काठमाडौं। विश्व प्रशिद्ध एप्पल कम्पनीले हरेक वर्ष आइफोनको नयाँ ‘सिरिज÷डिभाइस’ सार्वजनिक गरिरहेको हुन्छ। आइफोन प्रयोग गर्ने चाहना हरेक व्यक्तिको हुन्छ। तर, आइफोनको मूल्य अन्य स्मार्टफोनको तुलनामा सर्वाधिक भएको कारणले मध्यम आम्दानी हुनेका लागि आइफोन प्रयोगकर्ता बन्ने चाहना सपनामै सिमित भइरहेको छ।
सन् २००७ देखी हरेक वर्ष नयाँ सिरिज सार्वजनिक गरिरहेको एप्पलले पछिल्लो ‘आइफोन १६ प्रो र १६ प्रो म्याक्स’ सार्वजनिक गर्यो। उक्त आइफोनको मूल्य नेपाली बजारमा न्यूनतम १ लाख ३३ हजार र १ लाख ६० हजार तोकिएको छ। आइफोनका अन्य सिरिजहरुको न्यूनतम मूल्य समेत १ लाखमाथि करिब ३ लाख रुपैयाँसम्म छ।
बजारमा अन्य कम्पनीले ५÷१० हजार रुपैयाँ स्मार्टफोन बिक्री गरिरहँदा लाख रुपैयाँ बढी मूल्य पर्ने आइफोन प्रयोगकर्ता उच्च आम्दानी भएका हुन् लाग्छ। तर, यो हाम्रो भ्रममात्रै हो, तपाइ हामी जस्तो मध्यम आम्दानी भएर महिनामा ५÷१० हजार रुपैयाँमात्रै बचत गर्न सक्ने क्षमताका व्यक्तिले पनि आइफोनको नयाँ मोडल ‘आइफोन १६ प्रो म्याक्स’ खरिद गर्न सक्छन्।
मध्यम आम्दानी हुनेका लागि आइफोन खरिद गर्न दर्जन बढी बैंकले शुन्यदेखि १२ प्रतिशतसम्म कर्जा दिन्छन्। यी बैंकहरुले नेपालमा आइफोन बिक्री गर्ने एप्पलको आधिकारिक बिक्रेता (डिलर्स) कम्पनीहरुसँग सम्झौता आइफोन खरिद गर्न कर्जा दिएका हुन्। ग्राहकलाई शुन्य प्रतिशत डाउनपेमेन्टमा मासिक किस्ता भुक्तानी सुविधा सहित आइफोन खरिद गर्न बैंकले कर्जा दिएकै कारण पछिल्लो समय नेपालमा आइफोन प्रयोगकर्ता बढिरहेका हुन्।
नेपाल डाटाबेसको रिपोर्टअनुसार सन् २०२३ सम्म नेपालमा ८ लाख ७२ हजार ७ सय आइफोन प्रयोगकर्ता छन्। जसमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ।
आइफोन प्रयोगकर्तामध्ये १८ देखि ३४ वर्ष उमेर समुहका ८०.९ प्रतिशत रहेको उल्लेख छ। रिपोर्टले नेपालमा आइफोन प्रयोगकर्ताहरु भर्खर आम्दानी शुरु गर्ने उमेर समुहका धेरै भएको देखाएको छ। यी उमेर समुहका व्यक्तिहरु मध्ये ५० प्रतिशतले विगत २ वर्षयता मासिक किस्ता भुक्तानीमा आइफोन खरिद गर्ने उल्लेख छ।
एप्पल स्टोर नेपाल बाहेक नेपालमा एप्पलको आधिकारीक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन, ओलिज स्टोर, इभोलुसन ट्रेडिङ (इभो स्टोर), फ्युचर वल्र्ड, सोनस मोबाइल र एपेक्स डिजिटल हुन्। यीमध्ये जेनेरेशन नेक्स्ट कम्युनिकेशन, ओलिज स्टोर र इभो स्टोरले करिब दर्जन वाणिज्य बैंकहरुसँग समन्यव गरेर किस्तामा आइफोन बिक्री गरिरहेका छन्।
यिनीहरुले आइफोन १० सिरिजदेखि १६ सिरिज खरिद गर्नेहरुका लागि वित्तीय सुविधा दिँदै ‘इक्वोटेड मन्थिली इन्सटलमेन्ट’ (इएमआइ) अर्थात् बराबर मासिक किस्ता भुक्तानी आइफोन बिक्री गरिरहेका छन्। शुन्य प्रतिशत डाउनपेमेन्टमा नै आइफोन खरिद गरि मासिक किसता भुक्तानी गर्ने ब्यवस्था गरिएको छ।
यी स्टोरमा गएर मासिक किस्ता भुक्तानीमा आइफोन खरिद गर्न तोकिएको बैंकबाट डलिभर अडर लिएर वा क्रेडिट कार्डमार्फत् गर्न सकिने सुविधा दिइएको छ। तोकिएको बैंकले ६ महिनादेखि २ वर्षसम्मका लागि आइफोन खरिद गर्न शुन्य प्रतिशतदेखि १२ प्रतिशत ब्याजदरमा कर्जा दिन्छन्।
जसमा ओलिज र इभो स्टोर बाट आइफोन खरिद गरे हिमालयन बैंकले ६.९९ प्रतिशत, ग्लोबल आइएमई बैंकले १० प्रतिशत, नबिल बैंकले १२ प्रतिशत, सिद्धार्थ बैंकले १२ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशतदेखि १० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ८ प्रतिशत, एनआइसी एशिया बैंकले शुन्यदेखि ८ प्रतिशत ब्याजदरमा कर्जा दिन्छन्।
साथै, इभो स्टोरबाट आइफोन खरिद गर्दा नेपाल इन्भेष्मेन्ट मेगा बैंक, एनएमबि बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले आइफोन र आइप्याड खरिदका लागि १८ महिनासम्मको १० प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिन्छन्।
यता, जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले पनि ग्लोबल आइएमई बैंक, सानिमा बैंक, कुमारी बैंक, नबिल बैंक र एनएमबि बैंकसँग सम्झौता नै गरेर ग्राहकलाई १२ महिनादेखि १८ महिनासम्मको लागि मासिक किस्ता भुक्तानीका आइफोन बिक्री गरिरहेको छ।