काठमाडौं। नेपालीको मुख्य पर्व दसैं घटस्थापनासँगै सुरु भइसकेको छ। दसैं सुरु भएसँगै उपत्यकाबाट गाउँ जाने मानिसको संख्या बढ्दो छ। दसैंमा करिब २५ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिने प्रहरीको अनुमान छ। बिहीबारदेखि शनिबारसम्मको वर्षाका कारण क्षति पुगेका सडक बनाउने काम धमाधम चलिरहेको छ।
यस वर्षको दसैंमा आफूसँग भएको विद्युतीय सवारीसाधन (ईभी) लिएर गाउँ जाने सोच धेरैले बनाउनुभएको होला। तर, विद्युतीय सवारीसाधन गाउँ लिएर जाँदा बाटोमा केही समस्या आए के गर्ने भन्ने विषय उठ्छ। इन्धनबाट चल्ने सवारीसाधनका लागि राजमार्ग तथा ठाउँठाउँमा ग्यारेज सुविधा उपलब्ध छन्। ईभीको हकमा भने इन्धन सवारीजस्तो धेरै विकल्प उपलब्ध भइसकेका छैनन्।
पछिल्लो केही वर्षयता नेपाली बजारमा धेरै ब्रान्डका ईभी भित्रिएका छन्। नेपाली अटो बजारमा ८० प्रतिशत ईभी गाडीको व्यापार हुन थालिसकेको छ। त्यसैले पनि काठमाडौं उपत्यका तथा अन्य विभिन्न ठाउँबाट भनौं वा एक ठाउँबाट अर्को ठाउँमा ईभी लिएर हिँड्नेको संख्या स्वाभाविक रुपमा बढ्ने देखिन्छ। नेपालमा उल्लेख्य मात्रामा ईभी भित्रिएपनि सोअनुसारको पूर्वाधार नबनेको गुनासो यसै पनि उठिरहेको छ।
दसैं–तिहारमा एकैपटक धेरै मानिसले यात्रा गर्ने भएकाले पनि सीमित चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर आफैंमा चुनौतीपूर्ण छ। गाडी बिक्रेता कम्पनीले आफ्ना ब्रान्डका गाडीका लागि विभिन्न ठाउँमा चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर सञ्चालन गरे पनि यदि बाटोमै गाडी बिग्रियो भने के गर्ने भन्ने प्रश्न ईभी प्रयोगकर्तामा हुनु स्वाभाविकै हो। यात्रा क्रममा प्रयोगकर्तामा आईपर्ने यी र यस्ता समस्या समाधानका लागि ईभी ब्रान्डले पनि काम गरिरहेका छन्।
विभिन्न ब्रान्डले ग्राहक सुविधाका लागि २४ घन्टै सर्भिसिङ सुविधा दिँदै आएका छन्। चार्जिङ स्टेसन र सर्भिसिङ सुविधामा कतिपय ईभी कम्पनीले गतिलै काम गरेका छन्। यद्यपि, पर्याप्त हुन्छ÷हुँदैन भन्ने विषय हेर्न बाँकी छ। हाल एमएडब्लु वृद्धि अटोकर्पको देशभरि ५० वटा फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्। यसमा ४० किलोवाट र ६० किलोवाटको चार्ज उपलब्ध छन्।
यसबाहके एमएडब्लु वृद्धि अटोकर्पले यही वर्ष ८० ठाउँमा चार्जिङ प्वाइन्ट थप्ने योजना बनाएको एमएडब्लु वृद्धिका मार्केटिङ हेड रमेश दनेखुले जानकारी दिए। ‘हामीले आफ्ना ग्राहकलाई चार्जिङ नेटवर्क कहाँ, कति क्षमताका छन् जस्ता सबै कुराको जानकारी गराइसकेका छौं,’ दनेखुले भने, ‘कुनै पनि गाडी बाटोमा गएर विग्रियो भने त्यसको लागि २४ घण्टा नै हाम्रो सर्भिस खुला रहनेछ।’
यस्तै, बिवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले नेपालका मुख्य–मुख्य सहरमा बिवाईडीको सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट उपलब्ध छन्। साइमेक्स इंकले दसैंका लागि आफ्ना ग्राहकलाई सुविधा दिन २० वटा चार्जिङ प्वाइन्ट थप्ने योजना बनाएको बीवाइडीका सर्भिस हेड सुशील तण्डुकारले जानकारी दिए।
‘हामीले दसैंका लागि चार्जिङ स्टेशन थपेर ग्राहकलाई सुविधा दिने योजना बनाएका थियौं। तर, बाढी आएको कारण योजनाअनुरुप काम हुन सकेन,’ तण्डुकारले भने, ‘अहिले बिवाईडीको नेपालभरि ११ वटा सर्भिस सेन्टर र ३४ वटा डिसी फाष्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।’ साइमेक्स इंकले दसैंको लागि आफ्ना ग्राहकलाई सुविधा दिने उद्देश्यले २० वटा चार्जिङ स्टेसन थप्ने योजना बनाएको छ।
‘बिवाईडीको सेन्टर वर्कसपमा एउटा रोड साइड एसिस्टेन र टेक्निसियन राखिएको छ। बाटोमा समस्या आए उनीहरुले गाडी हेर्छन्,’ तण्डुकारले भने, ‘त्यसबाहेक कुनै गाडी बाटोमा बनाउन नै नसकिने अवस्थामा बिग्रियो भ्यान वर्कसपमै ल्याएर बनाउँछौं।’
नेपालका लागि एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सको नेपालभरि १२ वटा फाष्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्। पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्याल विगत वर्षमा पनि बाटोमा बिग्रिएका गाडी त्यही गएर बनाउने गरेको सुनाउँछन्। यस वर्ष पनि सो सुविधा दिइने उनले जानकारी दिए। ‘यात्राका क्रममा बाटोमा बिग्रिएका गाडीलाई हामीले नजिकैको जिल्लाबाट टेक्निसियनहरु पठाएर बनाउने काम गर्छौं,’ अर्यालले भने।
हुन त, ईभी प्रयोगकर्ता आफैंले पनि लामो दूरीको यात्रा गर्नुअगाडि आफ्नो सवारीसाधन राम्रोसँग देखाएर यात्रा गर्दा उत्तम हुन्छ। यात्रा गर्नु अगाडि आफू जान लागेको ठाउँमा कहाँकहाँ चार्जिङ स्टेसन, सर्भिस सेन्टर कहाँ छन्, बिग्रिए कसरी सम्पर्क भन्ने योजना र पूर्वतयारी गर्दा यात्रा सहज हुनेछ।