काठमाडौं। जीएसी एवोन वाई र ओमोडा ई–५ डिलक्स दुवै चिनियाँ ब्रान्डका गाडी हुन्। जीएसी एवोन वाई चीनको ग्वान्झाओ अटोमोबाइल कर्पोरेसन(जीएसी) को सहायक ब्रान्ड हो। ओमोडा चेरीको सबब्रान्ड हो। यी दुई गाडीको मूल्य र फिचर लगभग समान छन्।
नेपालका लागि जीएसी एवोन वाईको आधिकारिक वितरक सिजी मोटर्स हो भने ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो। मध्यम रेन्जमा पर्ने यी दुई गाडीको मूल्यमा १ लाख रुपैयाँको मात्र फरक रहेको छ।
ओमोडा बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सले ओमोडा ई–५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। सिजी मोटर्सले बिक्री गर्दै आएको जीएसी एवोन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ पर्छ।
ब्याट्री तथा मोटर पावर
जीएसी एवोन वाईमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ। यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ। एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिन्छ।
ओमोडा ई–५ मा ६१ किलोवाट आवरकोे लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री दिइएको छ। यसमा ९९ किलोवाट आवरको मोटर जडान गरिएको छ। डब्लुएलटीपीका अनुसार उक्त ब्याट्रीले ४३० किलोमिटरको रेन्ज दिनेछ।
फास्ट चार्जर (८० किलोवाट चार्जर)मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ।
ग्राउन्ड क्लियरेन्स
जीएसी एवोन वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ भने ओमोडा ई–५ को ग्राउन्ड क्लियरेन्स १८० एमएमको रहेको छ।
साइज
एवोन वाईको लम्बाइ ४५३५ एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ। यसमा २७५० एमएम लामो ह्वीलवेस रहेको छ। ओमोडा ई–फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३० र उचाइ १५५८ एमएम छ। यसको ह्वीलवेस २६३० एमएम रहेको छ।
सुरक्षा फिचर
जीएसी एवोन वाइमा सुरक्षाका लागि डेढ दर्जन फिचर समाबेस गरिएको छ। यसमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ।ओमोडाले ई–५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ।
क्याबिन फिचर
जीएसी एवोन वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको विशाल टचस्क्रिन, ६ स्पिकर, पीएम २.५ एयर फिल्टरजस्ता फिचर उपलब्ध छन्।
ओमोडा ई–५ मा २४.६ इन्चको डुअल स्क्रिन, ’क्रोम सेप्ड’ डोर ह्यान्डल, ८ वटा सोनी स्पिकर, ५० वार्डको वायरलेस चार्जर, सिम्पल वुडग्रेन डिजाइन जस्ता फिचर यसमा उपलब्ध छन्।