काठमाडौं। हामी हिन्दु धर्मावलम्बीको महान चार्ड दसैतिहारको समुखैमा छौं। यो समय भनेको सर्वसाधारणको हातमा सबैभन्दा बढी पैसा अर्थात् नगद हुने हो।
परम्परा वहन गर्ने क्रममा हामी दशैंको १० दिन र तिहारको ५ दिन विभिन्न देवीदेवताको पूजाआजा गरेर मनाउँछौं। पूजामा भेटी र दक्षिणास्वरुप नोटको प्रयोग गर्ने प्रचलनले नोटमा अविर लाग्ने, भिज्ने, च्यातिने हुन्छ। यसले गर्दा नोटको आयु घट्छ र समय अगावै नोट नष्ट गर्नुपर्ने हुन्छ।
नेपाल राष्ट्र बैंकले चलनचल्तीमा ल्याएका नोटको आयु न्यूनतम २ वर्षदेखि ६ वर्षसम्मको छ। नोटलाई राज्यको सम्पत्तिको रुपमा लिइएको छ। हामीले असुरक्षित तबरले नोटको प्रयोग गर्दा नोटको आयू घट्ने र राज्यको सम्पत्ति समय अगावै नष्ट गर्नुपर्ने हुन्छ। नोट छाप्दा राष्ट्र बैंकले वर्षेनी अर्बौ रुपैयाँ खर्च गरिरहेको हुन्छ।
हामीले आफ्नो हात र साथमा रहेको पैसाको सुरक्षणबारे ध्यान नदिएर बिगारेको अवस्थामा नगद जरिमानादेखि जेल सजायसम्मको भागिदार बन्न सक्छौं। यो बेला नानीबाबुसँग पनि अन्य समयभन्दा बढी पैसा हुन्छ। नानीबाबुले आफ्नो हातमा भएको पैसा केरमेट गरेमा, च्यातेमा, भिजाएमा, कच्याककुचुक पारेमा वा नोट बिर्गाने कुनै पनि कार्य गरेमा त्यसमा सजायको भागिदार पनि अभिभावक नै हुनुपर्ने कानुनी व्यवस्था छ।
अन्य समय बैंकमा गरिएको बचत पनि दशैं खर्चमा प्रयोग गरिन्छ भने, सरकारीदेखि विभिन्न निजी रोजगार प्रतिष्ठानले आफ्ना कर्मचारीलाई दशैं बोनस स्वरुप तलबको केही प्रतिशत अतिरिक्त पैसा दिन्छन्। राम्रो लगाउँने मिठो खाने भन्दै चार्डपर्वमा सामान्यभन्दा अतिरिक्त खर्च गर्ने प्रचलन हाम्रो समाजमा धेरै पहिलेदेखि चलिआएको छ। जसले गर्दा चार्डपर्वको समयमा बजारमा चलनचल्तीमा जाने नगद परिमाण खर्ब रुपैयाँ बढी पुगेको छ।
नोट बिर्गानेलाई कानुनी कारवाही
राष्ट्र बैंकको मुख्य कामहरुमध्ये नेपाली मुद्रा तथा सिक्का निष्कासन गर्ने पनि एक हो। राष्ट्र बैंकले नियमित रुपमा मुद्रा निष्काशन गरेपनि दशै लक्षित गरि नयाँ नोट छपाइ गरिरहेको हुन्छ। चाडपर्वको समयमा नोटको प्रयोग बढ्ने विषयलाई मध्य नजर गरी नेपाल राष्ट्र बैंकले सीमा तोकेर साना तथा ठुलादरका नोट सटहीको सुविधा निश्चित अवधिमा लागि सर्वसाधारणमा खुला गर्छ।
अघिल्ला वर्षहरुमा नयाँ नोट नै सटही दिइरहेको राष्ट्र बैंकले यस पटकको दशैमा भने सुकिला नोटमात्रै सटही गरिदिएको थियो। अन्य समयमा बैंक तथा वित्तीय संस्थालाई मार्फत् सर्वसाधारणको हातमा नोट पुग्छ।
चाडपर्वको समयमा होस् या अन्य समयमा बजारमा चलनचल्तीमा जाने नोटको सुरक्षणको लागि राष्ट्र बैंकले सफा नोट नीति लिएको छ। राष्ट्र बैंकले मुलुकभर सफा नोट चलनचल्तीमा ल्याउने उद्देश्यले आर्थिक वर्ष २०६७÷६८ मा मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ सुरु गरेको हो।
त्यसयता विभिन्न समयमा सफा नोट नीति संशोधन गर्दै कार्यान्यवनमा ल्याइएको छ। सफा नोट नीति सर्वसाधारण जनतामा सफा तथा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, पुराना नोट हटाउँदै जाने तथा नोटको प्रयोग घटाउन सफा नोट नीति ल्याइएको हो।
सफा नोट नीतिअनुसार बैंक तथा वित्तीय संस्था वा अन्य व्यापारिक संस्थाहरुले नोटका प्याकेटहरूमा स्टीच लगाउँन पाउँदैनन्। साथै, सर्वसाधारणले समेत नोट बिगारेको अवस्थामा ‘मुलुकी अपराध संहिता, २०७४ को दफा २६३ अनुसार कारवाहीमा पर्ने राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन्।
‘मुलुकी अपराध संहितामा बैंक नोट वा सिक्का जलाउँन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ, उक्त व्यवस्था उल्लंघन गर्नेले ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ,’ राष्ट्र बैंकका सह–प्रवक्ता डा. पोखरेलले क्यापिटल नेपालसँग भने, ‘बाबुनानीहरुको हात पर्ने नोटको सुरक्षणमा पनि अविभावकले नै ध्यान पुर्याउनु पर्ने हुन्छ, कसुर वापतको कारवाहीमा पनि अविभावकलाई पर्न सक्छन्।’
सर्वसाधारणको हातमा पुगेको नोटको नोट सुरक्षणमा अविभावले ध्यान दिएर कानुनी कारवाहीबाट बच्ने मात्रै नभएर राज्य प्रति आफ्नो जिम्मेवारी समेत वहन गर्नु पर्ने उनको भनाइ हो। सर्वसाधारणले नोट बिगारेको निगरानी प्रहरी प्रशासन र राष्ट्र बैंकले समेत गरेर कानुनी दायरामा ल्याइरहेको उनले जानकारी दिए।
नोट बिगार्दाको कारवाहीः कसैले बैंक नोटमा लेख वा कोर्न हुँदैन। यस्तोे कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यस्तै झुत्रो बैंक नोट दुरुपयोग गर्न कानुनी व्यवस्था छ। मुद्राको रूपमा ग्राह्य भएको बैंक नोट झुत्रो भई वा अक्षर, चिह्न वा आकार नचिनिने भई वा अन्य कुनै कारणले चलन चल्तीमा ल्याउन नहुने भई सडाउने वा जलाउने ठहर भएका झुत्रा नोटहरु कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले जलाउने वा सडाउने कर्तव्य भएको व्यक्तिले त्यस्तो बैंक नोट चलन चल्तीमा ल्याउन वा त्यसबाट कुनै किसिमको लाभ पाउने वदनियतले नजलाई वा नसडाई राख वा कसैलाई दिन नहुने मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख छ। तर, उक्त व्यवस्था पालना नगरी झुत्रो बैंक नोट दुरुपयोग गरेमा वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नोट कोषमा गएर समय समयमा निरिक्षण गर्छ। बैंकहरुले सफा नोट नीति अनुसार नोट छनौट गरे÷नगरेको निरिक्षण हुन्छ। सफा नोट बैंकमा राखेर जलन योग्य नोट राष्ट्र बैंकमा नपठाए सम्बन्धीत बैंक राष्ट्र बैंकको कारवाहीमा पर्छन्। नोटमा ढुसी आएको अवसथामा बैंकहरुले तुरुन्तै राष्ट्र बैंकमा पठाउँनु पर्छ। यस्तो पैसा सर्वसाधारणको हातमा पठाउँन नहुने राष्ट्र बैंकको नीति हो।
आफ्नो हातमा भएको वा आफुभन्दा साना बाबुनानीको हातमा रहेको नोटको सुरक्षण गर्नु जिम्मेवार नागरिकको दायित्व हो। परम्परा निभाउने क्रममा चाढाउँने भटीमा सिक्काको प्रयोग गर्ने, मन्दिरमा दानपेटीका मात्रै भेटी चढाउँने, चाडपर्व वा विवाह व्रतबन्धका बेला दक्षिणा दिँदा खाममा हालेर दिने, नोटमा केरमेट नगर्ने, नोटलाई कुच्याएर नराख्ने गर्दा नोटको आयु केही मात्रामा बढाउन मद्दत हुन्छ।