काठमाडौं। दसैं-तिहारका बेला पोखरा वा सौराहा घुम्न जाँदै हुनुहुन्छ? यदि जाँदै हुनुहुन्छ भने पोखरा र सौराहाका होटलले तपाईंहरूलाई विशेष छुटमा बसोबास व्यवस्था गर्नेछन्। विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरा र सौराहाका होटलले चाडवाडकाे विशेष छुट प्याकेज ल्याएका हुन्।
दसैं र तिहार बिदामा घुम्न निस्कनेको संख्या पछिल्लो समय बढ्न थालेसँगै आफ्ना होटलमा आकर्षित गर्न अफर घोषणा गरेका हुन्।
चितवनको सौराहामा रहेको जंगल सफारी लजले ‘दसैं–तिहार सौराहामा’ योजना ल्याएको छ। असोज १५ देखि कात्तिक ३० सम्म लागू हुने योजनाअन्तर्गत नेपाली पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन्।

प्याकेजमा सहभागी हुनेले वेल कम ड्रिंक्स, दुई रातका लागि सुपर डिल्क्स कोठा, दुई वटा लन्च, दुई वटा डिनर, ब्रेकफास्टसहित जीप सफारी, डुंगा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच अवलोकन, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।
यो प्याकेजअन्तर्गत आउने पर्यटकलाई सौराहामा रहेको क्याफे द सफारीमा एउटा कफीको कुपन समेत दिइने उनले बताए।‘कोभिडपछि विस्तारै गति लिँदै गएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको महत्त्व धेरै रहेकाले हामीले आन्तरिक पर्यटकलाई घुम्न जोड दिन यो अफर लिएर आएका हौं’, उनले भने।

यो अफर प्राप्त गर्न कम्तीमा दुई जना हुनुपर्नेछ। ५ वर्षमुनिका लागि निःशुल्क छ भने ५‑१० वर्षको हकमा २५ प्रतिशत छुट हुनेछ। ‘हामीले विगत एक दशकदेखि दसैं तिहारको समय यस्तै योजना ल्याउँदै आएका थियौं। सफल पनि भयौं। त्यसैले हरेक वर्ष निरन्तरता दिँदै गएका हौं,’ उनले भने।
यस्तै जंगल सफारी लजले दसंै तिहार समयमा विभिन्न सभा गोष्ठीका लागि सेमिनार हल र आवासीय प्याजेजमा समेत विशेष छुट दिने बताएको छ।चितवनको भरतपुरमा रहेको सिराइचुली होटलले दसैं तिहारलाई लक्षित गरी फेस्टिभ अफर ल्याएको छ। होटलले प्रतिव्यक्ति २ रात ३ दिनका लागि १६ हजार ९९९ को प्याकेज सार्वजनिक गरेको हो।
सो रकममा वेलकम डिं«क्स, कोठा, दैनिक बफे ब्रेकफास्ट, फेस्टिभ डिनर र लन्च, ४ घन्टाको जिप सफारी, ४५ मिनेटको क्यानोनिङ, हात्ती प्रजन केन्द्र भ्रमण र थारु नाचसमेत हेर्न पाइनेछ।
पोखरामा रहेको होटल जल महलले दसैैं तिहार अवसरमा विशेष प्याकेज सार्वजनिक गरेको छ। होटलले दुई जना बस्नका लागि ५००० र तेस्रो व्यक्तिका लागि १ हजार थप्नुपर्ने योजना ल्याएको हो। यस्तै, होटलले अन्य सर्भिसमा १० प्रतिशत र ग्रुप बुकिङमा १५ प्रतिशत छुट घोषणा गरेको छ।
पोखराकै लेकसाइडमा रहेको होटल रानीवन आर्केटले दसैं तिहारलाई लक्षित गरी ग्राहकलाई सम्पूर्ण सेवामा २० प्रतिशत छुट दिने भएको छ। होटलका सञ्चालक हरि भुजेलले दसैं र तिहारमा आउने पाहुनालाई विशेष स्वागत गर्ने बताउँदै सम्पूर्ण सेवामा छुट दिइने जानकारी दिए।

वाटरफ्रन्ट रिसोर्ट पोखराले दसैं तिहार स्पेसल कपल प्याकेज सार्वजनिक गरेको छ। २४ हजार ९९९ रुपैयाँको प्याकेजअन्तर्गत २ रात ३ दिनको बसाइँ हुनेछ। सो रकमले ब्रेकफास्ट, डिनर र एयरपोर्ट ओहोरदोहोरका लागि गाडीसमेतको सुविधा दिइने होटलले जनाएको छ। यो अफर अक्टोबर १ देखि नोभेम्बर १५ सम्म लागू हुनेछ।
पोखरामै रहेको रुपाकोट रिसोर्टले २२ सेप्टेम्बरदेखि अक्टोबर १६ सम्मका लागि दसैं अफर ल्याएको छ। रिसोर्टमा प्रतिजोडी (दम्पती)का लागि प्रतिरात ९ हजार ९९९ मा कोठा दिने जनाएको छ। यस्तै अन्य सुविधा पनि छुट दिने घोषणा गरेको छ।
धुलिखेल माउन्टेन रिसोर्टले दसैैं सेलिब्रेट एक्सुलेसिभ ग्रुप प्याकेज सार्वजनिक गरेको छ। ग्रुपमा कम्तीमा ६ जना हुनुपर्नेछ। रिसोर्टमा ग्राहकले प्रतिव्यक्ति ३ हजार ५०० मा वेलकम ड्रिंक्स, डिलक्स रुम, ब्रेकफास्ट, डिनर, चियाँ, कफीसहितको सुविधा पाउने छन्।
धुलिखेलमै रहेको आगन्तुक रिसोर्टले सेलिब्रेट दसैं विइथ लक्जरी कम्फर्ट प्याकेज ल्याएको छ। १६ हजार ९९९ मा दुई रात र तीन दिनको प्याकेजमा प्रिमियम कोठा, ब्रेकफास्ट र खाना व्यवस्था छ।
चितवनको अमलटारीमा रहेको टेम्पल टाइगर ग्रिन जंगल रिसोर्टले चंगा चेट अफर सार्वजनिक गरेको छ। रिसोर्टले तीन वटा प्याकेजमा विभिन्न सुविधा घोषणा गरेको हो।
रिसोर्टले प्रतिव्यक्ति १ रात २ दिनका लागि ६ हजार ६६६, ३ रात ४ दिन २५ हजार, दुई रात तीन दिन १८ हजार रुपैयाँको विभिन्न प्याकेज ल्याएको छ।
प्याकेजमा डिलक्स भिल्ला, जिप सफारी, फुलबोर्ड, अमेरिकन ब्रेकफास्ट, कन्टिनेन्टल डिनर, थारु नाच, नारायणी नदीबाट अस्ताउदो सूर्यास्त दृष्यावलोकन र हात्तीलाई खाना खुवाउन/हेर्न पाइनेछ। यहाँ रकमअनुसारका विभिन्न प्याकेज पाइनेछ।