काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि यसअघि सहभागी नभएका तीन जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुँदै छ। शुक्रबार बिहान ८ बजेबाट अर्थ मन्त्रालयमा सुरु भएको अन्तर्वार्तामा यसअघि सहभागी नभएका बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की तीनै जना सहभागी छन्।
सरकारले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागि नभएका तीन आकांक्षीलाई पुनः अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको थियो। पहिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको हकमा भने पहिलोको प्रस्तुतीकरणलाई नै यथावत् गरेर सहभागी नभएकालाई बोलाइएको हो।
२०८० फागुन १५ मा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि १५ दिन (फागुन ३० सम्म) को समय दिएर आवेदन मागेको थियो, जुन अवधिमा १९ जनाको आवेदन परेको थियो। उक्त आवेदकमध्येबाट सेबोनका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र व्यवसायी सन्तोषनारायण श्रेष्ठ ‘सर्टलिस्ट’मा परेका थिए।
यसपछि, चैत २५ मा सर्टलिस्ट गरिएका व्यक्तिलाई असार २ मा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको थियो। तर, अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै सहभागि भए। सिफारिस समितीले अरु प्रतिस्पर्धीलाई सहभागी गराउन असार ५ मा पुनः बोलाइए पनि कोही पनि सहभागि भएनन्।
सर्टलिस्टमा परेका तीन सहभागी नभएपछि छनोट समितिले महान्यायधिवक्ताको राय लिएर नियुक्ति प्रक्रिया रद्ध ग¥यो। तर, अन्तर्वार्तामा सहभागी सन्तोष नारायण छनोट समितिको निर्णयविरुद्ध सर्वोच्च अदालत गए। सर्वोच्चले पनि असार १८ गते बोर्डको अध्यक्ष नियुक्ति प्रत्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दियो। मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ। तर, अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाउन पहिला सहभागि नभएकालाई फेरि अन्तर्वार्तामा बोलाइएको हो।