संकुचनमा जाने भएकाले नै खासगरी असार, साउनमा नेप्सेले बढी मात्रामा नयाँ रेकर्ड कायम गरेको देखिन्छ। अर्थात्, नेप्से सूचक र कारोबार रकममा बनेका अधिकांश रेकर्ड लाभांश सिजन सुरु हुनु अगावैको देखिन्छ।
पछिल्लो पटक पनि लाभांश सिजन सुरु हुनु अगावै साउन ३१ गते नेप्से ३००० बिन्दुसम्म पुगेको थियो भने असार ३१ गते हालसम्मकै उच्च अर्थात् २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएर नयाँ रेकर्ड बनेको थियो।
नेप्सेको हालसम्मकै उच्च रेकर्ड हेर्ने हो पनि लाभांश सिजन अगाडि नै बनेको देखिन्छ। २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९९.०२ (त्यसदिन ३२२६ सम्म) पुगेको रेकर्ड नेप्सेमा छ। २०७८ मा पनि साउन ३१ गते सो समयकै उच्च अर्थात् २१ अर्ब ५३ करोड रुपैयाँ कारोबार भएको थियो।
२०७३ साउनमा १२ पनि नेप्सेले सो समयको सबैभन्दा उच्च बिन्दु ११८१ को नयाँ रेकर्ड कायम गरेको थियो। यसरी, हेर्दा लाभांश घोषणा पछि उक्त लाभांश घोषणा गर्ने कम्पनीको सेयर मूल्य घट्नुका साथै लाभांश सिजनमा नेप्से सूचक र कारोबार पनि संकुचनमा आउने गरेको देखिन्छ।
साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसीका अनुसार कुनै कम्पनीले लाभांश दिन्छ भन्ने पहिल्यै जानकारी प्राप्त गरेका व्यक्तिले सो कम्पनीको सेयर पहिल्यै खरिद गरेर राख्ने गर्दछन्। लाभांश प्रस्ताव गर्ने दिनसम्म सो कम्पनीको मूल्य महँगो बनाएर राख्ने काम हुन्छ।
त्यसपछि, जब लाभांश घोषणा हुन्छ तब पहिला महँगो बनाएर राखेको व्यक्तिले सेयर बिक्री गर्दै जान्छ। लाभांश प्राप्त गर्न खोज्ने व्यक्तिले भने घोषणासँगै सेयर किन्न सुरु गर्दछ। यसरी सप्लाई कम हुँदै गएपछि कम्पनीको मूल्य निरन्तर घट्दै जाने हुन्छ।
‘लाभांश दिन्छ भन्ने जानकारी पहिल्यै भएको व्यक्तिले सेयर खरिदगरी मूल्य माथि पुराएर राख्छ। यसपछि लाभांश घोषणापछि बिक्री गर्न थाल्दछ, जसले गर्दा सप्लाई बढी र डिमान्ड कम भई मूल्य पनि घट्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘यद्यपि, बजार बुल ट्रेन्डमा छ भने उक्त व्यक्तिले लाभांश घोषणा गर्नासाथ सेयर बिक्री गर्दैन। तर, बजार बुलिस ट्रेन्डमा छ भने लाभांश घोषणा गर्नासाथ बिक्री गर्छ।’ जिसीले लङटर्म लगानीकर्ताले लाभांश, बोनस सेयरजस्ता कुरा हेर्ने भएकाले पनि यो किसिमको अवस्था देखिने बताए।
हालसम्म दर्जन बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सीइडीबी हाइड्रोपावर, ओरियन्टल होटल, हाथवे इन्भेस्टमेन्ट, कामना सेवा विकास बैंक, नेपाल ल्युब आयल र गुराँस लघुवित्तले प्रदान गर्ने लाभांश घोषणा भइसकेको छ।
भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, एभरेष्ट बैंक, सुपरमाई हाइड्रोपावर, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अपी पावर, साहस उर्जा, आशा लघुवित्त, युनिलिभर नेपाललगातयले लाभांश घोषणा गरिसकेका छन्।
बिमा कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने अन्य कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट लाभांश घोषणा गरेका हुन्। जसमा लाभांश घोषणा गरेका यी अधिकांश कम्पनीको सेयर मूल्य लाभांश घोषणा गर्नासाथ घटेर गएका छन्। तर, लाभांश घोषणा अगाडि भने यी कम्पनीको सेयर मूल्य लगातार बढेको देख्न सकिन्छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल बजार कुन ट्रेन्डमा छ भन्ने विषयले यसलाई निर्धारण गर्ने बताउँछन्। ‘यदि बजार बुलिस ट्रेन्डमा छ भने कम्पनीको लाभांश घोषणाले बजार बढाउन थप सहयोग पुर्याउँछ। तर, बियरिस ट्रेन्डमा छ भने लाभांश घोषणा भए पनि नभए पनि त्यसले खासै फरक पार्दैन,’ फुल्लेल भन्छन्, ‘यस्तै, लाभांश सिजनमा सूचक सुस्ताउँछ भन्ने पनि हुँदैन। त्यो पनि बजारको ट्रेन्डमै भर पर्छ।’