काठमाडौं। नेपालको उत्तरी छिमेक जोड्ने तातोपानी र रसुवागढी नाका पहिरोले पूर्ण रुपमा बन्द हुँदा चीनबाट आउने नयाँ विद्युतीय(ईभी)गाडी उपभोक्ताले दशैंमा नपाउने निश्चित भएको छ। नेपाल अटोमोबाइल एसोसिएसन अफ नेपाल(नाडा)ले आयोजना गरेको नाडा अटो शोमा बुकिङ भएका अधिकांश गाडीसमेत दसैंमा उपभोक्ताले पाउने सम्भावना न्यून हुँदै गएको हो।
धेरै ग्राहकले दसैं अवसरमा नयाँ गाडी खरिद गर्ने गरेका छन्। गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षाले चीनसँगको सम्पर्क जोड्ने तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि दसैं अगाडि सामान आउने सम्भावना नरहेको हो।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले चीन जोड्ने सडक पूर्ण रुपमा क्षति भएकाले दसैं अगाडि खुल्ने सम्भावना नरहेको बताए। भन्सार कार्यालयदेखि चीनियाँ नाकासम्म मात्र तीन ठाउँमा पहिरो गएको र तत्कालै बनाउन सक्ने स्थिति नहुँदा उक्त नाका हुँदै आउने सम्पूर्ण सामान चीनमै रोकिएको उनले जानकारी दिए। विशेषगरी ईभी भन्सार पार हुन सकेका छैनन्।
तातोपानी नाका हुँदै साइमेक्स इंकको बिवाईडी र चौधरी ग्रुपको भ्यान केवाईसी आउने गरेका छन्। केही गाडी मात्र नेपालतर्फ छुटेको र अधिकांश गाडी र सामानतिरै रोकिएकोले अहिले नेपाल आउने सम्भावना नरहेको सूचना अधिकारी काफ्लेको भनाइ छ।
यस्तै, रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले पनि एक सातादेखि नाका पूर्ण रुपमा बन्द भएको जानकारी दिए।
बाटो केही आंशिक खुले पनि नियमित रुपमा बिजुली र इन्टरनेट नआउने समस्याले सामान पठाउन समस्या भएको उनले बताए। चीनतर्फका बाटोमा समेत ठूलो पहिरो गएकाले मर्मत हुन अझै समय लाग्ने हुँदा दसैंका लागि नयाँ गाडी आउने सम्भावना न्यून रहेको उनको भनाइ छ।
रसुवागढी नाका हुँदै डिपल, सेरेस, ओमोडा, एमजी, जिकर, माइक्रोबस फुटन, पिकअप भ्यानलगायत गाडी आउने गरेका छन्। नयाँ गाडी लिएर ३० देखि ३५ युनिट भन्सार कार्यालयमा आइपुगेको र भन्सारबाट छुटाउन बढीमा ५० देखि ६० युनिट मात्र गाडी बाँकी रहेको उनले बताए।
त्यसबाहेकका नयाँ र ठूला गाडी तत्कालै नेपालमा आउने बाटो बन्न सक्ने सम्भावना नरहेको सूचना अधिकारी प्याकुरेलको भनाइ छ। गाडी मात्र हैन, यो वर्षको दसैंमा चीनबाट आउने नयाँ लुगा र फलफूलसमेत उतै रोकिएका छन्।
दसैंको मुखमा आएको बाढीले चीन जोड्ने दुई वटै नाका बन्द भएपछि विद्युतीय गाडी बिक्रेता तनावमा परेका छन्। नाडा अटो शोमा लिइएका अधिकांश बुकिङ दसैंका बेला डेलिभरी गर्ने योजना बनाएका अटो व्यवसायी अहिले ग्राहक थुमथुमाउने उपाय खोजीमा लाग्न थालेका छन्।
डिपल, सेरेस गाडी बिक्री गर्दै आएको एमएडब्लू वृद्धिअन्तर्गतको चाङगान नेपालका रमेश दनेकुले बाढीले चीन जोड्ने सडक भत्काएका कारण नयाँ गाडी ल्याउन सक्ने सम्भावना कम रहेको बताए। अहिले स्टक गाडी डेलिभरी भइरहेको र नयाँ ग्राहकलाई गाडी दिन सक्ने स्थिति नरहेको उनको भनाइ छ।
चाङगानको मात्र हैन, चीनबाट गाडी ल्याएर बिक्री वितरण गर्ने सम्पूर्ण अटो व्यवसायी समस्यामा पर्न थालेका छन्। पर्याप्त गाडी ल्याउन सक्ने स्थिति नभएकाले बुकिङसमेत आक्रामक रुपमा नलिने रणनीति व्यवसायीले बनाउन थालेको बताइन्छ।