आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ। यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोहीअनुसार पूजा गर्ने गरिन्छ। यस दिनमा हामीले निकै पवित्रताका साथ माता भवानीको आराधनासँगै आश्विन शुक्ल प्रतिपदा अर्थात् नवरात्रको समयभरि शुद्ध भाव अनि शुद्ध विचार लिएर पहिलो दिनमा दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ।
एक कृत्य सूर्याेदय हुनुभन्दा पहिले सप्तमृतिकासहित शुद्ध भूमिबाट शुद्ध माटो लिएर आफ्नो घर, मन्दिर शक्तिपीठ र आफ्नै पूजाकोठाको कुनै शुद्ध स्थान/ठाउँमा जमरा उमार्न यव अर्थात् जौ छरिन्छ। जौ पृथ्वीको पहिलो अन्न, त्यसमाथि वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ। कतै–कतै सप्तधान्य पनि छर्ने चलन छ भने माता भगवतीलाई मन पर्ने वनस्पति र वैज्ञानिक दृष्टिमा पनि जौ महत्त्वपूर्ण भएकोले भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिएको हो। त्यसै दिनमा ईशान कोण अर्थात् पूर्व र उत्तरको मध्य भागतिर घट अर्थात् मूल कलशको स्थापना गरी सम्पूर्ण देवीदेवता सँगै विशेष गरी जगदम्बा शक्तिस्वरूपाको षोडश–उपचार ,पञ्च–उपचारसहित अनेकानेक द्रव्यादि– सहितले सत्त्व, रजस् ,तमस् गुणमा रहेर महाकाली, महालक्ष्मी ,महासरस्वती अर्थात् त्रिदेवी शक्तिस्वरूपा जगदम्बा दुर्गा भवानीको विशेष तरिकाबाट पूजा आराधना गर्ने गरिन्छ।
नौ दिनसम्म जगदम्बा दुर्गाको पूजा आराधना किन गरिन्छ? वैज्ञानिक एवं धार्मिक महत्त्व
दुर् अर्थात् नकारात्मक विचारसँगै नकारात्मक ऊर्जालाई, गा भनेको हटाई सद्बुद्धि प्रदान गर्ने भएकोले दुर्गा भनिएको हो । यो कुरा वर्तमान शिक्षा पद्धतिका अनुयायी अर्थात् भौतिकतालाई नै सर्वेसर्वा ठानी महत्त्व दिने आधुनिक समयका व्यक्तिहरूलाई विश्वास नलागे पनि नवरात्रको समय अत्यन्तै ऊर्जाशील एवम् साधनाका लागि विशेष हुन्छ। विशेषगरी यो नौ दिनसम्म महाकाली ,महालक्ष्मी, महासरस्वती अर्थात् सत्त्व ,रज् र तमस् गुणमा रहेर जगदम्बा दुर्गाको आराधना गरेर जगदम्बा शक्तिस्वरूपाबाट अनेकानेक अलौकिक शक्ति प्राप्त गरी सृष्टिको अस्तित्वमा रहेका सम्पूर्ण चराचर स्थावर जङ्गमसहित सजीव, निर्जीव सबै वस्तुको कल्याणार्थ जगदम्बा दुर्गाको आराधना विशेष रूपमा गर्ने गरिन्छ।
नौ अहोरात्रसम्म गरिने यस अनुष्ठानमा माता दुर्गाको भिन्नभिन्न स्वरूप आह्वान गरेर आराधना गर्ने गरिन्छ । नौ अहोरात्र काल, त्यसमा पनि रात्रीकालीन समयमा विशेष मानिन्छ यो समयमा । किनभने ध्यान साधना र विशेष प्रकारका सिद्धिहरू प्राप्त गर्न रातको समय महत्त्वपूर्ण हुन्छ । विभिन्न यज्ञ–अनुष्ठान, मन्त्र–जप, दुर्गा–पुजा, दुर्गा सप्तशती–पाठ, तान्त्र– सिद्धि आदिको लागि नवरात्रको समय राम्रो हुन्छ र नवरात्रमा शक्तिको उपासना हुने भएकाले र हाम्रो परम्परा र शास्त्रमा पनि देवीलाई शक्ति स्वरूपा मानिएकाले गर्दा नवरात्रमा देवी पूजा गर्ने गरिएको हो।
नवरात्र’ शब्दले नौ रात्र (रात) भन्ने जनाउँछ। यस समयमा शक्तिका नौ स्वरूपहरूको पूजा गरिन्छ। ’रात’ शब्दले सिद्धिलाई जनाउँछ। हाम्रा शास्त्र वेदपुराण र ऋषिमुनिहरूले दिनलाई भन्दा रातलाई बढी महत्त्व दिएका छन्। त्यसैले दीपावली, शिवरात्रि र नवरात्रिजस्ता चाड रातमा मनाउने परम्परा छ।
शास्त्रमा ४ नवरात्रको बारेमा भनिएको छ, जसमा २ हामीले विशेष रूपमा मान्ने गर्छाैं भने आषाढ र पुषमा आउने नवरात्रलाई गुप्त नवरात्र भनेर चिनिन्छ। चैत्र शुक्लपक्षमा हामीले रामनवमी भनेर मनाउने चैत्र नवरात्रको नवौँ दिन वा अन्तिम दिन हो। नेपालीहरूले विशेष गरेर शारदीय नवरात्र अर्थात् शरद् ऋतुको आश्विन शुक्लपक्षमा आउने नवरात्र र चैत्र शुक्लपक्षको नवरात्रलाई विशेष गरेर मनाउने परम्परा रहेको छ।
धर्मशास्त्रका अनुसार र ऋषिमुनिहरूको अनुसार भन्ने हो भने पनि प्रकृतिका धेरै अवरोध रातमा समाप्त हुन्छन् । दिनमा सबै तिर कोलाहल हुने र अशान्त अवस्थामा गरेका ध्यान ,साधना र जप सिद्धिका कुरामा विघ्नबाधा आउने भएकाले पनि रात्रीकालीन समय विशेष मानिन्छ। आधुनिक विज्ञान पनि यससँग सहमत छ। यदि दिनको समयमा आवाज निकाल्दा धेरै टाढा जादैँन, तर यदि रातमा आवाज गर्यो भने त्यो धेरै टाढा जान्छ। यसमा दिनमा हुने कोलाहल वा हल्लाबाहेक वैज्ञानिक तथ्य पनि छ कि दिनमा सूर्यको किरणले आवाजको तरंग र रेडियो तरंगलाई अगाडि बढ्नबाट रोक्दछ। रेडियो यसको एक जीवन्त उदाहरण हो। कम पावर भएका रेडियो स्टेसन दिनको समयमा अलिकति टाढा पनि राम्रोसँग सुन्न गाह्रो हुन्छ, तर त्यही रेडियो स्टेसन पनि सूर्यास्तपछि सजिलै सुन्न सकिन्छ।
वैज्ञानिक सिद्धान्त यो हो कि सूर्यको किरणले दिनको रेडियो तरंगलाई रोक्दछ, त्यस्तै मन्त्रको तरंगलाई पनि दिनमा सूर्यको किरणले गर्दा अवरोध खडा हुन्छ, यसैले ऋषिमुनिले दिनलाई भन्दा रातलाई अधिक महत्त्व दिएका छन्। यस वैज्ञानिक तथ्यलाई ध्यानमा राख्दै शक्तिका उपासकहरूले आफ्नो शक्तिशाली विचार वा मन्त्रतन्त्र, पूजापाठ आदिका तरंगलाई दृढ संकल्प र उच्च अवधारणाका साथ वातावरणमा पठाउँछन् भने सही समयमा सही विधिले गरेका छन् भने उनीहरूको उपलब्धि अर्थात् मनःकामना सिद्धि हुने निश्चित छ। नेपालीले शारदीय नवरात्र आश्विन शुक्ल नवरात्रलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन्। दुर्गा भवानीको आराधना गर्ने हो भने सबै विपददायक तरंग नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वाससहित वैज्ञानिक दृष्टिकोणबाट पनि अनुभव लिन सकिन्छ।
पौराणिक मान्यताअनुसार दसैं मान्ने परम्परा यसरी प्रारम्भ भएको देखिन्छ
महिषासुर नाम गरेको दैत्यको उत्पत्ति हुनु, सारा इन्द्रादि सकल देवतागणलाई त्यो दैत्यले दुःख दिनु र उसले ब्रह्मादि देवताबाट यस्तो वरदान पाएका हुनु कि उसको मृत्यु कसैबाट नभएर केवल शक्तिस्वरूपा जगदम्बाको हातबाट मात्र विनाश हुने वरदान प्राप्त गरेका हुनु। त्रिदेव अर्थात् ब्रह्मा, विष्णु , महेश्वर आदि देवता गणहरू जब महिषासुरको बधका लागि जगदम्बा शक्तिस्वरूपाको आह्वान पुकार गर्दछन् तबमात्र शक्तिस्वरूपाको प्रकट हुन्छ। सबैको आह्वान अनि पुकारले प्रकट भएकी देवीले नवौँ दिनको लडाइँपश्चात् दसौँ दिनमा महिषासुरको बध गरी भयभीत ब्रह्मादि सकल देवता गण समस्त चराचर जगत्को अनि मानवको रक्षा गरेको खुसियालीमा नौ दिनसम्म विशेष तरिकाबाट देवीको अनेकानेक स्वरूप, अनेकानेक नामले पूजा आराधना एवं आह्वान गरी यो पर्वको नवरात्र सकिएपछि दशमी तिथिलाई देवीले महिषासुरमाथि विजय प्राप्ति गरेको दिनमा आफ्नो मान्यजनबाट टीका, जमरा लगाउने र आशीर्वाद लिने गरिन्छ।
भारतमा भने लंकाको राजा रावणलाई रामले मारेको खुसियाली र अधर्मको पराजय र धर्मको विजय भएको सम्झना स्वरूप त्यस दिनदेखि विजया दशमी अर्थात् दशहराको नामले नौ अहोरात्रसम्म शुद्ध पवित्र रही, व्रत अनुष्ठानमा बसेर शक्तिस्वरूपा जगदम्बा माताको आराधना गर्ने चलन परम्परा रहेको छ । नेपालमा दसैँ , भारतमा दशहरा भने पनि नेपाल र भारतीय मूलका सनातनीहरूको भाव एउटै, चिन्तन एउटै भएपनि विधि प्रक्रिया भने फरक फरक पाउन सक्छौं यो नै हाम्रो सांस्कृतिक विविधता हो ।
कसरी मनाउने बडा दसैं?
नवरात्रमा दुर्गा भवानीको आरधना गर्ने परम्परा परापूर्व कालदेखि नै चल्दै आइरहेको हुँदा यसको रहस्य बुझ्नु त्यति नै आवश्यक हुन्छ, जति हामी श्रद्धा गर्दै आइरहेको छौ । दुर् भन्नाले नराम्रो र गा भन्नाले गति अथवा नराम्रा गति र विचारहरूलाई हटाउन पूजन गरिने देवीलाई दुर्गा भन्ने गरिन्छ । जसले हामी भित्र रहेका दुःस्वभाव, दुर्बुद्धि दुर्वचन आदिलाई हटाई सद्बुद्धि प्रदान गर्नुहुन्छ। उनै देवीलाई नवम दिवससम्म आराधना गरी दशमीका दिनमा विजयको प्रतीक टिका, जमरा लगाउने गर्दछौँ । कतिपय समाजले केवल बडा दसैँको मात्र महत्त्व सुनेका छन् र त्यो पनि सात्त्विक आराधना नभएर राजसी, तामसी पूजन गर्दछन्, जुन क्षणिक सुख र मनोरञ्जनमा मात्र सिमित हुनुका साथै उल्टो पाप कर्म गर्छन् । देवीलाई माता वा आमा भनिन्छ भने उहाँ हामी मानिसको मात्र नभई सम्पूर्ण प्राणीको आमा हुनुहुन्छ।