काठमाडौं। असोज १०–१२ सम्म निरन्तरको वर्षापछिको बाढीपहिरोले पूर्वी र मध्य पहाडलाई काठमाडौं जोड्ने बिपी राजमार्गमा रोशी खोलाले बगाएको खण्डको क्षति (वास आउट) अनुमान गर्न सकिएको छैन। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकले संयुक्त रुपमा हेलिकोप्टरबाट गरेको अनुगमनमा १२ किलोमिटर बिपी राजमार्ग वासअणउट भएको अनुमान गरिए पनि क्षति अनुमान गर्न नसकिएको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा बताए।
यद्यपि सडकमा हिँडेर ननापिएकाले भत्किएको सडकको लम्बाइ घटबढ हुन सक्ने उनको भनाइ छ। ‘बिपी राजमार्ग काभ्रेको चौकीडाँडा–कालढुंगा खण्डका विभिन्न ठाउँमा गरी १२ किमि सडक वास आउट भएको अनुमान छ, जसको असरले १८ किमि सडकमा सवारी चलाउन नमिल्ने देखिन्छ’ सचिव शर्माले भने। दसैंअघि अस्थायी रुपमा सडक सञ्चालन गर्न नसकिने पनि मन्त्रालयले जनाएको छ।
यद्यपि अस्थायी रुपमा सडक सञ्चालन गरी भत्किएको सडक क्षेत्रमा फसेका सवारी साधनलाई उद्धारको काम निरन्तर हुनेछ। बिहीबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दसैंमा अस्थायी सडक सञ्चालन गर्न सकिँदै भन्नुको अर्थ काम बन्द गर्ने होइन। अहिलेलाई पहिलो प्राथमिकता त्यहाँ फसेका सवारी निकाल्ने हो।’ सडक वास आउट भएको ठाउँमा भित्तो खनेर, माटोले पुरेर बनाउन सक्ने अवस्था नदेखिएकाले बिपी सडक मर्मत सहज छैन। हेलिकोप्टरबाट देखिएको दृश्यअनुसार बिपी राजमार्गमा ३ सय बढी सवारी साधान फसेका छन्।
त्यस्तै स्थलगत रुपमा अध्ययन नगरी, कस्तो सडक निर्माण गर्ने योजना नबनाइ बिपी राजमार्ग मर्मतको लागत अनुमानसमेत गर्न नसकिने सचिव शर्मा बताउँछन्। क्यापिटल नेपालसँग उनले भने, ‘हेलिकोप्टरबाट हेरेर हामीले भत्किएको सडकको अनुगमन मात्रै गरेका हौं, नापेर आधिकारिक नएसम्म क्षति र लागत रकमको विषयमा भन्न सकिदैन।’
अहिलेको अवस्थामा अस्थायी र स्थायी रुपमा बिपी राजमार्ग सञ्चालन गर्न सकिने समय पनि एकिन नभएको सचिव शर्माको भनाइ छ। स्थायी सडक बनाउन ठेक्का आह्वान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा एउटा ठेक्का आह्वान गर्दा ३० दिनको समय राख्नुपर्छ। त्यसबाहेक मूल्यांकन र ठेक्का सम्झौताको प्रक्रियामा करिब १५ दिन गरेर ४५ दिन जति सडक नयाँ ठेक्काले समय लिन्छ।
२० अर्ब जापानी येनमा बनेको बिपी २ पटक क्षति
जापान सरकारले अनुदान सहयोगमा निर्माण गरी २०७२ मा निर्माण सम्पन्न गरेको थियो। सन् १९९६ मा सुरु गरेर सन् २०१५ मा निर्माण सम्पन्न भएको केही समय बित्न नपाउँदै २०७२ सालको भुकम्पले राजमार्गमा क्षति पुर्याएको थियो। तत्कालीन मूल्यअनुसार २० अर्ब जापानिज येनमा तयार भएको बिपी राजमार्ग मर्मत गर्न पनि उसैले आवश्यक रकम र प्राविधिक सहयोग गरेको थियो।
काभ्रेको धुलिखेलबाट सिन्धुली हुँदै वर्दिबाससम्म बिपी राजमार्गको लम्बाइ १६० किलोमिटर छ। यसमध्ये २०७२ को भुकम्पले राजमार्गको विभिन्न पाँच ठाउँको सडकमा क्षति पुगेको थियो। फेरि २०८१ असोज ११ र १२ मा परेको अविरल वर्षका कारण दोस्रो पटक पनि बिपी राजमार्गलाई अकल्पनिय क्षति पुर्याको भोतिक मन्त्रालयले जनाएको छ।
बिपी मर्मत गर्न जापानलाई आग्रह गर्ला नेपालले?
अनुदान सहयोगमा निर्माण गरेको राजमार्ग भएकाले बिपीमा जापानको दायित्व अब केही नहुने सरकारका पूर्व सचिव (इन्जिनियर) अर्जुनजंग थापा बताउँछन्। ‘बिपी राजमार्गमा जापानको अब केही दायित्व हुँदैन तर, नेपाल सरकारले मर्मतका लागि आवश्यक सहोग माग्न मिल्छ’, पूर्वसचिव थापा भन्छन्, ‘सहयोग गर्ने/नगर्ने उसको कुरा हो।’
तर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा अहिले जापान सरकारसँग सहयोग माग्नेनमाग्ने विषयमा जवाफ नदिने बताउँछन्। ‘कूटनीतिक विषयमा त्यसै बोल्नु उचित हुँदैन। अहिले हामी अस्थायी ममर्त र फसेका सवारी उद्धारमै केन्द्रित छौं’, सचिव शर्माले भने।