काठमाडौं। साता दिनअघिको ठूलो वर्षापछि मुलुकका विभिन्न भागमा गएको बाढीपहिरोमा पुरिएका सार्वजनिक एवं निजी गाडी मर्मतमा सम्बन्धित अटो कम्पनीले अग्रसरता देखाएका छन्। बाढीपहिरो र पानीमा पुरिएका गाडी सर्भिस सेन्टरसम्म पुर्याउने एवं आवश्यक मर्मतसमेत कम्पनीले निःशुल्क गरिदिन थालेका छन्।
नेपालमा टोयोटा ब्रान्डका गाडी बिक्री गर्दै आएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले बाढीमा परेर क्षति भएका टोयोटा ब्रान्डका गाडीको निःशुल्क मर्मत गर्ने जनाएको छ। कम्पनीले टोयोटा ब्रान्डका गाडी कति क्षति भए भनेर डाटा संकलन गर्न जनशक्ति खटाएको प्रशान्त खत्रिले जानकारी दिए। ‘टोयोटा ब्रान्डका गाडी कति क्षति भए भनेर कम्पनीले बिपी राजमार्ग र पृथ्वी राजमार्गमा दुई जना जनशक्ति खटाएको छ,’ उनले भने, ‘उनीहरुले फिल्डमा गई कति गाडी बिग्रिए डाटा संकलन गरी बनाउन काठमाडौं ल्याउनेछन्।’
उनका अनुसार अहिलेसम्म टोयोटा ब्रान्डको १० वटा गाडी मर्मतका लागि वर्कसपमा ल्याइएको छ। कम्पनीले टोयोटा ब्रान्डका बिग्रिएको गाडी ग्राहक आफंैले ल्याउने वा कम्पनीमा खबर भए कम्पनीले आफैं ल्याई गाडीको निःशुल्क मर्मत गरिदिनेछ। बाढीमा परेको गाडीमा जुनसुकै समस्या आए पनि त्यसको अवस्था हेरी कम्पनीले निःशुल्क मर्मत गर्नेछ।
नेपालमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनका ब्रान्ड धेरै छन्। बाढीपहिरो तथा डुबानमा परी ईभी र इन्जिन दुवै सवारीसाधन क्षति भएका छन्। होन्डा ब्रान्डको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले बाढीले क्षति पु¥याएका होन्डाका दुईपांग्रे सवारीसाधन निःशुल्क मर्मत गर्ने घोषणा गरेको छ। अहिलेसम्म होन्डा ब्रान्डका दुईपांग्रे ४५ वटा बाइक तथा स्कुटर मर्मतका लागि आएको कम्पनीले जनाएको छ।
हालैको बाढीपहिरोबाट होन्डा ब्रान्डका बाइक तथा स्कुटरमा आएको समस्यालाई कम्पनीले निःशुल्क बनाउने कम्पनीका सहायक प्रबन्धक इन्द्र घर्ती मगरले बताए।
‘बाढीपहिरोले नचल्ने भएर बिग्रिएका होन्डा ब्रान्डका दुईपांग्रे इन्जिन सवारीसाधन निःशुल्क मर्मत गर्ने घोषणा हामीले गरेका छौं,’ उनले भने, ‘होन्डा ब्रान्डका स्टार्ट नहुने गरी बिग्रिएका बाइक तथा स्कुटरको आवश्यक पार्टससहित निःशुल्क मर्मत हुन्छ।’ होन्डाको बाढीबाट क्षति भएका बाइक तथा स्कुटर बिग्रिएको छ भने ग्राहक आफैंले होन्डा वर्कसपमा लग्नुपर्नेछ।
होन्डाको यस निःशुल्क सर्भिसअन्तर्गत सिलिन्डर, स्टन, कनेक्टिङ रड, रकराम, इन्जिन बियरिङसलगायतका इन्जिन सेट बिग्रिए निःशुल्क बनाउने कम्पनीले जनाएको छ।
पारामाउन्ट मोर्टसका प्रबन्ध निर्देशक शिरिश मुरारकाले अहिलेसम्म २० वटा गाडी मर्मतका लागि सम्पर्कमा आएको बताए। ती गाडीलाई सर्भिस सेन्टरसम्म ल्याउने र मर्मतसम्भार पनि निःशुल्क गरिरहेको जानकारी दिए। कतिपय सामान बिमाबाटै रकम भुक्तानी हुने भएकाले दाबीका लागि पेस गर्ने बताउँदै उपभोक्तालाई कुनै समस्या हुन नदिने गरी कम्पनीले काम गरिरहेको उनको भनाइ छ।
अमेरिकन ब्रान्ड फोर्डको गाडीको आधिकारीक वितरक रहेको गोल्छा अर्गनाइजेसनअन्तर्गतको जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले हालसम्म २४ वटा गाडी मर्मतका लागि ल्याइसकेको जानकारी दिए।
गाडीको बिमा रहेकाले मर्मतमा लाग्ने शुल्क छुट दिएर काम गरिरहेको बताए। बिमाले कभर नगर्ने सामानमा विशेष छुट दिएर मर्मत गरी ग्राहकलाई दिन लागिएको उनको भनाइ छ। अहिले धेरै गाडी आएकाले मर्मतसम्भार भ्याईनभ्याई रहेको उनको धारणा छ।