पोखरा । एमजी मोटर्स, बेलायती कार उत्पादक कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु एमजी जेड एस र एमजी जेड एस इभी पोखरामा सार्वजनिक गरेको छ । उक्त उद्घाटन समारोह आज (माघ ३ गते) जोन्छे गु्रप अमरसिहं चोक पोखरामा भएको छ । यसका साथै जोन्छे ग्रुपले अत्याधुनिक सुबिधा सम्पन्न एमजी गाडीको सोरुमका साथै सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी ४९ लाख ९९ हजार सुरुवाती मुल्यमा उपलब्ध छ ।
एमजी जेड एस कारमा भएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम रहेको छ भने, यसको लम्बाई ४३१४ एमएम रहेको छ । यसको ह्वीलवेस २५८५ एमएम रहेको छ । यसमा ४८ लीटर क्षमताको फियुल ट्याङक दिइएको छ ।
पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन्, “एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक हो । बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ र नेपाली बजारबाट पनि निकै उत्साहजनक प्रतिक्रया पाइरहेको छ । हाम्रा दुईवटा उत्पादन एमजी जेडएस र एमजी जेडएस इभी पोखराका ग्राहकवर्गमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस र एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं ।”
जोन्छे ट्रेडर्स प्रा.लि.का प्रबन्ध निर्देशक नुरज बटाजुले भन्छन्, “एमजी विश्वकै एक अग्रणी अटोमोबाइल ब्राण्ड हो । एमजी गाडीहरुको बढ्ढो मागले हामीहरुलाई प्रतिक्षित विद्युतीय एसयूभी एमजी जेड एस इभी र जेड एस पोखराका ग्राहकहरुका लागि ल्याउन आकर्षित गर्यो ।”
एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । साथै नयाँ सोरुमबाटै चार थान एमजी इलेक्ट्रीक गाडी पनि ग्राहकलाई डेलिभरि पनि गरियो ।