काठमाडौं। नेपालमा रेमिट्यान्स भित्रिने मुख्य समय भनेको चाडपर्व मै हो। वैदेशिक रोजगारमा हुने अधिकांशले नेपालमा भएका आफन्तलाई चाडपर्वमा खर्च स्वरुप सानै परिमाणमा भए पनि पैसा पठाइरहेका हुन्छन्।
विदेशबाट आएको पैसा वैधानिक च्यानलमार्फत् आएको/नआएको यकिन नगरी लिएमा भोलिका दिनमा प्रहरीले उक्त पैसा जफतसमेत गर्न सक्छ। नेपामा मौलाउँदै गएको हुण्डी कारोबारले विदेशबाट आफ्नो नाममा आएको पैसा वैधानिक च्यानलबाटै आएको/नआएको यकिन गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
हुण्डी गर्नेहरुले सुन तस्करी, हातहतियार तस्करी, मानव बेचबिखान लगायत अवैध कारोबारबाट प्राप्त भएको पैसालाई विभिन्न माध्यम प्रयोग गरी रेमिट्यान्सको नाममा नेपालको प्रापकलाई भुक्तानी दिने गर्छन्।
आफूलाई विदेशबाट आएको पैसा हुण्डीमार्फत् प्राप्त भएको भन्ने एकिन नगर्दा आफूले खर्च गरेको वा साथमा राखेको पैसा भोली प्रहरी अनुसन्धानमा जफत हुन सक्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।
विदेशबाट नेपालमा हुण्डी गर्नेहरुले वैदेशिक रोजगारीमा जानेलाई नै मुख्य टार्गेट बनाएर गर्छन्। उनीहरुले नेपाल पठाउनु पर्ने पैसा बढी सटहीदर दिएर लिने र अवैध कारोबारमा प्रयोग गर्छन्।
‘जसबाट आएको पैसा ह्वाइट बनाउन नेपालमा प्रापकलाई विभिन्न बैंक तथा वित्तीय संस्था र वालेटमार्फत् भुक्तानी गर्छन्,’ सिआइबी प्रवक्ता बोगटीले क्यापिटल नेपालसँग भने, ‘यसरी प्राप्त पैसा भोली प्रहरी अनुसन्धानका क्रममा जफत हुन्छ, त्यसैले विदेशबाट आएको पैसा वैधानिक च्यानलमार्फत् आएको हो÷होइन आफै सचेत हुनु पर्छ।’
अवैध कारोबारबाट प्राप्त पैसा रेमिट्यान्समार्फत् कानुन ‘ह्वाइट’ अर्थात् कानुन सम्वत् गराउन रेमिट्यान्स पठाउने र प्राप्त गर्ने दुवै कानुनी कारवाहीको दायरामा पर्ने उनको भनाइ छ।
नेपालको विदेशी मुद्राको मुख्य स्रोतमध्ये वैदेशिक रोजगारमा जानेले पठाउने रेमिट्यान्स हो। नेपाललाई रेमिट्यान्सले धानेको देश समेत भनिन्छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन महिनासम्म ५९ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीको लागि विभिन्न देश गएका छन्। उनीहरुले हालसम्म १ खर्ब ३६ खर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स पठाइसकेका छन्।
नेपालमा रेमिट्यान्स कारोबार सबैभन्दा बढी चाडपर्वकै समयमा हुने राष्ट्र बैंकले जानकारी दिएको छ। वैदेशिक रोजगारमा जानेहरुले पैसा पठाउने मुख्य समयलाई मध्य नजर गर्दै हुण्डी कारोबार गर्ने गिरोहहरुले यस्तो समयलाई अवसरको रुपमा प्रयोग गर्ने जोखिम पनि बढ्ने हुन्छ।
अवसर र आवश्यकतालाई मूल्यांकन गरेर वित्तीय अपराध हुने सिआइबीका प्रवक्ता बोगटी बताउँछन्। गैर कानुनी कारोबारलाई कानुन सम्वत् बनाउने बाटो नेपाल जस्तो वैदेशिक रोजगारीमा जानेको संख्या बढी भएको देशलाई टार्गेट गर्ने प्रहरीको विभिन्न अनुसन्धानहरुले देखाएको बोगटीले जानकारी दिए।
यसरी फसिएला रेमिट्यान्स पठाउँदा र प्राप्त गर्दा अबैध कारोबारमा
अवैध सुन कारोबारका नाइकेहरुले विदेशमा डलर संकलन गर्ने रेमिट्यान्स कम्पनी खडा गरेर दुबई, सिंगापुरलगायत देशमा सुन खरिद गर्ने र अवैध बाटोमार्फत नेपाल ल्याउने र नेपालमा सुन बिक्री गर्ने एजेन्ट राखेका हुन्छन्।
हुन्डी र सुन तस्करी गर्नेहरुले विदेशबाट पठाइएको रेमिट्यान्स प्रापकसम्म पुर्याउने नाममा तस्करीमार्फत प्राप्त ‘ब्ल्याक मनीलाई ह्वाइट’ गरेको सिआइबीको पछिल्लो अध्ययनमा देखिएको थियो।
‘अष्ट्रेलिया, दुबई, कोरियालगायत विदेशबाट रेमिट्यान्सस्वरुप पठाएको रकम वैध प्रक्रियाबाट नेपाल नभित्र्याएर उक्त रकम विदेशबाट अन्यत्र स्थानान्तरण गरी अवैध सुन कारोबारबाट प्राप्त मुद्रा नेपालमा रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिका विभिन्न बैंक खातामा निक्षेप गरिएको छ’, सीआईबी प्रतिवेदनमा उल्लेख छ।
सिआईबीले कुल ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बराबरको ३ हजार १ सय ९४.६६४ केजी अवैध सुन बरामद गरेको थियो। अष्ट्रेलियामा उच्चतम दर दिँदै संकलित पैसा रेमिट्यान्स नपठाएर क्रिप्टोमा परिणत गरी चीन, दुबई र सिंगापुरमा सुन खरिद गर्ने र त्यसलाई अवैध बाटोमार्फत् नेपाल बिक्री गर्ने गरिएको थियो। सुन बिक्रीबाट आएको पैसा रेमिट्यान्सको पैसा भनेर सजिलो पे र पेवेलले बैंकको काउन्टरमा भौचर डिपोजिट भइरहेको थियो।
विदेशबाट नेपालमा हुण्डी गर्नेहरुले संकलित पैसा नेपाल नपठाएर सुन खरिद गर्न क्रिप्टो कारोबारमा संलग्न विभिन्न व्यक्तिमार्फत युएसडिटी र क्रिप्टो बनाई दुबई, सिंगापुरमा भुक्तानी गर्छन्। विदेशबाट नेपाल रेमिट्यान्स पठाउने व्यक्तिसँग प्रापकको बैंक डिटेल्स लिइन्छ भने रेमिट्यान्सको पैसाले दुबईलगायतका देशमा सुन खरिद हुन्छ।
खरिद गरिएको सुन नेपाल ल्याउन विभिन्न अवैध बाटो रोजिन्छ। अवैध बाटोबाट ल्याइएको सुन बिक्रीमार्फत आएको पैसा नेपालका वालेट कम्पनीहरुलाई दिइन्छ। ती वालेट कम्पनीको नाममा बनाइएको हुन्डी र सुन तस्करका एजेन्टहरुले नेपालमा रेमिट्यान्सको नाममा पैसा प्रापकलाई दिन्छन्। यसलाई बैंकिङ च्यानलमार्फत भौचर डिपोजिट गरी ‘ब्ल्याक मनीलाई ह्वाइट’ बनाइन्छ।
सीआईबी अनुसन्धानमा नमस्ते रेमिट्यान्सले खरिद गरेको सुन बिक्री गरी रेमिट्यान्सको पैसा नेपालका प्रापकलाई भुक्तान गर्न सजिलो पे र पेवेललाई बनाएको थियो। सजिलो पे र पेवेल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक कम्पनीको लाइसेन्स लिएको कम्पनी हो। प्रहरीले यी कम्पनीलाई कानुनी दायराभित्र ल्याइसकेको छ।
यसकारण भइरहेको हुण्डी–सिआइबी प्रवक्ता बोगटी
पछिल्लो अवस्थामा बढेको बैंक तथा वित्तीय संस्था (फाइनान्सियल इन्सिटिसनहरु) र वालेटहरुको संकास्पद कारोबारहरु टाइम टु टाइम मोनिटरिङ हुन नसक्नु, त्यसलाई काउन्टर गर्न नसक्नु, कुन कानुनी रुपमा रजिस्टर भएका र कुन नभएका हुन् छुट्याउन नसक्नु, लगायत विविध कारणले गर्दा नेपालमा वित्तीय अपराध बढ्दो छ। जसमध्ये हुण्डी कारोबार प्रमुखमध्ये एक हो।
नेपालबाट सहजै विदेशमा पैसा पठाउन मिल्ने मेकानिजमहरु छैन भने, नेपालमा पनि सहजै पैसा पठाउन सक्ने मेकानिजम छैन। यसले गर्दा पनि हुण्डीलाई प्रोत्साहन भइरहेको छ। नेपालमा पैसा पठाउँदा पाउने विदेशी मुद्रा सटहीको दरभन्दा हुण्डी गर्नेहरुले दिने सटही दर धेरै हुन्छ।
रेमिट्यान्स पठाउनेलाई सरकारले नै बढी दर दिने र रेमिट्यान्स पठाउनेलाई राज्यको तर्फबाट बिषेश सुविधा दिन आवश्यक छ। राज्यले वैधानिक च्यानलमार्फत् रेमिट्यान्स पठाउनेलाई कर छुट, सहुलियत कर्जा, बचतमा अधिकतम ब्याज दिएर प्रोत्साहन दिनु पर्छ।
नेपालमा वैधानिक च्यालनबाट भित्रिने रेमिट्यान्सको विवरण राख्ने तथा यसको मोनिटरिङ र रेमिट्यान्स र विदेशी विनिमय सम्बन्धी व्यवसाय गर्ने संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंक हो। हुण्डीमार्फत् हुने कारोबारको विषयमा सिआइबीसँग विभिद् समयमा राष्ट्र बैंकले छलफल गरिरहेको हुन्छ।
राष्ट्र बैंकमा केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा कारोबार सम्बन्धी हेर्ने छुट्टै विभाग नै छ। तर, नेपालमा विभिन्न देशहरुमार्फत् भइरहेको हुण्डी कारोबारको विषयमा भने राष्ट्र बैंकले त्यति धेरै चासो दिएर आफै हुण्डी रोक्नका लागि ठोस काम गरेको पाइन्दैन।
पछिल्लो समय सिआइबीले हुण्डीमार्फत् भएको वित्तीय अपराधको विषमा खर्बौ रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्धा दायर गरेको छ। राष्ट्र बैंकले पनि यस विषयमा चासो लिएर आफ्नो तबरले छुट्टै अध्ययन अनुसन्धान गर्नु पर्ने हो तर, हालसम्म सो भएको देखिन्दैन।
प्रहरीले हुण्डीमात्रै नभएर क्रिप्टो करेन्सी लगायत गैर कानुनी कारोबारको विषयमा अध्ययन अनुसन्धान गर्नका लागि अत्याधुनिक टेक्नोलोजिहरुको आवश्यकता पर्छ। नेपालमा त्यस प्रकारको प्रविधि र दक्ष जनशक्ति नेपालमा छैन। प्रहरीलाई आवश्यक पर्ने प्रविधि भित्र्याउँन सरकाले लगानी गर्नुपर्ने हुन्छ।
प्रहरी भनेको त्रिकालदर्शी त होइन भन्ने वित्तिकै अपराधी समात्नलाई, अपराधमा सम्लग्न व्यक्ति तथा गिरोहसँग अन्तराष्ट्रियस्तरको मोर्डन टेकनोलोजी हुन्छ तर, प्रहरीसँग हुँदैन, प्हरीसँग आवश्यक साधन स्रोत नभएको कारण क्षमता र आवश्यकताअनुसार काम गर्न सकेको छैन।
प्रहरीले जे पनि गर्न सक्छ वा गर्नै पर्छ भन्ने सोच विकास गर्नु अघि प्रहरीसँग अत्याधुनिक टेक्नोलोजी छ÷छैन भन्ने विषयपनि केलाउँन आवश्यक छ। प्रहरीसँग विस्तार हुँदै गएको प्रविधिलाई तादम्यहुने तथ्यांक मुल्यांकन गर्ने साधान स्रोत भएमात्रै फस्टाउँदै गएको वित्तीय अपराध रोक्न सक्छौं, अन्यथा पुरानो विधिबाटै काम गर्नु पर्ने हो भने अपराध रोक्न सक्न सकिँदैन। प्रहरीभन्दा अपराध गर्ने व्यक्ति प्रविधिमा १० गुणाले अघि बढिरहेका हुन्छन्।