काठमाडौं। गृहमन्त्री रमेश लेखकले काभ्रेको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका– १२ कलाँती भूमिडाँडास्थित रोशीबजार क्षेत्र र बेथानचोक गाउँपालिका–४ पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका साथै स्थानीयसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको हो। काभ्रेको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढीपहिरोका कारण धेरै धनजनको क्षति पुगेको छ।
पनौती नगरप्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समय भएको पुनस्र्थापनालगायत विषयमा मन्त्री लेखकलाई जानकारी गराए।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्र बाढीपहिरोबाट भएको क्षतिपछि नागरिकले बेहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरको उद्धारलगायतको विषयमा जानकारी दिए। पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विषेश गरी यातायात सेवालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।
गृहमन्त्री लेखकले आजै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर बिपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्याएको क्षतिको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।