काठमाडौं। नेपालका लागि ओमोडा एन्ड जेइको कम्पनीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले ‘जेइको जेसिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडा ई५ का १०० युनिट डेलिभरी एकै दिनमा गरेको छ।
पूर्ण रूपमा विद्युतीय जेइको जेसिक्स नेपालकै पहिलो अफ–रोड इलेक्ट्रिक एसयूभी हो। यसले आफ्नो पावर, पर्फर्मेन्स र आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयमै नेपाली ग्राहकलाई प्रभावित गर्न सफल भएको छ।
नाडा अटो शोमा सार्वजनिक गरिएको गाडीलाई अफ–रोड ड्राइभिङका लागि विशेष आकर्षण मानिएको छ। गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जमा गाडीको उत्कृष्ट अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गरिएको कम्पनीले जनाएको छ।
ओमोडा ई५ ले सार्वजनिक भएको केही महिनामै लोकप्रियता हासिल गरेको छ। यो गाडी फ्युचरिस्टिक एसयूभी डिजाइनमा आधारित छ। ओमोडा ई५ डिएलएक्स, ओमोडा ई५ लक्सको कम संस्करण हो।
जेइको जेसिक्सले नेपालका चुनौतीपूर्ण भूभागलाई ध्यानमा राखी डिजाइन गरिएको छ। यसमा २७१५ मिलिमिटरको ह्वीलबेस, १८ (वा १९) इन्चको ह्वील र २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ। पाँच जना यात्रु क्षमतायुक्त यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ देखि १२ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम, र इजी–क्लिनिङ इन्टेरियर छन्। सुरक्षा सुविधामा ३६० डिग्री क्यामेरा, एयरब्याग र डे एन्ड नाइट रियर भ्यु मिरर पनि समावेश छन्।
जेइको जेसिक्स दुई भेरियन्टमा उपलब्ध छ– २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको पावर दिने डुअल मोटर तथा १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको पावर दिने सिंगल मोटर भेरियन्ट। गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.५ सेकेन्डमा लिन सक्छ।
एलएफपी ब्याट्रीले ५०१ किलोमिटरको रेन्ज दिन्छ भने ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
एसपिजी अटोमोबाइल्सले विद्युतीय गाडीमा रुचि राख्ने तथा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई थापाथलीमा रहेको सोरुममा जेइको जेसिक्स नजिकबाट अनुभव गर्न निम्तो दिएको छ।