पोखरा। मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एयर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनपारखीको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।
कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एयर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सरांकट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ।
कम्पनीले हाल २ वटा बेलुन उडाउँदै आएको छ। स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउनेछन्।
पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए। उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ। बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एयर बेलुनमा उड्न सक्नेछन्।
कम्पनीले ९एन(एएमडब्लु कलसाइनको बेलुनमा पाइलटबाहेक ८ जना र ९ एनभी कलसाइनको बेलुनमा पाइलटबाहेक एक पटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ।
बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकिय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजनासमेत गर्दै छ।
कति लाग्छ शुल्क
हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ। यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क छ।
उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुर्इतर्फी यातायात सुविधा, फोटोरभिडियो र प्रमाणपत्रसमेत पाइन्छ। पर्यटकले बलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधासमेत रहेको छ।
के ख्याल गर्ने
हट एयर बेलुनमा उड्न जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ। यसबाहेक हिल भएको जुत्ता वा अन्य जुत्ताभन्दा स्पोर्ट्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ।