नेपालमा सबै सम्प्रदाय र धर्मका चाडपर्व समान रुपले मनाइने भए पनि रौनक फरक–फरक हुने गर्दछ। यस वर्षको दसैं पर्वले नेपालीको घरआँगनमा ढाकिसकेको छ। ८० प्रतिशत बढी हिन्दु धर्मावलम्बी रहेको मुलुकमा दसैंलाई सबैभन्दा ठूलो पर्वको रुपमा लिइनु अन्यथा पनि होइन। खासगरी वर्षा ऋतुका कारण सुनसानजस्ता देखिने ठूला सहरका पसल, अधिकांश समय सुनसानजस्ता देखिने राजमार्ग, ग्रामीण सडक र गाउँघर यतिबेला गुल्जार देखिन्छन्। यो बेला सहरबाट र विदेशबाट समेत ठूलो जनशक्ति ग्रामीण क्षेत्रमा प्रवेश गरेको हुन्छ। त्यति मात्र होइन, के हिन्दु, के अन्य धर्मावलम्बी सबैको एकापसमा हुने मिलनले सामाजिक सांस्कृतिक विविधतासँगै एकता र सद्भाव दर्साइरहेको हुन्छ। यो बेला सरकारले पनि लामो बिदा दिएको हुन्छ। यसले गर्दा एक क्षेत्र र परिवेश केन्द्रित मानिसहरू आ–आफ्नो थातथलो जाने, घुमफिर गर्ने, दसैं पर्वमा संलग्न नहुनेहरूले पनि घुमघामको सदुपयोग गर्ने भएकाले उपभोगमा आधारित आर्थिक क्रियाकलापमा विशेष वृद्धि हुन्छ। दसैंको छुट्टै र विशेष प्रकारको पारिवारिक मेलमिलापले सामाजिक महत्त्व राखेको हुन्छ भने धेरै बस्तुहरूको खरिदविक्री गर्ने समय भएकाले नेपाली अर्थतन्त्र चलायमान बनाउन विशेष प्रकारको भूमिका खेल्ने गर्दछ।
दसैं अवसर पारेर सरकारसहित निजी संस्थाले लामो बिदासँगै कर्मचारीलाई एक महिनाको थप तलब (बोनस) दिने गर्दछन्। यो सुविधा सरकारी सेवामा मात्रै निजी क्षेत्रमा पनि अधिक स्थानमा प्रयोग भएको पाइन्छ। त्यस्तै, दसैं अवसर पारेर वैदेशिक रोजगारीमा रहेकाहरूले घरमा अन्य समयभन्दा बढी पैसा पठाउने गर्दछन्। नेपालका ३० लाखभन्दा बढी व्यक्ति विदेशमा रहेको अनुमान छ। दशंैका बेला देखिने बढ्दो किनमेल रौनकले अर्थतन्त्र चलायमान बनाउने आधार दिइरहेको हुन्छ। त्यस्तै, दसैं अवसरमा सहरदेखी गाउँघरसम्म विभिन्न मेला–महोत्सव आयोजना हुने गर्छन्। यसले आर्थिक गतिविधिको माहौललाई थप वृद्धि गर्दछ। वस्तु तथा सेवा बिक्रेताले पनि चाडवाडमा विभिन्न आकर्षक अफर दिने भएकाले उपभोक्ता थप वस्तु खरिद गर्न लालायित हुन्छन्। कतिपयले दसैंका बेलामा हुने वस्तुको खरिद क्रेजलाई भारतमा दीपावली, चीनमा नयाँ वर्षको अवसर तथा अमेरिका र युरोपेली देशहरूका ‘ब्ल्याक फ्राइडे’मा हुने सामान बिक्रीसँग तुलना गर्दछन्।
तर, यस वर्ष दसैंको पूर्वसन्ध्या असोज १०–१२ मा आएको भीषण वर्षाका कारण धेरै जनधनको क्षति भएको अनुमान छ। नेपाल प्रहरीका अनुसार २०८१ को मनसुन सुरु भएयता बाढीपहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने असोज २१ गते बिहानसम्म १८ बेपत्ता र १७८ जना घाइते छन्। बाढीपहिरोका कारण अझै कयौं राजमार्ग अवरुद्ध छन्। बाढीपहिरोबाट २१ जिल्ला प्रभावित भएकामा कृषि क्षेत्रमा सबैभन्दा धेरै ६ अर्बसहित १७ अर्ब हाराहारी भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान छ। यद्यपि भत्किएका सडक र पुल मर्मत गरी पूर्ववत् अवस्थामा पुर्याउन २५ अर्बसम्म लाग्ने अनुमान भइरहेको छ। बाढीपहिरो बितन्डाका कारण दसैं रौनक हराएको विश्लेषण पनि भइरहेको छ। तर, बिग्रिएका सडक मर्मतसँगै देखिएको सवारी चाप, हवाई उडानमा भएको वृद्धि र सहरी क्षेत्रका पुराना बजारमा देखिएको सामान खरिद बिक्री रौनकले दसैंको उत्साह नमरेको देखाउँछ।
ट्राफिक प्रहरीको आइतबार बेलुकीसम्मको विवरणअनुसार देशमा निरन्तरको झरीपछि आएको बाढीपहिरोले ठूलो मात्रामा जनधनको क्षति भए पनि काठमाडौंबाट असोज १४ देखि २० गतेसम्म दसैं मान्न गाउँ फर्किर्नेको संख्या ३ लाख ६३ हजार १६४ जना पुगेको छ। सहरबजार गुल्जार बनिरहेका बेला मेलापर्व मान्न गाउँ फर्किनेहरूले पनि ग्रामीण अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सक्छन्। दसैंमा अर्बौं रुपैयाँबराबरका खसी बोका, भेडाच्यांग्रा, राँगा र अन्य पशुपक्षीको खपत हुने गर्दछ। यस अवसरमा किराना सामानदेखि लत्ताकपडा, गरगहना, मोबाइल, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत विद्युतीय उपकरण पनि विशेष अफरमा बिक्री हुने गर्दछ। विशेष छुटका कारण दसैं किनमेलको बहानामा जिप, कार र मोटरसाइकल बिक्री ह्वात्तै बढ्ने गर्दछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११–१६ मा आयोजित नाडा अटो शोसँगै नेपाली बजारमा २० अर्वभन्दा बढीको सवारीसाधन बिक्री भएको अनुमान गरेको छ। दसैं अवसरमा दानदक्षिणामा मात्रै करिब २० अर्ब रुपैयाँ बढी खर्च गरिने अनुमान छ। त्यसो त, २०८० को दसैं अवसरमा ५५ अर्व ६० करोड नयाँ तथा सुकिला नोट सटही गर्दा ५–१०० रुपैयाँसम्मका नोट मात्रै १६ अर्ब रुपैयाँ भएको नेपाल राष्ट्र बैंकसँग तथ्यांक छ। तथापि यस वर्षको दसैंमा राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गरेको छ।
यो बेला मदिरा, चुरोटको खपत बढ्ने र जुवातास खेल्ने प्रवृत्तिका कारण परिवार र समाजमा नकारात्मक असर पनि देखिने गर्दछ। अझ आवश्यकताभन्दा देखावटी हिसाबले खर्च गर्ने प्रवृत्तिका कारण हुनेखानेलाई भन्दा हुँदा खानेलाई चाडपर्वको बढी भार पर्दछ। यसरी प्रयोग हुने अधिकांश वस्तु आयात निर्भर रहेकाले आन्तरिक उत्पादनको महत्त्वलाई केही निस्तेज बनाउनसमेत भूमिका खेल्दछ। नेपालमा हुने खपतको दुई तिहाइ वस्तु आयातबाट पुर्ति हुने र त्यसले सरकारी राजस्वमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ। विश्वव्यापी फैलिएको कोरोना भाइरस र त्यसले सिर्जित आर्थिक मन्दीले सुस्ताएको नेपाली अर्थतन्त्र पनि विस्तारै चलायमान हुने अवस्थामा आएको थियो। तर, पछिल्लो बाढीले केही निरास बनाए पनि दसैंको आगमनसँगै नेपाली अर्थतन्त्रले आशाका किरण छर्ने विश्वास गर्न सकिन्छ। बाढीपहिरोपूर्व विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकसमेतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भनेर दिएका सन्देशले दसैं अवसरमा हुने कारोबार र सिर्जित आर्थिक क्रियाकलापले देशको समग्र अर्थतन्त्रको आकार र संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ।