काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघु वित्त बाहेक) ले मदिरा तथा सुर्ती व्यवसायमा २५ अर्ब रुपैयाँ बढी ऋण लगानी गरेका छन्। गत आर्थिक वर्षमा बैंकहरुले २३ अर्ब ७६ करोड रुपैयाँ मदिरा र १३ अर्ब ३२ करोड रुपैयाँ सुर्ती उत्पादन तथा आयातका लागि व्यवसायीहरुलाई ऋण दिएका हुन्।
गत वर्षमा बैंकहरुले मदिरा तथा सुर्ती उत्पादन तथा आयातमा दिने कर्जा भने अघिल्लो आवको तुलनामा घटाएका हुन्। आर्थिक वर्ष २०७९/८० मा यस्तो कर्जा २८ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको थियो। मदिरा व्यवसायी राजन अधिकारीका अनुसार अघिल्ला वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष व्यवसाय नै खस्किदै गएको हुँदा व्यवसायीले बैंकबाट कर्जा नलिएका हुन्।
‘बैंकबाट कर्जा लिएर सामान थपेर स्टकमा मात्रै राख्नु पर्छ, पहिलेको जस्तो व्यापार छैन, पुरानो ऋणको ब्याज तिनै समस्या छ,’ व्यवसायी अधिकारीले क्यापिटलन नेपालसँग भने, ‘बिचमा सरकारले नै आयात रोक्यो स्वदेशी मदिराको व्यापार केही फस्टायो, अहिले विदेशी मदिराभन्दा स्वदेशीमा रमाउने जमात बढेको हुँदा ऋण लिएर विदेशी रक्सीको व्यापार गर्ने कम हुँदैछन्।’
स्वदेशी उत्पादनको माग विस्तारै बढ्दै गएको हुँदा बैंकबाट ऋण लिएरै विदेशी मदिरा आयात गरी हुने नेपालको व्यापार समेत घट्दै गएको उनको भनाइ छ। यद्दपी विगत १० वर्षयता बैंक तथा वित्तीय संस्थाले मदिरा तथा सुर्ती व्यवसायमा प्रवाहित कर्जाको परिमाण भने वर्षेनी बढ्दो छ।
विगत १० वर्षयता बैंक तथा वित्तीय संस्थाले मदिरा तथा सुर्ती उत्पादन तथा आयातमा ऋण लगानी साढे २ गुणाले बढाएका छन्। यो क्षेत्रमा आर्थिक वर्ष २०७०÷७१ मा ७ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले १० वर्षबीचमा १८ अर्ब ५ करोड रुपैयाँ बढी थप गरेका हुन्।
एक दशकमा बैंक तथा वित्तीय संस्थाले मदिरा उत्पादन तथा आयातमा ३ गुणाले कर्जा बढाएका छन्। आर्थिक वर्ष २०७०÷७१ बैंकहरुले मदिरा व्यवसायीलाई कुल ५ अर्ब ९२ करोड रुपैयाँ कर्जा दिएका थिए। जुन गत आर्थिक वर्षसम्म आइपुग्दा १७ अर्ब ८३ करोड रुपैयाँ थप भएको हो। साथै, उक्त अवधिमा सुर्ती उत्पादन तथा आयातमा भने बैंकहरुको कर्जा १९.२३ प्रतिशतमात्रै भएको देखिन्छ। आर्थिक वर्ष २०७०÷७१ मा कुल १ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रावाह गरेका बैंकहरुले २०८०÷८१ मा सुर्ती व्यवसायमा १ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
बैंकहरुले मदिरा तथा सुर्ती व्यवसायमा प्रवाह गरेको कर्जा (रु १० लाखमा)
एक वर्षमा साढे ७९ लाख लिटर मदिरा आयात, सबैभन्दा धेरै भारत र फ्रान्सबाट
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ७९ लाख ८५ हजार १ सय ६ लिटर मदिरा आयात भएको छ। उक्त अवधिमा भारत, चीन, साउथ अर्फिका, अष्ट्रेलिया, फान्स, इन्डिया,जर्मनी, र्पोचुगल लगायत ४० वटा देशबाट कुल ३९ करोड ६४ लाख रुपैयाँ बढीको मदिरा आयात भएको हो। जससबैभन्दा बढी भारत आयात भएको छ।
यस्तै, गत वर्ष नेपालमा ४ अर्ब ४२ करोड १० हजार रुपैयाँ बराबरको ८५ लाख ५९ हजार केजी सुर्ती आयात भएको भन्सार विभिागका तथ्यांकले देखाएको छ। उक्त अवधिमा सबैभन्दा धेरै भारतबाट सुर्ती आयात भएको हो। नेपालमा भारत, चीन, फिलिपिन्स, मलेसिया र युनाइटेड स्टेटबाट ५ सय केजीदेखि ५२ लाख ६९ हजार केजीसम्म सुर्ती आयात भएको हो।