काठमाडौं। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाको टोली पहिरोग्रस्त बीपी राजमार्गको स्थलगत अनुमगनमा निस्किएको छ। असोज १२ मा काभ्रेको रोशी खोलाले बीपी राजमार्गको २ किलोमिटरभन्दा बढी सडक बगाएको चार दिनपछि प्राविधिकको टोली नेपाली सेनाको हेलिकोप्टरबाट स्थलगत अनुगमनमा गएको हो।
अनुगमनमा भौतिक सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने छन्। त्यस्तै, नेपाली सेनाको विकास निर्माण निर्देशनालय प्रमुख धर्मेन्द्र झा रहेको महानिर्देशक पोखरेलले बताए।
मौसम अनुकूल भए क्षतिग्रस्त राजमार्गमै पुगेर निरीक्षण गर्ने योजना छ। अन्यथा हेलिकोप्टरबाट अनुगमन हुनेछ। हाल काठमाडौंबाट काभ्रेको भकुन्डे र सिन्धुलीबाट नेपालथोकसम्म सडक सुचारु भएको छ। तर, भकुन्डे–नेपालथोक खण्डमा खोलाले कटान गर्दा सञ्चालन गर्न सहज अवस्था छैन।
सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल
बाढीपहिरोले अवरुद्ध सडक मर्मत गरी यातायात सेवा सहज बनाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबीच छलफल भएको छ।
बुधबार भौतिक मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त सडक मर्मत र निर्माण गर्न दुई मन्त्रालयबीच सहकार्य गरिने भएको हो। चाडपर्वको बेला भएकाले जतिसक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालयले पनि सहयोग गर्नेछ।
बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्री सहमत भएका छन्।
सडक विभागले क्षतिग्रस्त सबै स्थानमा प्राविधिक तथा उपकरण परिचालन गरी सवारी आवागमन सहज बनाउने काम गरिरहेको जनाएको छ।