काठमाडौं। गृह मन्त्रालयले अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय एवं सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक बुधबारदेखि फिल्डमा खटिएको जनाएको छ। गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका हुन्।
बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ।
कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश छ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन्। कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयसीमा छ।
कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिबारेमा केन्द्रमा जानकारी गराउनेछ। त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।
प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए।