काठमाडौं। हिरो एक्सट्रिम र होन्डा एसपी दुवै १२५ सिसी सेग्मेन्टका बाइक हुन्। नेपाली बजारमा धेरै मोडलका बाइक उपलब्ध भए पनि मध्यम मूल्य र फिचरका आधारमा यी दुवै मोटरसाइकल ग्राहक रोजाइमा पर्ने गरेका छन्। पछिल्लो समय १२५ सिसीका बाइक लोकप्रिय बन्दै गएका छन्। अहिले नेपाली बजारमा १२५ सिसीको बजार राम्रो भइरहेको अवस्थामा विभिन्न कम्पनीले १२५ सिसीको बाइक भित्र्याइ रहेका छन्।
कतिपय फरक कम्पनीका फरक मोडलका बाइकको मूल्य भने एउटै भएको पाइन्छ। मूल्य एउटै भए पनि फिचर भने धेरै फरक हुन पनि सक्छ। यद्यपि कुन फिचर मन पराउने भन्ने कुरा राइडरको रोजाइमा भर पर्छ। एउटै सेग्मेन्टका बाइकमा समावेश गरिएको फिचर र डिजाइन भने फरक भएका कारण ग्राहकको रोजाइ पनि फरक हुने गरेको पाइन्छ।
१२५ सिसी सेग्मेन्टका हिरो एक्सट्रिम १२५ आर र होन्डा एसपी १२५ एउटै सेग्मेन्टका बाइक हुन्। हिरो एक्सट्रिम १२५ आर नाडा अटो शो २०२४ मा सिजी मोटर्सले ल्याएको हो। होन्डा एसपी १२५ पहिले नै स्याकार टे«डिङ प्रालिले नेपाल ल्याएको मोडल हो। कम्पनीले यसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। होन्डाको एसपी १२५ ड्रम र डिस्क गरी दुई भेरियन्टमा उपलब्ध छ।
इन्जिन क्षमता
हिरो एक्सट्रिम १२५आरमा नयाँ इन्जिन १२५ सिसी सिंगल–सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ। उक्त इन्जिनले ११.५ बीएचपीको पावर र १०.५ एनएमको टर्क जेनेरेट गर्छ। सो इन्जिन ५ स्पिड ट्रान्समिसनसँग जोडिएको छ।
होन्डा एसपी १२५ मा १२३.९४ सिसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ। उक्त इन्जिनले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ। सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ।
माइलेज
हिरो एक्सट्रिम १२५आरमा १० लिटरको फ्युल ट्यांक दिएको छ। यसले ६६ किलोसम्म प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ।
होन्डा एसपी १२५ मा ११.२ लिटरको फ्युल ट्यांक दिएको छ। यसले ६० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ।
फिचर
एक्सट्रिम १२५ आरमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ। हिरो एक्सट्रिम १२५आर डायमण्ड फ्रेममा निर्मित छ। यसमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोशक उपलब्ध छ।
फरक र आधुनिक किसिमको रेजर शार्प एलईडी प्रोजेक्टर लो–स्लङ्ग हेडल्याम्प र एलईडी टर्न इन्डिकेटरले मोटरसाइकल स्टाइलिस देखिएको छ। ब्रेकिङका लागि नयाँ एक्सट्रिम १२५ आरमा भेरियन्ट अनुसार अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक, डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस र डुअल च्यानल एबीएस अप्सन पाइन्छ।
होन्डा एसपी १२५ मा इन्जिन स्टार्ट–स्टप स्विच, एलईडी हेडल्याम्प, पासिङ स्विच र इन्टिग्रेटेड हेडल्याम्प बिम जस्ता फिचर पनि छ। एसपी–१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ। यसमा रियर सस्पेन्सनसँगै कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ।
एसपी १२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्यांक पाउन सकिन्छ। एक्सट्रिम १२५आर बाइकमा अल एलईडी लाइटिङ सेटअप र एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरजस्ता फिचर समावेश छन्।