काठमाडौं। लगातार ६ साता घटेपछि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता सकरात्मक देखिएको छ। गत साता ४ दिन सेयर किनबेच भएकोमा दुई दिन घटेर दुई दिन उच्च अंकले बढ्दा साताभर ११०.७३ अंकले नेप्से बढ्न पुुग्यो। असोज १० गते २४८६.७६ बिन्दुमा रहेको नेप्से असोज १६ गते २५९७.४९ बिन्दुमा कायम रह्यो।
त्यसो त निरन्तर ६ साता नेप्से घट्नुुअघि ७ सातासम्म बढेको थियो। २०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको सूचक लगातार ७ साता उकालो लाग्दै साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो। त्यसदिन कारोबार रकमसमेत हालसम्मकै उच्च २९ अर्ब ३० करोड रुपैयाँको भएको थियो। त्यसपछि घट्न सुुरु गरेको नेप्सेमा सातौं सातामा गिरावट रोकिएको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि उच्च गिरावट आएर साताभरको कारोबार रकम पनि एकदिनको जति हुन सकिरहेको छैन।
गत साता ४ कारोबार दिनमा २१ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच हुँदा अघिल्लो साता ५ कारोबार दिनमा २५ अर्ब ३६ करोडको कारोबार भयो। यसअघि ७ हप्तासम्म ९६३ अंकले बढेको नेप्से ६ हप्तामा ५१४ अंकले घटेको छ। पछिल्लो पटक असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु) मा नेप्से रोकिएर उकालो चढ्न खोजिरहेको छ। यसलाई अधिकांश लगानीकर्ताले सकारात्मक रुपमा लिइरहेका छन्। उप–समूहगत रुपमा हेर्दा गत साता सबै उपसमूहमा हरियाली छाएका कारण आगामी दिनमा बजारले माथिल्लो विन्दुको खोजी गर्ने विश्वास गर्न सकिन्छ।
तर, नेपालीहरुको मुख्य पर्व दसैं सुरु भइसकेकाले लामो सार्वजनिक विदाअघि बजार कता जाला भन्ने कौतुहलता भने धेरैमा छ। त्यसोे त दसैंको सार्वजनिक विदालगत्तै सरकारले थप विदा नगरेमा असोजमा अर्को दुुई दिन गरि असोज महिनाको बाँकी अवधि ६ दिन मात्र सेयर किनबेच हुनेछ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल चाडपर्वको दबाबमा सेयर बिक्री गर्न चाहनेहरुले बेचिसकेको र समग्र माहोल अनुकुल रहेकाले दसैंअघि सकरात्मक रुपमै नेप्से बन्द हुने बताउँछन्। ‘विगतका वर्षमा पनि दसैअघि बजार केही बढेर बन्द हुने गरेको रेकर्ड छ। समग्र माहोल सकरात्मक छ। त्यसैले दसैंअघि सूचक थप माथिल्लो बिन्दुमा पुग्ने अपेक्षा गर्न सकिन्छ’ अध्यक्ष फुल्लेल भन्छन्, ‘गत साताको उत्साह कायम रहेमा नेप्से राम्रो अंक बृद्धि हुुनसक्छ।’
अहिले सेयर खरिद गर्नेहरुले तिहारपछि राम्रो नाफा बुक गर्ने अवसर पाउने चर्चाले पनि बजार बढ्ने आधार तयार भएको कतिपय लगानीकर्ताहरु बताउँछन्। असोज ११ र १२ गते आएको बाढीका कारण केही जलविद्युत कम्पनीहरु क्षतिग्रस्त भएपनि समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिइरहेको दातृ संस्थाहरुले दाबी गरिरहका छन्। यसअघि एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको अर्थतन्त्र सुुधारोन्मुुख रहेको बताएकोमा विश्व बैंकले समय नेपाल अर्थतन्त्रमा सुुधार भइरहेको दावी गरेको छ। विश्व बैंकले चालू वर्ष ५.१ प्रतिशत आर्थिक बृद्धिको प्रक्षेपण गरेको छ। यसअघि एडिबीले ४.९ प्रतिशत आर्थिक बृद्धिको प्रक्षेपण गरेको थियो। त्यसो त सरकारले चालू वर्ष ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सेयर बजारलाई स्थिर र प्रक्षेपणकारी बनाउन सरकार लागिपरेको बताउन चुुक्दैैनन्। तर, सरकार बनेको ३ महिना गुुज्रिन लाग्दा पनि कुनै नीतिगत पहल भएको छैन। २०८० पुस २० गतेबाट खाली रहेको पुुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुुक्त हुन सकेको छैन। असोज १८ गते प्रतिस्पर्धीहरुलाई बोलाइए पनि सिफारिस समितिका संयोजक विरामी भएको भन्दै अन्तर्वार्ता तथा प्रस्तुुतिकरण रोकियो। यसले सार्वजनिक निष्कासनको पाइपलाइनमा रहेका सेयरहरु अझै लामो समय बजार आउने सम्भावना देखिँदैन। कतिपय लगानीकर्ताले सार्वजनिक निस्काशन रोकिनुलाई पनि अवसरको रुपमा बुझेका छन्।
यो लाभांश सिजन पनि हो। लगानीकर्ताले कम्पनीहरुको लाभांश क्षमता र पुँजीगत लाभ दुबै हेरेर लगानी गर्न सक्दछन्। तुलनात्मकरुपमा विगतभन्दा कम सेयर मूल्य भएका कम्पनी पर्याप्त रहेकाले लगानीकर्ताहरुलाई प्रसस्त अवसर रहेको लगानीकर्ताहरुको बुुझाई छ। असोज सकिएसँगै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने, ब्याजदर अझै घट्ने सम्भावना कायमै रहेको जस्ता कारणले चाडपर्व पछि बजारले नयाँ गति पक्रने विश्वासमा लगानीकर्ताहरु छन्।
सेयर लगानीकर्ता छोटेलाल रौनियार बजारको समग्र माहोल सकरात्मक रहेकाले आत्तिनुुपर्ने अवस्था नरहेको बताउँछन्। ‘बजारका बाह्य सूचक तथा आधारहरु सकरात्मक छन्। ब्याजदर, तरलता, मुद्रास्फितीले पनि बजारलाई साथ दिएकाले नेप्से घट्नुपर्ने कारण देखिँदैन,’ रौनियार भन्छन्, ‘समग्र परिस्थिति केलाउँदा दसैं पछाडि सेयर बजारले राम्रो लय समाउने देखिन्छ। सामान्यतया चाडपर्वको समयमा कारोबार कम हुने भएपनि बजार सकरात्मक बन्ने देखिन्छ।’