काठमाडौं। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधार तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढीपहिरोबाट क्षति पुगेको पूर्वाधार तत्काल सञ्चालनका लागि निर्देशन दिएको हो।
समितिले क्षतिग्रस्त बिपि राजमार्गलगायत सबै राजमार्ग, सडक र पुलको यथाशिध्र मर्मत सम्भार गरी यातायात सुचारु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन निर्देशन दिएको छ।
‘वर्षात पछि आएको बाढी पहिरोबाट भएको क्षति पछि सरकारले गर्नुपर्ने उद्बार, वेपत्ताको खोजी, घाइतेको उपचार, राहत, पुनर्स्थापना र भौतिक पूर्वाधारहरुको पुनर्निमाणको कार्य तिब्र रुपमा अगाडि बढाउन र प्राकृतिक विपत्तिबाट धेरै क्षति हुन नदिन पूर्व तयारीका काम गर्न, विपि राजमार्गमा फसेका यातायात मजदुरहरु एवम् सर्वसाधारणको तत्काल उद्बार गर्न, मृतक र वेपत्ता व्यक्तिका परिवारलाई सरकारद्बारा प्रदान गरिने राहत र क्षतिपूर्ती दशैं अगाडि नै प्रदान गर्न, बाढी पहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरुको अस्थायी बसोबासको व्यवस्था सात दिन भित्र मिलाउन र घाइतेहरुको निशुल्क र शिध्र उपचार गर्न सरकारलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ।
समितिको बैठकले दशैंमा घर जाने यात्रुहरुलाई सरकारले सहजरुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरु मर्मत संभार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिनेपनि निर्णय गरेको छ।
समितिको बैठकले मध्य भोटेकोशी जलविद्युत आयोजनामा ट्रान्समिसन लाइन विस्तारका बेला स्थानीयको अवरोध र त्यस पछि भएको सहमतिमा प्रभावित क्षेत्र बाहिर गएर कानून विपरित आर्थिक भुक्तानी दिने सहमती बारे के भएको हो सोको यथार्थ विवरण मन्त्रालयसँग माग गर्ने पनि निर्णय गरेको छ।
यस्तै, कुलेखानी जलविद्युत आयोजनाको ड्यामको पानी खोलेका कारण पुगेको क्षती र आगामी दिनमा अपनाउनु पर्ने सजगताका सम्बन्धमा अध्ययन समिति गठन गरी कार्य प्रारम्भ भएको मितिबाट एक महिनामा पूर्वाधार विकास समितिलाई प्रतिवेदन पेस गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।
याे पनि पढ्नुहाेस्