काठमाडौं। इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचै विधामा उपाधि जित्न सफल भएको छ।
इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेस्ट बैंक, बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट नेपाल, बेस्ट पर्फर्मेन्स अन असेस्ट म्यानेजमेन्ट नेपालमा विजेता एवं बेस्ट पर्फर्मेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेस्ट पर्फर्मेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ।
अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्र भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकले प्रतिस्पर्धा गरेका थिए। इन्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो। अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो।
स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शी सेवा उपलव्ध गराउँदै अघि बढेकाले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्ड जित्न सफल भएको बैंकले जनाएको छ।
३.५ अर्ब चुक्ता पुँजी भएको राष्ट्रिय स्तरको विकास बैंकका सातै प्रदेशमा ८९ शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा छन्।