काठमाडौं। नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ। तीन वर्षदेखि भारतमा विद्युत् निर्यात गर्दै आएको नेपालले त्रिदेशीय सम्झौतापछि बंगलादेशमा बिजुली बेच्ने बाटो खुलेको हो।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच त्रिपक्षीय ऊर्जा सम्झौता भएको हो। पहिलो चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ।
विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा अर्थात् ६.४० अमेरिकी सेन्टका दरले बीपीडीबीलाई विद्युत् निर्यात गर्ने भएको हो। तर, विद्युत् बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ।
नेपालले भारतको मुजफ्फरपुरमा विद्युत् मिटर राख्नेछ भने बंगलादेशमा भएको निर्यात रेकर्ड त्यहीँ रहनेछ।
मुजफ्फरपुरसम्मको प्राविधिक नोक्सानी नेपालले बेहोर्नेछ भने त्यहाँबाट बंगलादेश सीमासम्मको नोक्सानी बंगलादेशले बेहोर्नेछ। बंगलादेशले नेपालबाट विद्युत् लैजाँदा प्रयोग गर्ने एनभीभीएनको प्रसारण लाइनबापत ह्विलिङ चार्ज बीपीडीबीले तिर्नेछ।
सम्झौतमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेनु नारंगले हस्ताक्षर गरे।
त्यस अवसरमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थिति थियो।
पहिलो चरणमा ५ वर्षसम्म विद्युत् निर्यात सम्झौता भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुँदा वार्षिक करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर प्राप्त हुनेछ।
यसअघि नेपाल, भारत र बंगलादेशले सुनकोसी–३ आयोजना त्रिदेशी लगानीमा निर्माण गर्ने सहमति जुटाएका थिए।