काठमाडौं। असोज १० गतेदेखि १२ गतेसम्मको वर्षासँगै आएको बाढीपहिरोले देशभर भएको क्षतिमा सवा ७ अर्ब रुपैयाँ बिमा कम्पनीहरुको दायित्वमा पर्ने देखिएको छ। नेपाल बिमा प्राधिकरणले बाढी पहिरोबाट भएको क्षत्तिको प्रारम्भिक निरिक्षण गरी वर्षाका कारण भएको क्षतिमध्ये ७ अर्ब २८ करोड रुपैयाँ बढी दावी भुक्तानी दिनु पर्ने अनुमान गरेको हो।
प्राधिकरणले असोज १४ गते नै बिमा कम्पनीहरुलाई २०८१ असोज १० गतेदेखि असोज १२ गतेसम्म आएको वर्षाका भएको क्षति संकलन गरी तत्काल दावी भुक्तानी गर्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि बिमा कम्पनीहरुले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा बाढीपहिरो तथा डुबानका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति मूल्यांकन गरी प्राधिकरणमा तथ्यांक पठाएका थिए।
कम्पनीहरुले प्राधिकरणमा पठाएको तथ्यांकअनुसार बिमा कम्पनीमा २ हजार ३ सय ३६ वटा दावी पर्ने र सो बराबर कुल ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १ सय २ रुपैयाँ दावी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ। असोज १६ गतेसम्म भने ९ वटा निर्जीवन बिमा कम्पनीमा २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको ७ सय ९ वटा दावी परेको प्राधिकरणले जानकारी दिएको छ।
यद्यपि, कम्पनीहरुले गरेको अनुमानित दावी बढ्न सक्ने प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदी बताउँछन्। ‘हामीले गत साता नै बिमा कम्पनीसँगै सर्भेयरलाई पनि प्रकोपको अवस्था र क्षतिमा पर्ने दावी मुल्यांकनको तथ्यांक प्राधिकरण पठाउन निर्देशन दिएका थियौं,’ प्राधिकरण प्रवक्ता सुवेदीले भने, ‘अनुमानित तथ्यांक आइसकेको छ जसमा अझै थप हुनसक्छ।’ उनले परेको दावीको भुक्तानी तत्काल गर्न निर्देशन दिइसकेको पनि बताए।
पछिल्लो बाढीपहिरोका कारण मुलुकभर करिब १७ अर्ब रुपैयाँ बढीको क्षति भएको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ। जसमध्ये बिमा गरिएको सम्पत्तिको क्षतिको दायित्व बिमा कम्पनीहरुले ब्यर्होने प्राधिकरण प्रवक्ता सुवेदी बताउछन्। प्राधिकरणबाट सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतमा बिमा गरिएको सम्पत्तिको क्षति संकलन गरी प्राथमिकता निर्धारण गरी दावी भुक्तानी गर्न निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।
बिमा कम्पनीहरुले परेको दावीमा आंशिकरुपमा अग्रिम भुक्तानीको व्यवस्था मिलाउनसमेत प्राधिकरणले निर्देशन दिएको छ। ‘कम्पनीहरुले परेको दावीमा आवश्यकताअनुसार आंशिक रुपमा अग्रमि दावी भुक्तानी गर्न सक्छन्,’ सुवेदीले भने, ‘प्राधिकरणले सर्भेयर कम्पनीहरुलाई प्रकोपको अवस्थाको लागि बिमकको सर्भेयरको सूचीमा आबद्ध नभएका सर्भेयरलाई समेत खटाउन सक्ने व्यवस्था गरेको छ।’
उक्त प्रकारको दावी प्रयोजनका लागि सर्भेयरलाई तोकिएको सर्भे संख्याको सीमा समेत लागू नहुने प्राधिकरणले जनाएको छ। साथै, निर्जीवन बिमा कम्पनीहरुले दावी भुक्तानी सम्बन्धमा पुनर्बिमकहरुलाई तत्काल पत्रचार गर्न समेत प्राधिकरणले कम्पनीहरुलाई निर्देशन दिइसकेको छ।
कुन कम्पनीमा कति दायित्व?
निर्जीवन बिमा कम्पनीहरुले गरेको अनुमानित दावी दायित्वमध्ये इन्जिजियरिङ तथा ठेकेदार जोखिममा ७१ करोड बढी, कृषि तथा बाली बिमामा ४३ लाख, पशुपन्छी बिमामा १ करोड १५ लाख, मोटर बिमा (निजी) २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख बढीको क्षति अनुमान गरिएको छ। यस्तै, सम्पत्ति बिमा ६ अर्ब ११ करोड ५१ लाख, सामुन्द्रिक बिमा ९३ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
बाढीपहिरोका कारण पुगेको क्षतिमध्ये कोशी प्रदेशमा १६ करोड ९९ लाख, मधेश प्रदेशमा ७ करोड ५९ लाख, बागमती प्रदेशमा ६ अर्ब ९३ करोड, गण्डकी प्रदेशमा ४ करोड ६९ लाख, लुम्बिनी प्रदेशमा ५ करोड ७५ लाख, कर्णाली प्रदेशमा १ लाख रुपैयाँ बढीको बिमा दावी पर्ने अनुमान गरिएको छ।