काठमाडौं। चार्डपर्व नजिकिँदै गर्दा हामी छुट्टीमा कहाँ घुम्न जाने भनेर योजना बनाइ रहेका हुन्छौं। नेपालीहरु सबैभन्दा बढी घुम्न जानेर भ्रमणमा खर्च गर्ने समय भनेको दशै तिहारको बिदामा नै हो।
यही समयलाई लक्षित गरेर विभिन्न टुर एण्ड ट्राभल्सहरुले प्याकेज अफरहरु समेत ल्याउँछन्। पछिल्ला केही वर्ष बिदामा आन्तरिकमात्रै नभएर विदेश भ्रमणमा जानेहरुको संख्या पनि बढ्दो छ।
बिदामा घुम्नलाई होस् या व्यवसायिक तथा व्यक्तिगत प्रयोजनमा विदेश जाने नेपालीमा प्रचलन बढेसँगै भ्रमणमा खर्च पनि बढ्दो छ। तपाई हामीलाई लाग्न सक्छ विदेशीहरुमात्रै भ्रमणमा धेरै खर्च गर्छन्। तर, विदेशीहरुले भन्दा धेरै नेपालीहरुले विदेश भ्रमणमा खर्च गर्ने गरेको पाइन्छ।
नेपालबाट विदेश जाने नेपालीहरुले महिना दिनमै नेपालीहरुले साढे २२ अर्ब रुपैयाँ खर्च गरेका छन्। जबकी सोही अवधिमा विदेशबाट नेपाल आउँदा पौने ५ अर्ब रुपैयाँमात्रै खर्च भएको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक एक तथ्यांकले देखाएको छ। यो तथ्यांक चालु वर्षको साउन मसान्तसम्मको हो। गत वर्षको असार मसान्तसम्म नेपालीले विदेश जाँदा भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गर्दा विदेशबाट नेपाल आउँदा भ्रमणमा विदेशीहरुले ८२ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए।
राष्ट्र बैंकको तथ्यांअनुसार चालु वर्षको महिलो एक महिनामा नेपालीहरु विदेश जाँदा गरेको भ्रमण खर्चमध्ये व्यवसायिक प्रयोजनमा २९ करोड १० लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा २२ अर्ब २० करोड ७२ लाख रुपैयाँ खर्च गरेका हुन्।
नेपालीहरु व्यक्तिगत प्रयोजनले विलेश जाँदा स्वास्थ्य, शिक्षा र घुमघाम प्रयोजनमै जान्छन्। उक्त शिर्षकमध्ये स्वास्थ्य उपचारका लागि विदेश जाँदा भ्रमणमा १ करोड ६६ लाख, शिक्षा प्रयोजन भ्रमाणमा १४ अर्ब ९२ करोड २३ लाख र अन्य भ्रमणमा ७ अर्ब २६ करोड ८३ लाख रुपैयाँ खर्च नेपालीहरुले गरेका छन्।
यता विदेशीहरुले भने नेपाल आउँदा एक महिनामा व्यवसायिक प्रयोजनमा ७ करोड १३ लाख र व्यक्तिगत प्रयोजनमा ४ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खर्च गरेका हुन्। उक्त अवधिमा विदेशीले व्यक्तिगत प्रयोजनले नेपाल आउँन खर्च गरेकोमध्ये स्वास्थ उपचार गर्ने प्रयोजनमा ३१ लाख, शिक्षा प्रयोजन १६ करोड ७६ लाख र अन्य भ्रमणमा ४ अर्ब ५२ करोड १३ लाख रुपैयाँ भ्रमणमा खर्च गरेका हुन्।
गत वर्षको असार मसान्तसम्म नेपालीहरुले विदेश भ्रमणमा गरेको खर्चमध्ये १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ र ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ शिक्षा प्रायोजनमा विदेशीले नेपाल आउँदा भ्रमणमा खर्च गरेका थिए।