काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (इभी) को चर्चा धेरै इरहेको छ। इभी चर्चाले इन्धन (आइसिई इन्जिन) गाडी ओझेल मात्रै परेका छैनन्, इन्धन गाडी आयात नै नभएको हो कि भन्ने भान हुन्छ।
तर, इभीसँगै इन्धन गाडी पनि पर्याप्त मात्रामा आयात भइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ। इन्धन सवारी आयातको रफ्तार भने खुम्चिँदो छ। हुण्डाईको भेन्यू नेपालमै एसेम्बलसमेत भइरहेको छ।
इभी दबदबाबीच मध्यम क्षमताका इन्धन गाडीको आयात नियमितजस्तै भइरहेको छ। विशेषगरी १०००/१५०० सिसी क्षमताका इन्धन सवारी नेपालमा आयात भइरहेको छ। धेरै मानिसले लामो दूरीको यात्रामा इभीलाई विश्वास नगरेका कारण इन्धन गाडीको माग कायमै रहेको बिक्रेता बताउँछन्।
१०००/१५०० सिसीका इन्धन गाडी हरेक भू–भागमा सहजै जाने भएकाले लामो दूरीको यात्रा गर्ने प्रयोगकर्ताको रोजाइमा पर्ने गरेको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौं) मा ७८० डिजेल तथा पेट्रोल गाडी आयात भएका छन्। त्यसमध्ये १०००–१५०० सिसीका गाडीको संख्या ६३५ छ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ९ सय ६१ युनिट इन्धन गाडी नेपाल भित्रिएकामा १०००–१५०० सिसीका मात्र ३ हजार ३ सय ८ युनिट छन्। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ नेपालमा मध्यम रेन्जका सवारीसाधन बढी आउने गरेको बताउँछन्।
‘कुनै गाडी आयातकर्ताले इभी मात्र आयात गर्दा कतिपयले भने ग्राहकको रोजाई र मागअनुसार ईभी र इन्धन दुबै किसिमका गाडी आयात गरिरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘हुन्डाईको डिजेल पेट्रोल र ईभी दुई विकल्पको गाडी नेपाल आइरहेका छन्। तर, इन्धन गाडी बढी आएका छन्।’
हुन त, कस्तो किसिमको गाडी लिने व्यक्तिको इच्छा र आवश्यकतामा निर्भर हुन्छ। नेपालमा विद्युतीय सवारीको बजार आक्रामक रुपमा वृद्धि भए पनि ईभीको भविष्य के होला? भन्ने अन्याेल कायमै छ।
अझ लामो दूरीमा चार्जिङको समस्या देख्ने, कम मूल्यका कम रेन्ज दिने इभी किन्दा समस्या अनुभुत गर्ने, ईभी टिकाउ हुन्न भन्ने विश्वास पालेकादेखि इभीको दोस्रो बजारमा कारोबार हुँदैन, ‘अफरोड’मा लैजान सकिँदैन, ब्याट्री फेर्दा फेरि ठूलो मूल्य चुकाउनुपर्छ भन्ने अफवाहका कारण इन्धन गाडीको विक्रीलाई सहजीकरण गरिरहेको छ।
नेपालमा आइसिई इन्जिन, इभी र हाइब्रिड (इभी र आइसिई इन्जिन मिक्स) सबै विकल्पका गाडी उपलब्ध रहेकाले रोजेर सवारी किन्ने परिस्थिति भने छ।
इन्धन गाडीको आयात खुम्चिएपछि इभी र आइसिई दुवै किसिमको गाडी आयात गर्ने व्यवसायी पनि नेपालमा बढ्दै गएका छन्। नेपाली बजारमा आइसिइ इन्जिन गाडीको व्यवसाय गर्दै आएका हरेक व्यवसायीले इभी ल्याउने गरेका छन्।
व्यापारमा विद्युतीय गाडीका बिक्रेता पेट्रोल डिजेल गाडीका विक्रेताभन्दा उत्साही छन्। पछिल्लो दुई महिनाको आयात हेर्दा ८० प्रतिशत विद्युतीय गाडीको देखिन्छ। पछिल्लो समय आइसिई इन्जिनको विकल्पमा लङ रेन्ज र अफरोडको लागि पनि उपयुक्त इभी आइरहेकाले आगामी दिनमा इन्धन गाडीको आयात अझ घट्ने अपेक्षा गर्न सकिन्छ। पछिल्लो समय नेपालमा हुन्डाई, सिट्रोन, सुजुकी, टोयोटा, महिन्द्रा, निसानलगायत ब्रान्डका गाडी बढी आयात भइरहेको छ।
पछिल्लो ४ वर्षमा इन्धन गाडी आयात अवस्था