काठमाडौं। श्रमिक गन्तव्यको रुपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानी अवसर पनि खोजिरहेको बताएका छन्। नेपालको सूचना प्रविधि, औषधी उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवा, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताकोे रुचि देखिएको हो।
नेपाल–कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी र उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो।
कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो।
‘यहाँका लगानीकर्ता नेपालमा लगानी अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष अल थानीले भने, ‘हामी थप लगानीकर्तालाई पनि प्रोत्साहित गर्नेछौं।’
काउन्सिलको पहिलो अध्यक्षस्तरीय बठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति भएको छ। त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेको महासंघले जनाएको छ। आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको छ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानुनमा गरिएको सुधारले लगानी अवसर जुट्दै गएको बताए। उनले कतारका लगानीकर्तालाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायत क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरे।
कतार सरकारले आयोजना गरेको एसियन को–अपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता जनाए।