काठमाडौं। असोज १२ काे अविरल वर्षाका कारण सुनकोसी नदीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटकाे पुलमा नयाँ बेलीब्रिज जोडिने भएको छ। रामेछाप र दोलखालई तराई र काठमाडौं जोड्ने मुख्य सडक खुर्कोटमा असोज १२ मा बाढीले पुल बगाएपछि स्थानीयको दैनिकी सञ्चालनमा असर परिरहेको छ।
तत्काल पुल सञ्चालनको आवश्यकता रहेकाले अस्थायी आवागमनका लागि खुर्कोटमा बेलीब्रिज जोड्न लागिएको सडक विभागको पुल महाशाखा प्रमुख ललिजन खनाल बताउँछन्। ‘हामीले अरु केही हेरेनौं, खुर्कोटमा सवारी सञ्चालन अत्यावश्यक छ, त्यहाँ बेलिब्रिज जोड्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाएका छौं। स्थलगत अध्ययन गर्न बाँकी छ’, उनले भने।
छिट्टै पुल सञ्चालनका लागि महाशाखाले सडक विभाग, मन्त्रालय हुँदै नेपाली सेनालाई आग्रह गरेको छ। ‘सडक विभाग अक्षम होइन, अन्य धेरै ठाउँमा बेलिब्रिज जडान गर्दै आएको छ तर, हामीले काम गर्दा प्रक्रिया लामो हुन्छ।’ महाशाखा प्रमुख खनाल भन्छन्, ‘विभागले छिटो काम गर्दा पारदर्शितामा संका हुन सक्छ बरु सबैले विश्वास गरेको र आफ्नै जनशक्ति तथा सवारी साधन भएको सेनालाई जिम्मेवारी दिँदा, छोटो प्रक्रियाबाट काम गर्न मिल्छ भनेर हो।’
सडक विभागले उपलब्ध गराएको बेलिब्रिज खुर्कोटसम्म पुर्याउने (ढुवानी) तथा ब्रिज जोड्ने काम सेनाले गर्नेछ। सेनाले आफ्नै जनशक्ति र ढुवानी प्रयोग गर्दा खुर्कोटमा बेलिब्रिज जोड्न करिब १ करोड रुपैयाँ लाग्ने महशाखा प्रमुख खनाल बताउँछन्।
‘सामान्यतया एउटा बेलिब्रिज ढुवानीदेखि जोड्ने खर्चसहित गर्दा डेढ करोड बढी लागत हुन्छ।’ क्यापिटल नेपालसँग उनी भन्छन्, ‘सेनाले आफ्नै जनशक्ति र सवारी प्रयोग गर्दा खर्च घटेर करिब १ करोड रुपैयाँमा खुर्कोटको पुल जोडिन्छ होला।’
उनका अनुसार खुर्कोटमा बेलिब्रिज जोड्न अध्ययन गर्न थालिएको छ। यद्यपि नदीको बहाब अझै रहेकाले दसैंअघि सञ्चालन हुन्छ वा हुँदैन निश्चित छैन। ब्रेलीब्रिज जडानका लागि पुल महाशाखाले लेखेको पत्र सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको प्रधान कार्यालय (जंगीअड्डा) जानुपर्छ। तर, पुल जडानका लागि भौतिक मन्त्रालयले पठाएको पत्र रक्षा मन्त्रालयसम्म पुगेको छ। अर्थात् जंगीअड्डा पुगिसकेको छैन। रक्षा मन्त्रालयले सेनालाई पत्र पठाउने तयारी भइरहेको जनाएको छ।
विभागमा छन् १० बेलीब्रिज
पुल महाशाखा प्रमुख खनाल ५० मिटर लम्बाइका १० वटा बेलिब्रिज विभागसँग भएको बताउँछन्। ५० मिटर लम्बाइले गर्दा जुनसुकै स्थानमा बेलिब्रिज जडान गर्न मिल्दैन। खोला/नदीको दूरी हेरेर मात्रै ब्रिज जडान गर्न मिल्छ।
बेलीब्रिज पनि आरसिसी पुल भत्किएको ठाउँमा अस्थायी सवारी चलाउन आवश्यकताअनुसार जडान गर्न मिल्ने उनको भनाइ छ। तर, पुल निर्माण भइ सवारी चलेपनि निर्माण कम्पनीबाट पूर्ण रुपमा सरकारलाई स्वामित्व हस्तान्तरण नभएको अवस्थामा विभागले काम गर्न मिल्दैन।
एउटा उदाहरण उदयपुर र खोटाङ जोड्ने फोक्सङटार पुल हो। त्यहाँ सवारी चले पनि पुलको स्वामित्व निर्माण कम्पनीसँगै छ। अर्थात् कानुनी रुपमा सरकारले त्यो पुल मर्मत गर्न वा नयाँ बनाउन पाउँदैन।
कुनै पनि पूर्वाधार निर्माण गरेपछि निर्माण कम्पनीले नै ५ वर्षसम्म सो पूर्वाधार बिग्रिए वा क्षति भएका जिम्मेवारी लिनुपर्ने नियम हुन्छ। सोही नियमका कारण वर्तमान अवस्थामा सडक विभाग तथा पुल महाशाखाले फोक्सिङ्टारा बेलिब्रिज जडान गर्न नसक्ने महाशाखा प्रमुख खनालले बताए।
‘सर्वसाधारणलाई दुःख दिन हामीलाई पनि मन छैन तर, स्वामित्व हस्तान्तरण नभएसम्म फोक्सिङ्टारको पुललाई निर्माणाधीन मान्नुपर्छ त्यसैले तत्काल सरकारले काम गर्न मिल्दैन’ उनले भने।
कहाँ–कहाँ जोडिन्छ बेलीब्रिज
विभागसँग भएका १० वटा बेलीब्रिज देशभरिका सडकमा जोड्न मिल्दैन। सडक विभागले राष्ट्रिय राजमार्ग निर्माणको मुख्य जिम्मेवारी लिएकाले राष्ट्रिय सकडसञ्जालको यातायात प्रभावित भएको स्थानमा मात्रै उक्त पुल जोडिन्छन्।
खुर्कोटबाहेक अत्यावश्यक देखिएको अर्को स्थानको पहिचान गरिरहेको पुल महाशाखाले जनाएको छ। कुनै ठाउँको पुल बगाएको वा क्षति पुगेको छ तर, नजिकै अर्को पुल वा सडकबाट यात्रा गर्न नसकिने स्थानमा बेलिब्रिज जडान गर्ने महाशाखा प्रमुख खनालको भनाइ छ। साथै त्यस्ता अतयावश्यक ठाउँको पहिचान गरिरहेको बताइएको छ।
सडक विभागको तथ्यांकहनुसार २०८१ लागेपछि परेको वर्षाका कारण देशभरी कल्भर्ट, आरसिसी, बेलिब्रिज र स्टिल ट्रस्ट पुल गरी १६ पुल बगाएको एवं क्षति पुगेको छ। बेलीब्रिज जडान गर्नुको उद्देश्य अस्थायी रुपमा सवारी सञ्चालन गराउनु मात्रै हो। वर्खाको समय खोला÷नदिमा पानीको बहाब बढ्ने हुँदा निकाल्नुपर्ने हुन्छ। अर्थात्, हिउँदयाममा मात्रै बेलीब्रिजले काम गर्छ।