काठमाडौं। सांसदहरुले बाढी पिडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको गुनासो गरेका छन्। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा सांसदहरुले पूर्व सूचना हुँदा पनि सरकारले सो अनुरुपको तयारी र काम गर्न नसकेको गुनासो गरेका हुन्।
बैठकमा सांसद प्रतिमा गौतमले सरकारले बढीपहिरो आउँदैछ भनेर सूचना दिएर चुप बसेको बताइन्, ‘सरकारले सूचना दिँदैमा सबै काम सकिएको जस्तो व्यवहार देखायो। उदयपुर–खोटाङ जोड्ने फोक्सिङ्टारको पुल सञ्चालन भएको २ वर्षमै बगाएको छ,’ उनले भनिन्, ‘निर्माण सामाग्री वा हाम्रो डिजाइनमा समस्या के हो? यसलाई पनि हेर्नुपर्ने हुन्छ।’
पूर्व भौतिक मन्त्री एवं सांसद प्रकाश ज्वालाले पनि मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दा पनि सरकार आफूले गर्ने पूर्व तयारीमा चुकेको बताए। ‘भौतिक मन्त्रालयले पनि आफ्नो पूर्व तयारी र अहिलेको सडक मर्मत गर्न सकेन, नियमित काम मात्रै भयो,’ उनले भने, ‘ बिपीमा अड्किएका सवारी मात्रै होइन मान्छेको उद्घार गर्न सरकारले प्रभावकारी काम गर्न सकेको छैन।’
सांसद निशा डाँगीले जनताले सरकार भएको महसुस गर्न नपाएको बताइन्। उनले अहिलेसम्म राज्यले राहत र उद्धारको काम गर्न नसकेको गुनासो गरिन्। ‘विपद आउँछ भनेर थाहा हुँदाहुँदै भौतिक मन्त्रालयले पूर्व तयारीको एउटा मात्रै के काम गर्यो? जहिले विपदपछि मात्रै यस्तो गर्दैछौं, त्यस्तो गर्दैछौं भन्ने आउँछ,’ उनले भनिन्, ‘बिपी राजमार्ग खोल्न नसक्नुको कारण मन्त्रालयले स्पष्ट पार्नुपर्छ।’
सांसद प्रेम महर्जनले यो वर्षको दसैं जहाँ छौं त्यही बसेर बनाउन सूचना जारी गर्नुपर्ने बताए। अर्का सांसद उर्मिला माझीले प्रधानमन्त्री विपद्को समयमा तत्कालै स्वदेश नफर्किएर गैरजिम्मेवारीपन देखिएको बताएन्।