काठमाडौं। प्रसिद्ध आरोही मिंगमा जी शेर्पाले हिमाल आरोहणमा इतिहास रचेका छन्। उनले ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल बिनाअक्सिजन चढ्ने पहिलो नेपाली पर्वतारोही बनेका छन्।
रोल्वालिङका मिंगमा जी शेर्पाले शुक्रबार साँझ करिब ४ः०६ बजे तिब्बतस्थित शिशापाङ्मा (८,०२७ मिटर) को सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन्।
इम्याजिन नेपाल ट्रेक्सका अनुसार मिंगमा जीले यसअघि २०२२ मा बिनाअक्सिजन माउन्ट धौलागिरि, कञ्चनजंघा र सगरमाथाको सफल आरोहण गरेका थिए। उनले २०२१ मा मनास्लु, २०१९ मा ग्यासरब्रुम–२, २०१८ मा ल्होत्से र ब्राड पिक, २०१७ मा केटु, मकालु र नांगा पर्वत, २०१६ मा ग्यासरब्रुम–१ र २०१५ मा अन्नपूर्ण बिनाअक्सिजन आरोहण गरेका थिए।
‘इम्याजिन नेपाल ट्रेक्सका ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मिंगमा जीले स्पेनिस मार्गबाट २००६ मा एडुर्न पासाबानले लिएको बाटो हुँदै शिखरमा पुगे’, आयोजकले जानकारी दिएको छ। उक्त टोलीका पाँच आरोहीले अहिलेसम्म विश्वका १४ अग्ला हिमालको सफल आरोहण गरिसकेका छन्। मिंगमा जीले आफ्नो करिअरमा सगरमाथा (उत्तर र दक्षिणतिरबाट) पाँच पटक, केटु, अन्नपूर्ण, धौलागिरी, मकालु, कञ्चनजंघा र सात पटक मनास्लुलगायतका शिखरमा पुगेका छन्।
रोल्वालिङ गाउँका मिंगमा जीले हालै शिशापाङ्मा आरोहण गर्दै आफूलाई विश्वका उत्कृष्ट पर्वतारोहीको सूचीमा राख्न सफल भएका छन्। आएफएमजीए गाइडसमेत रहेका मिंगमा जीले चेकी–गो (६,२५७ मिटर), बामोंगो (६,४०० मिटर) र चोबुजे (६,६८५ मिटर) हिमालको पनि पहिलो पटक पश्चिम मार्ग हुँदै आरोहण गरेका थिए।
ऐतिहासिक सफलतामा अमेरिकी आरोही डा. ट्रेसी ली मेटकाफले पनि १४ वटा ८,००० मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो अमेरिकी महिला बन्न सफल भएकी छन्। उनले यसै वर्ष २०२४ मा पाँच वटा शिखर-शिशापांग्मा, ब्राड पिक, ग्यासरब्रुम–१, ग्यासरब्रुम–२ र ल्होत्से आरोहण गरेकी हुन्।
यस्तै, पाकिस्तानी आरोही सिरबाज खानले पनि सबै १४ अग्ला हिमाल आरोहण गर्दै यो कीर्तिमान राख्न सफल भएका छन्। उनले २०१७ मा नांगा पर्वत, २०१८ र २०२२ मा केटू, २०१९ मा ल्होत्से, ब्राड पिक र मनास्लु, २०२१ मा अन्नपूर्ण, ग्यासरब्रुम–२, धौलागिरि र सगरमाथा, २०२२ मा कञ्चनजंघा, ग्यासरब्रुम–१ र मकालु, २०२३ मा चो ओयू र शिशापांग्मा आरोहण गरेका थिए।
जापानी आरोही नाओकी इशिकावा पनि १४ वटा ८,००० मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो जापानी आरोही बनेका छन्। उनका आरोहणमा सगरमाथा (२०११), ल्होत्से (२०१३), मकालु (२०१४), ग्यासरब्रुम–२ (२०१९), केटू, कञ्चनजंघा, धौलागिरि, ब्राड पिक र मनास्लु (२०२२), अन्नपूर्ण (२०२४) र अन्य हिमाल समावेश छन्।
टोलीका अर्का सदस्य दावा ग्याल्जे शेर्पाले पनि सबै १४ अग्ला हिमाल आरोहण गर्ने सपना पूरा गरेका छन्। १५ पटक सगरमाथा, दुई पटक अन्नपूर्ण, दुई पटक ब्राड पिक, एक पटक चो ओयू, धौलागिरी, ग्यासरब्रुम–१, ग्यासरब्रुम–२, कञ्चनजंघालगायतका हिमाल आरोहण गरेका दावा ग्याल्जे रोल्वालिङका हुन्।
इम्याजिन नेपाल ट्रेक्सका किली पेमा शेर्पाले पनि हालसम्म १२ वटा अग्ला हिमाल आरोहण गरेका छन्। २०२१ मा केटूको हिउँदयाममा ऐतिहासिक आरोहण गर्ने १० नेपालीमध्येका किली पेमाले अब बाँकी दुई हिमाल आरोहण गर्न बाँकी छ।