काठमाडौं। असोज १०–१२ सम्म परेको ठूलो वर्षाका कारण देशभरिका राजमार्गमा क्षति पुगेपछि नजिकिएको चाडवाडमा यात्रा गर्न वैकल्पिक सडकको खोजी भइरहेको छ। विशेषगरी संघीय राजधानी काठमाडौंबाट मध्य तथा पूर्वी नेपाल जोड्ने बिपी राजमार्ग पूर्ण रुपमा बन्द हुँदा र पश्चिम नेपालको लाइफलाइन काठमाडौं–मुग्लिन राजमार्ग बेलाबेला ठाउँठाउँमा अवरोध भइरहँदा देशभरिको यातायात सेवा प्रभावित भएको छ।
सोही कारण अहिले सबैको ध्यान काठमाडौंबाट हेटौंडासम्मको यात्रा गर्न सके नेपालको पूर्वी, मध्य र पश्चिम अर्थात् देशभरि पुग्न सकिनेतर्फ केन्द्रित छ। काठमाडौंबाट हेटौंडा जाने ६ वटा सडक मार्ग छन्। यी मार्ग संघ र प्रदेश सरकार मातहत छन्।
गणेशमान सिंह मार्ग (कुलेखानी–हेटाैंडा) अर्थात् चित्लाङको बाटो, ललितपुरको साद्दोबाटो हुँदै हेटौंडा जाने कान्ति लोकपथ, काठमाडौं–नारायाणघाट–हेटौंडा (पृथ्वीराजमार्ग), निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) संघ सरकारको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयबाट सञ्चालनमा छन्। त्यस्तै बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयमार्फत दक्षिणकाली–सिस्नेरी–हेटौंडा र मातातिर्थ–हेटौंडा सडक पर्छन्।
कुन सडकको अवस्था कस्तो?
संघीय सरकार मातहतको काठमाडौंबाट हेटौंडा जोड्ने गणेशमान सिंह मार्ग (कुलेखानी–हेटाैंडा) अर्थात् चित्लाङको बाटो अहिले सवारी सञ्चालनमा छन्। सडक विभागको मर्मत महाशाखा प्रमुख एवं विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार चित्लाङको बाटो भएर अहिले सवारी सञ्चालन भइरहेका छन्। त्यस्तै त्रिभुवन राजपथबाट नागढुंगा–नौबीसे हुँदै बाइरोडबाट पनि हेटौंडा पुग्न सकिन्छ।
तर, ललितपुरको सातदोबाटो हुँदै हेटौंडा जाने कान्ति लोकपथ दसैंसम्म सञ्चालनमा ल्याउने प्रयास विभागले गरेको उपमहानिर्देशक अर्याल बताउँछन्। कान्ति लोकपथको मकवानपुर र ललितपुर सीमामा पर्ने बागमती खोलाको पुल बाढीले बगाएपछि हाल कान्ति लोकपथ पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको हो। ‘दसैंअघि कान्ति लोकपथ खुलाउन बेलीब्रिज राख्न सकिन्छ कि भनेर अध्ययन गर्दै छौं। हेटौंडाबाट बागमती पुलसम्म ठूला बस आइरहेका छन्। पुल भए त्यहाँ अरु समस्या छैन,’ उपमहानिर्देशक अर्यालले भने।
कान्ति राजपथ संघीय र दक्षिणकाली–छैमले–सिस्नेरी–हेटौंडा प्रदेश सरकारले हेरिहेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन्। ‘प्रदेश र संघ दुवै सरकार मिलेर काम गरिरहेका छौं। हेटौंडा निस्किने दुवै राजमार्ग शनिबारसम्म सञ्चालन गर्न सकिने अनुमान छ,’ सचिव शर्माले भने। संघले आवश्यकताअनुसार प्रदेश सरकारलाई औजार दिएर सहयोग गरिरहेको छ।
त्यस्तै काठमाडौंबाट हेटौंडा जान पृथ्वी राजमार्ग प्रयोग गर्न सकिन्छ। पृथ्वी राजमार्गमा पर्ने काठमाडौं–नारायणगढ–हेटौंडा सडक अहिले सञ्चालन छ। यद्यपि बेलाबेला स–साना पहिरोका कारण यात्रा सहज छैन।
त्यसबाहेक संघ अर्थात् नेपाली नेपालले जिम्मेवारी लिएर निर्माण गरिरहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) बाट पनि काठमाडौं–हेटौंडा जोडिन्छ। यद्यपि फास्ट ट्रयाक निर्माण नसकिएकाले तत्काल प्रयोग गर्न मिल्दैन। २०८३ चैतसम्म म्याद रहेको फास्ट ट्रयाक निर्माणपछि सबैभन्दा छोटो बाटोका रुपमा प्रयोगमा आउनेछ।
उता, प्रदेश सरकार मातहतका २ वटा सडक हाल बन्द रहेको बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) चन्द्र भट्ट बताउँछन्। सिडिई भट्टकका अनुसार दक्षिणकाली–सिस्नेरी–हेटौंडा जोड्ने सडकमा कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा असर परेको हो।
जलविद्युत् आयोजनाको ड्यामले सिस्नेरी बजार क्षेत्रमा असर परेकाले अहिले सडक बन्द छ। यद्यपि सिस्नेरी बजार पारितर्फको सडकलाई प्रयोगमा ल्याएर दसैंका लागि अस्थायी यातायात चलाउन लागिएको उनको भनाइ छ। ‘सिस्नेरी क्षेत्रमा पहिला चलेको सडक तत्काल सञ्चालन गर्न सकिने देखिएन। पारितर्फबाट दसैंसम्म चलाउन सकिन्छ होला,’ सिडिई भट्टले भने।
प्रदेश सरकारकै जिम्मेवारीमा रहेको मातातीर्थ–हेटौंडा सडक भने दसैंअघि चल्ने सम्भावना कम रहेको उनको भनाइ छ। पनि प्रदेशले हेर्छ। मातातिर्थ–हेटौंडा सडकको धेरै ठाउँमा साना ठूला पहिरो गएकाले दसैंसम्म सडक खुल्ने सम्भावना कम भएको हो।
दक्षिणकाली–सिस्नेरी–हेटौंडा सडक बागमती प्रदेश मातहतबाट सञ्चलनमा छ। तर, उक्त सडकमा पर्ने सिस्नेरी बजार नै बाढीले बगाएपछि सडक सञ्चालन गर्न सहज नभएको दामन–पालुङ सडक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। सोही बाटो हुँदै तराई जान सकिन्छ।
दसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दैनिक बढ्दो छ। तर, असोज साताअघिको अत्यधिक वर्षाले उपत्यका र बाहिरी जिल्ला एवं सहरको सीधा सडक सञ्जाल टुटायो। यद्यपि सञ्चालनमा आएका केही राजमार्ग पनि एकतर्फी सवारी चलाउन मिलेको छ भने स–सानो पहिरोले कतिबेला राजमार्ग बन्द हुन्छन् बसैसँग जवाफ छैन।
यो वर्षको दसैंमा १५ लाख बढी मानिसले उपत्यका छाड्ने अनुमान सरकारको थियो। बाढीपहिरोले अवरोध गरेपछि उक्त संख्या घट्न सक्ला। तर, नेपालीको वर्षदिनमा आउने चाड मनाउन बाढीपहिरोको प्रवाह नगरी आफ्नो थातथलो फर्किनेको संख्या सामान्य दिनमा यात्रा गर्नेको भन्दा बढी हुन्छ।