नयाँ दिल्ली। भारतले सस्तो र वातावरणमैत्री ढंगमा पेट्रोलियम पदार्थ नेपालका वितरण केन्द्रमा आपूर्ति गर्न दुई वटा पाइपलाइन निर्माण गर्ने भएको छ, जसले नेपालको तेल बजारमा चीनको प्रवेशलाई कठिन बनाउने आशय भारतीय मिडियाले लेखेका छन्।
भारतीय मिडिया टाइम्स अफ इण्डियाले नेपाल–भारत पेट्रोलियम सम्झौतालाई नेपालमा चीनाविरुद्ध इन्डियन आयल (आईओसी)को कदमको रूपमा भारतको व्याख्या गर्दै समाचार रिपोर्ट बनाएको छ।
रिपोर्टमा उल्लेख छ, ‘इन्डियनआयल र नेपाल आयल निगमले यही बिहीबार फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरे, जसले पाइपलाइनको काम सुरु गर्न बाटो खोल्नेछ। पहिलो पाइपलाइनले पश्चिम बंगालको सिलिगुडीबाट नेपालको झापासम्म ५० किमि दूरीको क्षेत्र ओगट्नेछ। अर्को पाइपलाइन नेपालको अमलेखगञ्जबाट बिहारको रक्सौल टाउन हुँदै चितवनको लोथारसम्म ६२ किमी दूरीमा निर्माण हुनेछ। यो सम्झौतामा दुईवटा टर्मिनल निर्माण पनि समावेश छ।’
भारतले हाल नेपाललाई वार्षिक करिब १.५ मिलियन टन इन्धन आपूर्ति गरिरहेको छ। इन्डियन अयलले बिहारको मोतिहारी डिपोबाट अमलेखगञ्जलाई उत्पादन आपूर्ति गर्छ। यो पाइपलाइन लोथारसम्म विस्तार हुँदा देशभर इन्धन ढुवानी लागत र ट्यांकरबाट हुने प्रदूषण कम हुनेछ। सिलिगुडीबाट आउने पाइपलाइनले दोस्रो आपूर्ति मार्ग खोल्नेछ र पूर्वी नेपालमा उपलब्धता बढाउनेछ।
यो सम्झौता भारतको तेल मन्त्रालय र नेपालको उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयबीच सन् २०२३ मा भएको सम्झौतापछि आएको हो। यी दुई पाइपलाइनको चर्चा सन् २०१९ देखि चलिरहेको थियो, जब भारतको आर्थिक नाकाबन्दीबाट रुष्ट भएर काठमाडौंले चीनसँग व्यापार र इन्धन आपूर्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। तर, चीनबाट इन्धन ढुवानी गर्दा देखिएको हिमालयन भौगोलिक चुनौतीले यो विकल्पलाई आर्थिक रूपमा अव्यावहारिक बनाएको छ।
पाइपलाइन र टर्मिनलले दुवै देशलाई इन्धन आपूर्तिमा अझ बलियो बनाउनेछ, जसले नेपालका लागि भारतीय इन्धनलाई बढी आकर्षक बनाउनेछ।
‘भारत–नेपाल मित्रताको अर्को उपलब्धि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पेट्रोलियम पूर्वाधारलाई मजबुत बनाउँदै, लागत घटाउँदै र नेपालका नागरिक र अर्थतन्त्रका लागि आपूर्ति सुरक्षामा वद्धि गर्ने हो’, भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
पेट्रोलियम सचिव पंकज जैनले सम्झौतामा हस्ताक्षर गर्ने कामलाई अनुगमन गर्दै यी पाइपलाइनको समयमै कार्यान्वयनले दुवै देशबीच ऊर्जा सहयोगलाई मजबुत बनाउने कुरा औंल्याए।
आईओसीका अध्यक्ष भी सतीशकुमारले भने, ‘यो सहकार्यले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सफलतामा आधारित छ र ऊर्जा सुरक्षामा थप सहयोग पुर्याउँदै दुवै राष्ट्रबीच निर्बाध ऊर्जा सम्पर्कको मार्ग खोल्छ। हामी यी परियोजनालाई समयमै कार्यान्वयन गर्न प्रतिबद्ध छौं र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेछौं।’