क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो वर्षको विजयादशमी अर्थात् बडादसैं असोज १७ देखि सुरु भएको छ। यस दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बडादसैंको पहिलो दिन नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ जमरा रोप्ने गरिन्छ। ९ दिन ९ दुर्गाको पूजाआराधना गरी मनाइने वर्षको दसैं टीकाको शुभसाइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
सहकारी ठगी मुद्दाका आरोपी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराइएको छ। असोज ११ मा भारतको नयाँदिल्लीमा पक्राउ परेर नेपाल ल्याइएका ढोरपाटनका मेयरसमेत रहेका नेपालीलाई असोज १४ मा अदालतमा बयानका लागि उपस्थित गराइएको हो। २०८० वैशाख ७ मा सहकारी बन्द गराएर जेठ ४ देखि बेपत्ता नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले डेढ अर्ब बढी रकम ठगेको दाबीसहित बचतकर्ताले जिल्ला अदालत बागुङमा उजुरी दिएका थिए।
भारतले नेपालमा सिलगढीदेखि झापाको चारआली र अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ। करिब १७ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि असोज १७ गते नेपाल आयल निगम (एनओसी)र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सम्झौता भएको हो। एनओसीबाट प्रबन्ध निर्देशक चण्डिका भट्ट र आईओसीका तर्फबाट पाइपलाइन आयोजनाका निर्देशक सेन्थल केआर एनले सम्झौतामा हस्ताक्षर गरे। सिलगढीदेखि झापाको चारआलीसम्मको पाइपलाइन बनाउँदा भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १५ किलोमिटर बन्नेछ। त्यस्तै, अमलेखगञ्जदेखि लोथरसम्म ६९ किलोमिटर पाइपलाइन बनाइने सम्झौता भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञा अवधि समाप्त भएपछि पनि स्वदेश नफर्किएका १५ बंगलादेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उनीहरु विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि तय भएको अन्तर्वार्ता तथा प्रस्तुतीकरण फेरि रोकिएको छ। अध्यक्ष छनोट तथा सिफारिस समितिले यसअघि अन्तर्वार्तामा सहभागी नभएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई असोज १८ मा मन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, छनोट तथा सिफारिस समिति संयोजक अनुपस्थित भएपछि अन्तर्वार्ता तथा प्रस्तुतीकरण रोकिएको हो।
चालू आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। गत आर्थिक वर्षमा ३.९ प्रतिशत थियो। विश्व बैंकले असोज १६ मा सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत प्रक्षेपण गरेको हो। नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान विश्व बैंकको छ। केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानका कारण आर्थिक वृद्धिमा सघाउ पुग्ने प्रक्षेपण गरिएको छ।
बाढीपहिरोमा परेर २३९ जनाको मृत्यु र १९ बेपत्ता भएको पछिल्लो विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ। असोज १८ मा सार्वजनिक विवरणअनुसार बाढीपहिरोमा परेर १७७ जना घाइते भएका छन् भने १७ हजार १३१ जनाको उद्धार भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। असोज १०–१२ सम्मको निरन्तर झरीपछि आएको बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारी पूर्वानुमान छ। बाढीपहिरोले २१ जिल्ला प्रभावित हुनुका साथै सबैभन्दा बढी कृषिमा ६ अर्ब बराबरको क्षति भएको छ। यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब, सिँचाइमा १ अर्ब क्षतिको प्रारम्भिक अनुमान सरकारको छ।
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाशमा गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने भएका हुन्। असोज १७ मा प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो। राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ।
नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ। तीन वर्षदेखि भारतमा विद्युत् निर्यात गर्दै आएको नेपालले असोज १७ मा त्रिदेशीय सम्झौता गरेसँगै बंगलादेशमा बिजुली बेच्ने बाटो खुलेको हो। असोज १७ मा भएको सम्झौताअनुसार बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ। विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा अर्थात् ६.४० अमेरिकी सेन्टका दरले बीपीडीबीलाई विद्युत् निर्यात गर्नेछ। सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत रेनु नारंग र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहम्मद रेजुल करिमले हस्ताक्षर गरे।
यो साता सेयर बजारमा ११० अंकले बढेको छ। साताको चार कारोबार दिनमा दुई दिन घटेर दुई दिन बढ्दा सेयर बजार ११० अंकले बढेर २५९७.४९ बिन्दुमा सीमित भएको छ। गत साताको पाँच कारोबार दिनमा तीन दिन बढी दुई दिन घट्दा ९० अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४८६.७६ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल २१ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता नेप्सेमा २५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।