काठमाडौं। हिन्दु धर्मावलम्बीले नयाँ कामको सुरुआत गर्दा होस् या घरमा नयाँ वस्तु भित्र्याउँदा। चाडपर्वलाई शुभ साइतको रुपमा लिइने धार्मिक चलछ। सवारी साधान खरिद गर्ने योजना बनाएका अधिकांशले दसैं पर्खिएर बसेका हुन्छन्।
दसैं लक्षित विभिन्न अटोमोबाइल कम्पनीले दिने अफर र बैंकहरूले सवारी कर्जामा दिने ब्याजदर छुटकै कारणले पनि धेरै जना दसैं–तिहारबीचमा सवारी खरिद गर्ने योजनामा हुन्छन्। अहिले दसैं–तिहार लक्षित गरी ल्याइएका अफरमा छुटसँगै डाउनपेमेन्ट र सस्तो ब्याजदर पनि पाइन्छ।
धेरै बैंकहरूले सवारी बिक्रेता कम्पनीसँग समन्वय गरे दसैं–तिहार लक्षित सस्तो ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरिसकेका छन्। कतिपय बैंकले भने दसैं–तिहारमा सवारी कर्जाको माग बढ्ने अनुमानमा अघिल्लो महिना नै कर्जाको ब्याजदर घटाएका छन्।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामध्ये वाणिज्य बैंक र विकास बैंकहरूले चारपांग्रे सवारी खरिदमा मात्रै सोझै ग्राहकलाई कर्जा दिन्छन्। अन्यथा वित्त कम्पनी वा हायरपर्चेज कम्पनीमार्फत चारपांग्रे र दुईपांग्रे सवारी कर्जा प्रवाह भइरहेको छ।
बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत प्रयोजनमा सवारी खरिद गर्दा ५० प्रतिशत र विद्युतीय सवारी खरिद गर्न ८० प्रतिशतसम्म कर्जा दिन्छन्। साथै, संस्थागत सवारी खरिद गर्ने बैंक तथा वित्त कम्पनीले आफ्नो परियोजनाको कागजातअनुसार सवारी साधन खरिदमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन्छन्।
यसरी दिने कर्जाको ब्याजदर भने बैंक तथा वित्त कम्पनीहरूले स्थिर तथा परिवर्तित दुबै निर्धारण गरेका हुन्छन्। स्थिर ब्याजदर कर्जा सम्झौताअनुसार तोकिएको समय अवधिसम्म परिवर्तन हुँदैन भने परिवर्तित ब्याजदर बैंकको बेसरेट परिवर्तनसँगै थपघट हुन्छ।
बैंक तथा वित्त कम्पनीहरूले बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गरेका हुन्छन्। स्थिर ब्याजदर पनि केही बैंकहरूले समयअवधि तोकेर बेसरेटमा प्रिमियम थप गरी निर्धारण गरेका छन्। परिवर्तित ब्याजदरभन्दा स्थिर ब्याजदर केही प्रतिशत धेरै नै हुन्छ। तर, निश्चित आम्दानी भएकाले डाउनपेमेन्टमा सवारी खरिद गर्ने हो भने स्थिर ब्याजदरमा नै उपयोगी हुन्छ।
अहिले वाणिज्य बैंकमध्ये चार्डपर्व लक्षित राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले स्थिर ब्याजदरमा सवारी कर्जा ‘फेस्टिवलअफर’ ल्याएका छन्। राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षका लागि ७.७७ प्रतिशतमा र एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेका हुन्। एनएमबि बैंकले भने विद्युतीय सवारी खरिदमा मात्रै ‘सुलभ इभी–फिक्स्ड रेट’ योजना दिएको हो।
यसबाहेक अधिकांश वाणिज्य बैंकहरूले असोजदेखि लागू हुने गरी सार्वजनिक गरेको कर्जाको ब्याजदर नै चाडपर्वमा लक्षित गरी न्यून ब्याजदर निर्धारण गरेका छन्। जसमा अधिकांश वाणिज्य बैंकको सवारी कर्जा ७ प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेका छन्। स्थिर ब्याजदरमा बैंकहरूले सवारी कर्जामा १ वर्षदेखि १५ वर्ष अवधिका लागि भनेर परिवर्तित ब्याजदरभन्दा केही प्रतिशत धेरै ब्याजदर निर्धारण गरेका छन्। यसमा ८.९९ प्रतिशतमाथि तोकिएको छ।
परिवर्तित ब्याजदरमा सवारी खरिद गर्नका लागि बैंकहरूले न्यूनतम ७ प्रतिशतदेखि माथि मोलमोलाइका आधारमा बेसरेटमा केही प्रतिशत प्रमियम थप गरेर ब्याजदर निर्धारण गरेका छन्।
कुन बैंकको सवारी खरिदमा कति ब्याजदर
बैंकहरूले यसअघि निर्धारण गरेको बेसरेट र असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेका कर्जाको ब्याजदरको आधारमा सवारी कर्जाको रिपोर्ट तयारी गरिएको हो। बैंकहरूले बेसरेट परिवर्तन गर्दा सो ब्याजदर परिवर्तनसँगै उल्लिखित सवारी कर्जाको ब्याजदर समेत परिवर्तन हुन सक्छ।
नेपाल बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.२८ प्रतिशतदेखि १३.५० प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा १ वर्षमाथि ७ वर्षसम्मका लागि न्यूनतम ७.२८ प्रतिशतदेखि १०.०३ प्रतिशतसम्म कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.६२ प्रतिशतदेखि ८.८७ प्रतिशतसम्म कर्जा दिन्छ। बैंकले स्थिर ब्याजदरमा ७ वर्षसम्मका ७.७७ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ।
नबिल बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न न्यूनतम ८.२४ प्रतिशतदेखि १०.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ वर्षदेखि ७ वर्ष अवधिसम्मका लागि ८.२५ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ९.४९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा १ वर्षमाथि १० वर्षसम्मका लागि ८.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिन्छ।
हिमालयन बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न न्यूनतम ९.१३ प्रतिशतदेखि १२.६३ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ७ वर्षका लागि १०.२५ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा दिन्छ।
नेपाल एसबीआई बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ३ वर्षदेखि १० वर्षसम्मका लागि न्यूनतम १२.५० प्रतिशतदेखि १३ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ८.२९ प्रतिशतमा ब्याजदर तोकेको छ।
एभरेष्ट बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न ८.५४ प्रतिशतदेखि १०.५४ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ७ वर्षको लागि ९.५० प्रतिशत ब्याजदरमा कर्जा दिन्छ।
एनआइसी एसिया बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न ९.३१ प्रतिशतदेखि १२.०६ प्रतिशतसम्ममा कर्जा दिन्छ। बैंकले हाल स्थिर ब्याजदरमा भने सवारी कर्जा प्रवाह गरेको छैन।
माछापुच्छ्रे बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ८.३० प्रतिशतदेखि १०.८० प्रतिशतसम्ममा कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि १० प्रतिशतदेखि ११ प्रतिशतमा ब्याजदरमा सवारी कर्जा दिन्छ।
कुमारी बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ९.४६ प्रतिशतदेखि ११.४६ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ वषसम्मका लागि ९.४६ प्रतिशतदेखि ११.४६ प्रतिशतसम्ममा सवारी कर्जा दिन्छ।
लक्ष्मी सनराइज बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न न्यूनतम ८.९९ प्रतिशतदेखि ११.१७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। स्थिर ब्याजदरमा भने हाल बैंकले कर्जा प्रवाह गरेको छैन।
सिद्धार्थ बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.७४ प्रतिशतदेखि १०.७४ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ वर्षसम्मका लागि १०.७५ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म कर्जा दिन्छ।
कृषि विकास बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी खरिद गर्न ७.६४ प्रतिशतदेखि ११.६४ प्रतिशतसम्म कर्जा दिन्छ। बैंकले स्थिर ब्याजदरमा भने हाल सवारी कर्जा प्रवाह गरेको छैन।
ग्लोबल आइएमई बैंकः बैंकले परिवर्तित ब्याजदरमा ८.३५ प्रतिशतदेखि १३ प्रतिशतसम्म कर्जा दिन्छ। बैंकले हाल स्थिर ब्याजदरमा भने कर्जा प्रवाह गरेको छैन।
सिटिजन्स बैंकः बैंकले परिवर्तित ब्याजदरमा ८.२५ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ देखि १० वर्षसम्मका लागि १०.५० प्रतिशतदेखि ११ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिन्छ।
प्राइम बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १४.२० प्रतिशतसम्ममा सवारी कर्जा दिन्छ। स्थिर ब्याजदरमा भने हाल बैंकले कर्जा प्रवाह गरेको छैन। \
एनएमबी बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी खरिद गर्न ८.२२ प्रतिशतदेखि १०.२२ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा भने ५ वषमाथि न्यूनतम ८.२२ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ।
प्रभु बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ११.५० प्रतिशतसम्म सवारी कर्जा दिन्छ। साथै, बैंकले स्थिर ब्याजदरमा ५ वर्षदेखि ८ वर्ष अवधिसम्मका लागि ९.५० प्रतिशतदेखि ११.७७ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ।
सानिमा बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ९.१५ प्रतिशतदेखि ११.१५ प्रतिशतसम्म कर्जा दिन्छ। स्थिर ब्याजदरमा भने हाल बैंकले कर्जा प्रवाह गरेको छैन।