काठमाडौं। नेपालमा ड्रयागन फ्रुट खेती फस्टाउँदै गरेको व्यवसाय हो। तर, नेपालमै भरखरै सुरु भएकाले यो खेतीका लागि आवश्यक प्रविधि, पुँजी, जनशक्ति, आम्दानी, खर्च तथा नाफाबारे बुझ्नु महत्त्वपूर्ण हुन्छ। ड्रयागन फ्रुट खेती गरी मुलुकमै आर्थिक उपार्जन गर्ने सोच बनाएर पनि कसरी थाल्ने भन्ने जानकारी नहुँदा यत्तिकै बस्ने पनि धेरै हुन सक्छन्। अझ ड्रयागन फ्रुट खेती गर्न कठिन छ, धेरै लगानी चाहिन्छ भन्ने किसिमको सोच हाबी छ।
तर, ड्रयागन फ्रुट खेती सानो लगानी र कम पुँजी तथा जनशक्तिबाटै सुरु गरेरै अगाडि बढ्न सकिने किसिमको व्यवसाय हो। सिउँडी वर्गमा पर्ने ड्रयागन फ्रुट÷सिउँडी फल खेती तुलनात्मक रुपमा कम मलिलो जमिनमा खेती सकिन्छ। यसलाई एक पटक रोपेपछि २५ वर्षसम्म उत्पादन लिन सकिन्छ। यो बाली मलिलो दुमट र ५–७ पिएच मान भएको माटोमा राम्रो सप्रन्छ। यो बाली समुन्द्र सतहबाट १,५०० मिटरसम्मको उचाइ र २०–३० डिग्रि सेल्सिएस तापक्रम भएको ठाउँमा गर्न सकिन्छ।
यसले धेरै गर्मी सहन सक्दैन। सिउँडी फल रातो फल गुदी पनि रातो, फल रातो गुदी सेतो, फल पहेलो गुदी सेतो हुने गरी मुख्यतः तीन जातका हुन्छन्। यसको प्रसारण राम्रो फल दिने माउबोटबाट छिप्पिएको र प्रशस्त आँखा भएको २० सेन्टीमिटर लामो हाँगा कटिङ्गबाट तयार गरिएको बिरुवाबाट गर्दा राम्रो हुन्छ। ३ मीटरको दूरीमा ६०÷६० सेन्टिमिटरको खाडल खनेर प्रत्येक खाडलमा १०–१५ किलो कम्पोष्ट मल राखी बिरुवा रोप्नुपर्दछ।
बिरुवाको काण्ड कमजोर हुने भएकोले सिमेण्टको पोल गाडेर माथि मोटर साइकलको टायर राखेर बिरुवा त्यसमा जाने व्यवस्था मिलाउनु पर्दछ। गोडमेल, काँटछाँट, मलखाद, रोग, कीराको व्यवस्थापन प्राविधिकको सल्लाहमा गर्दा उपयुक्त हुन्छ। रोपेको दोश्रो वर्षबाट नै फल लाग्ने भएकाले यो आर्थिक उपार्जनमा निकै सहज हुन्छ। चैत, वैशाखबाट फुल फुल्न शुरु हुन्छ भने फुलेको ३०–३५ दिनमा नै फल तयार हुन्छ। फल हरियोबाट रातो वा पहेलो रङमा परिवर्तन भएपछि कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिन्छ।
सरकारको राज्य मन्त्रीसमेत भइसकेका लोकेन्द्र बिष्ट अहिले दाङमा व्यवसायिक ड्रयागन फ्रुट खेतीमा रमाइरहेका छन्। यस्तै, अन्य थुप्रै किसानले पनि ड्रयागन फ्रुट खेती गरेर धेरै आम्दानी लिइरहेका छन्। ड्रयागन फ्रुटमा कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो पदार्थ, तन्तु लगायत शरिरको लागि आवश्यक धेरै पोषणतत्वले भरपुर हुने भएकाले पनि यसप्रति धेरै मानिस आकर्षित हुँदै गएका छन्।
एन्टिअक्सिडेन्ट र शरीरको रोग प्रतिरोधात्मक क्षमता यो फलबाट बलियो हुने भएकाले पनि बजार सम्भावना राम्रो छ। नेपालमा भरखरै सुरु भएपनि दक्षिण मेक्सिको र मध्य अमेरिकामा यसको उत्पत्ति भएको मानिन्छ। अहिले नेपाल लगायत संसारभर धेरै मुलुकमा यसको खेती हुने गरेको छ। यो फल थाइल्याण्ड, भियतनाम, श्रीलंका, भारतमा अझै धेरै खेती गरेको पाइन्छ।
नेपालमा प्रति रोपनी/डेढ कठ्ठा जमिनमा लगभग १२५ बिरुवा लगाउन सकिने र राम्रो व्यवस्थापन हुँदा ८००–९०० किलो ताजा फल उत्पादन गर्न सकिन्छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दनदेव पन्तले गरेको एक अध्ययनअनुसार यदि कुनै किसानले यो खेतीका लागि १२५ बिरुवा रोपेको छ भने उसले वार्षिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी दोस्रो वर्षबाटै लिन सक्छ।
एक रोपनी (डेढ कठ्ठा) जमिनमा ड्रयागन फ्रुट खेती गर्दा लाग्ने खर्च र हुने आम्दानी विवरण